भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको प्रारम्भिक परिणाम आउन थालेका छन्।
प्रारम्भिक नतिजाअनुसार सत्तारूढ बिजेपी भारतको सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशमा फेरि बहुमत ल्याउनेतर्फ अग्रसर भएको छ।
मुख्यमन्त्री योगी आदित्यनाथको नेतृत्वमा चुनाव लडेको बिजेपीले अहिले गणना भइरहेका ३३६ विधानसभा सिटमध्ये २२० मा अग्रता लिएको छ।
अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले १०१ सिटमा अग्रता लिएर बिजेपीलाई पछ्याइरहेको छ। कांग्रेस आईले जम्मा ६ सिटमा अग्रता लिएको छ। उत्तर प्रदेश विधानसभामा जम्मा ४०३ सिट छन्।
त्यस्तै पन्जाब राज्यमा अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) फराकिलो अन्तरले बहुमततर्फ अग्रसर छ। सत्तारुढ कांग्रेस आईलाईपछि पार्दै आपले मतगणनाको प्रारम्भिक नतिजा आएका ११७ मध्ये ७५ सिटमा अग्रता लिएको छ।
दोस्रो स्थानमा रहेको कांग्रेस आइले २२ स्थानमा अग्रता लिएको छ भने बिजेपीले ५ स्थानमा अगाडि छ। आपले पन्जाबमा जित्यो भने दिल्लीपछि दोस्रो राज्यमा आपको पहिलो सरकार हुनेछ। पन्जाब बिधानसभामा जम्मा ११७ सिट छन्।
मतगणना भैरहेका अन्य तीन राज्य गोवा, उत्तराखण्ड र मणिपुरमा पनि बिजेपी नै अगाडि छ।
गोवामा बिजेपीले २० सिटमा अग्रता लिदा कांग्रेसले १० सिटमा अग्रता लिएको छ।
त्यस्तै उत्तराखण्डमा बिजेपीले ५४ सिटमा अग्रता लिएको छ भने कांग्रेसले १८ सिटमा। मणिपुरमा बिजेपीले २४ सिट र कांग्रेसले १३ सिटमा अग्रता लिएका छन्। गोवा, उत्तराखण्ड र मनिपुर विधानसभामा क्रमश ४०, ७० र ६० सिट छन्।