नेपाली कांग्रेसले स्थानीय तह केन्द्रित एक महिने चुनावी अभियानमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरूलाई खटाएको छैन।
केन्द्रीय सदस्यहरूलाई मात्रै जिल्ला तोकेर केन्द्रीय प्रतिनिधिका रूपमा चुनावी अभियानमा खटाइएको छ। सातै प्रदेशका सभापतिहरूलाई पनि कांग्रेसले चुनावी अभियानमा भूमिका दिएको छ तर जिम्मेवारी दिएर जिल्ला खटाएको छैन।
विगतमा कांग्रेसका चुनावी अभियानमा शीर्ष नेताहरू नै खटिन्थे।
यसपालि भने केन्द्रीय सदस्यहरूलाई अघि सारिएको छ। कांग्रेसमा पहिलेभन्दा यसपालि केन्द्रीय सदस्य संख्या पनि धेरै छ। ८६ केन्द्रीय सदस्यबाट कांग्रेसले १६८ जना पुर्याएको छ।
मंसिरमा भएको महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए। सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइराला स्वत: केन्द्रीय सदस्य छन्।
सभापति देउवाले विधानअनुसार थप ३३ जना मनोनीत गर्न पाउनेमा १३ जना मनोनीत गर्दा केन्द्रीय सदस्य संख्या अहिले १४७ पुगेको छ भने अझै २० जना मनोनीत गर्न बाँकी छ।
०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव हुँदैछ। त्यसअघि कांग्रेस दुईपटक घरदैलोमा जाने तयारीमा छ।
पहिलो चरणमा फागुन २९ देखि चैत २९ सम्म 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ।
त्यसपछि दोस्रो चरणको अभियानमा जाँदा वडा, गाउँ/नगरका उम्मेदवारसहित घरदैलोमा जाने कांग्रेसका नेताहरू बताउँछन्।
कांग्रेस पदाधिकारीमध्ये केन्द्रीय कोषाध्यक्ष मनोनीत हुन बाँकी छ। सभापति देउवासहित दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक प्रवक्ता यो चुनावी अभियानमा जिल्ला नै जिम्मेवारी लिएर खटिएका छैनन्।
साथै नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायत शीर्ष नेतालाई पनि चुनावी अभियानमा खटाइएको छैन।
कांग्रेसका यी शीर्ष नेतालाई यसपालि चुनावी अभियानमा किन जिम्मेवारी नदिइएको हो? हामीले कांग्रेस प्रवक्ता प्रकाशशरण महतलाई सोधेका छौं।
महतका अनुसार जिल्ला तोकेर चुनावी अभियानमा केन्द्रीय प्रतिनिधिका रूपमा नखटाइएका नेताहरू पनि चुनावी अभियानमा भने नेता/कार्यकर्तासँगै रहनेछन्। आफ्ना जिल्ला, निर्वाचन क्षेत्र, पायक पर्ने ठाउँमा ती नेता चुनावी अभियानमा जोडिन सक्छन्।
साथै कार्यसम्पादन समितिमा रहेका कांग्रेसका नेताहरूलाई पनि चुनावी अभियानमा खटाइएको छैन।
‘पदाधिकारी र कार्यसम्पादन समितिमा रहनुभएका नेताहरू पनि आवश्यकताअनुसार चुनावी अभियानमा जानुहुन्छ। देशैभर हाम्रा कार्यक्रम चलिरहेका हुन्छन्, आवश्यकताअनुसार उहाँहरू कार्यक्रममा पुग्नुहुन्छ,’ महतले भने, ‘पदाधिकारी, कार्यसम्पादन समितिमा रहेका वा संसदमा रहेका साथीहरू अन्यत्र पनि व्यस्त हुनुपर्नेछ। त्यसकारण केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको हो।’
उनले शीर्ष नेता पनि जिल्ला जाने दाबी गरे।
‘नेताहरू जिल्ला नजाने, चुनावी अभियानमा पुग्दै नपुग्ने भन्ने होइन। जिम्मेवारी नलिने भन्ने कुरा आउँदैन, उहाँहरूको झन् ठूलो जिम्मेवारी छ,’ महतले भने, ‘आवश्यकताअनुसार पार्टी नेतृत्वले उहाँहरूलाई पठाउनुहुन्छ।’
यद्यपी कांग्रेसले महामन्त्रीमा पराजित केन्द्रीय सदस्य प्रदीप पौडेललाई स्याङ्जा, अर्का केन्द्रीय सदस्य रमेश लेखकलाई बझाङमा केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ।
कांग्रेसले जिल्ला खटाएका नेताहरूलाई बिहीबारसम्म सम्बन्धित जिल्ला पुग्न र एक महिने अभियानमा सबै स्थानीय तह पुगेर आफ्ना कुरा सुनाउँदै जनताका गुनासा टिपेर प्रतिवेदन पेश गर्नसमेत निर्देशन दिइसकेको छ।
केन्द्रीय सदस्यबाहेकलाई पनि जिम्मेवारी
कांग्रेसले चुनावी अभियानमा केन्द्रीय सदस्य नै नरहेका नेताहरूलाई पनि केन्द्रीय प्रतिनिधि तोकेको छ।
प्रदेश नम्बर १ को सभापतिमा पराजित भएका पूर्वकेन्द्रीय सदस्य गुरूराज घिमिरेलाई मकवानपुरको केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ।
यस्तै डोटीको केन्द्रीय प्रतिनिधिमा किरण गिरीलाई खटाइएको छ। उनी पनि केन्द्रीय सदस्य होइनन्।
साथै कांग्रेसले प्युठानको चुनावी अभियानमा नेविसंघका पूर्वमहामन्त्री किरण पौडेललाई पनि खटाएको छ।
यो पनि: स्थानीय चुनावका लागि कांग्रेसले खटायो नेता, को कहाँ? (सूची)
केन्द्रीय प्रतिनिधिको काम के हो?
केन्द्रीय प्रतिनिधि अब जिल्लाका पालिकास्तरमा पुगेर ८ वटा काम गर्नुपर्ने हुन्छ।
०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि मतदातालाई अपिल गर्नेदेखि एमसिसीका बारेमा रहेका भ्रम चिर्नेसम्म काम केन्द्रीय प्रतिनिधिले गर्नुपर्नेछ।
पार्टीलाई स्थानीय चुनावमा जिताउन टोल, वडाभित्र एकता र ऊर्जा अभिवृद्धि गर्ने, 'हरेक काँधलाई भारी हरेक हातलाई जिम्मेवारी'अनुसार स्थानीय चुनावमा कार्यकर्ता परिचालन गर्ने तयारी छ।
यो पनि: चुनावमा खर्च घटाउने, प्रचार बढाउने ‘गगन मोडल’ देशभर लागू गर्दै कांग्रेस
केन्द्रीय प्रतिनिधिलाई कांग्रेसले गरेका राजनीतिक र आर्थिक गतिविधिबारे जनसमक्ष राख्ने र नेकपा सरकारका पालामा भएका जनविरोधी र असंवैधानिक काम तथा भ्रष्टाचार भण्डाफोर गर्ने जिम्मेवारी पनि छ।
पार्टी प्रतिपक्षबाट कसरी सरकारमा पुग्यो भन्नेबारे यथार्थ विवरणसमेत जनतासमक्ष राख्न कांग्रेसले निर्देशन दिएको छ भने कोरोनाविरूद्ध खोप लगाइसकिएको कुरा भन्न पनि कांग्रेसले निर्देशन दिएको छ।
यो पनि: चुनावमा कांग्रेसको रणनीति- ‘वान बुथ, हन्ड्रेड युथ’
एमसिसीबारेका भ्रम चिर्न बुँदाबुँदामा छलफल गरेर बुझाउनसमेत कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएको छ। केन्द्रीय प्रतिनिधि सबै स्थानीय तहमा कम्तिमा एकपटक अनिवार्य पुग्नुपर्नेछ।