सुदूरपश्चिमको धनगढीका बासिन्दा गोपाल हमाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख अर्थात मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए। उनी पराजित भए। नेपाली कांग्रेसका नृपबहादुर बड २ हजार ७९७ मत बढी पाएर विजयी भए।
निर्वाचन परिणामपछि शुभेच्छुकहरूका साथ भएको समीक्षा छलफलले चुनाव चिह्न ढिलो प्राप्त हुनुलाई हमालको पराजयको मूल कारण ठहर गर्यो। दलहरूलाई उम्मेदवार नतोक्दै पनि आफ्ना चुनाव चिह्नको प्रचार गर्ने सुविधा हुन्छ।
स्वतन्त्र व्यक्तिले भने उम्मेवारी दिएपछि मात्रै चुनाव चिह्न पाउने भएकाले चिह्नको प्रचार गर्न समय नपुगेको निष्कर्ष हमालले पनि उचित ठहर्याए।
उनका समर्थकहरूले कुनै दलमा प्रवेश गर्न वा आफैँले क्षेत्रीय दल खोल्न सुझाव दिए। यो सुझाब पनि उनलाई उचित लाग्यो। लामो समय राजनीतिमा रहने चाहना नभएकाले आफूले दल नखोली विवेकशील साझा पार्टीमा आबद्ध भए।
त्यो समयमा विवेकशील साझा पार्टीका नेताहरू रवीन्द्र मिश्र, उज्वल थापा र सूर्यराज आचार्य लगायतको उपस्थितिमा माटोको टीका लगाएर हमाल दल प्रवेश गरे अनि उक्त दलको सुदूरपश्चिम प्रदेश संयोजक भए।
दलमा आबद्ध नहुँदा चुनाव चिह्नको प्रचार गर्ने समय नपुगेको निष्कर्ष निकालेर दल प्रवेश गरेका हमाल चार वर्षपछि स्वतन्त्र भएका छन्। उनले दल त्याग गरेका मात्रै होइनन्, फेरि धनगढी उपमहानगरपालिकाको मेयर निर्वाचित हुन स्वतन्त्र उम्मेदवारी पनि घोषणा गरेका छन्।
उनले आफ्नो प्रचारप्रसार थालेका छन्। मतदाताहरूसँग भेटघाट र छलफल बढाएका छन्।
हमाल दल त्याग गरेर फेरि पनि स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा कसरी पुगे त!
उनका अनुसार गत दसैँपछि उनले धनगढी उपमहानगरका मतदाताहरू र आफ्ना शुभेच्छुकहरूलाई भेटेर तीन वटा कुरा सोधे– एक, म मेयर पदमा उम्मेदवार बनूँ कि नबनूँ? दुई, उम्मेवार बनूँ भने मेरो दलबाट कि अर्को कुनै दलबाट? तीन, म उम्मेदवार बनेँ भने सहयोग गर्ने किन नगर्ने?
उनका अनुसार ७० प्रतिशतभन्दा बढीले जीवनभर राजनीति गर्ने हो भने दलबाट र एक–दुई पटकलाई हो भने स्वतन्त्र उम्मेदवारी दिन सुझाब दिए।
हमालले आफू जीवनभर राजनीतिमा नरहने र केही वर्ष जनप्रतिनिधिका रूपमा काम गरेर आफ्नै व्यवसायमा फर्किने बताउने गरेका छन्। मतदाताहरूको सुझाबअनुसारै विवेकशील साझा पार्टी त्यागेर नगरप्रमुख पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।
दलका समर्थकहरूले पनि आफूलाई मतदान गर्ने आश्वासन दिएको हमालले बताए। पहिलो चुनावको अनुभवबाट सिकेर चुनाव चिह्नको प्रचारमा ध्यान दिने समर्थकहरूको भरोसाका आधारमा उनले फेरि पनि स्वतन्त्र उम्मेवारी घोषणा गरेका हुन्।
खासमा प्रवक्ता रहेका सूर्यराज आचार्यले पार्टी छोडेपछि नै हमाल पनि बिथोलिएका थिए। उनले एक दिन पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रलाई आफू लामो समय पार्टी नरहने जानकारी गराए।
हमालका अनुसार उनको मुख्य सरोकार स्थानीय क्षेत्रको विकास र समृद्धि हो। उनले मिश्रलाई कटाक्ष गर्दै सेतोपाटीसँग भने, ‘रवीन्द्रजी पार्टी बनाउन हिँडेको मान्छे, म धनगढी बनाउन हिँडेको। त्यसैले रवीन्द्रजीले भन्दा पनि धनगढीका नागरिकले जे भन्छन, त्यो मैले मान्ने हो।’
हमाल आफ्ना कर्मचारी बुबाका साथ बाल्यकालमा धनगढी आएका थिए। बुबाको सरकारी आवासमा बसेर धनगढीमै पढे। व्यवस्थापन विषयमा प्रविणता तहको पढाइ सकेर व्यवसायमा लागे।
‘सानैदेखि व्यवसायमा रुचि थियो। सुरुमा गौरीफन्टाबाट सामान ल्याएर धनगढीमा बेचेँ,’ हमाल भन्छन्, ‘पछि पाँच हजार रुपैयाँ सापटी लिएर टिनको बाकस बनाएर बेच्ने कामबाट व्यवसायमा अघि बढेँ।’
उनले व्यवसाय बढाउँदै लगे। विभिन्न क्षेत्रमा हात हाले। व्यवसायमा सफल हुँदै जाँदा कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पनि भए।
हमाल व्यवसायी मात्रै होइनन्, समाजसेवी पनि हुन्। उनले धनगढीमा कपडा बैंक र शववाहन सञ्चालन गरेका छन्। ‘सुन्दर सुदूरपश्चिम’ अभियान अन्तर्गत उनले गरेका केही काम प्रशंसित छन्।
बाल्यकालदेखि धनगढीको मिहिन अवलोकन गरेका हमाल जनसंख्या वृद्धि तीव्र भए पनि धनगढी सहरको भौतिक विकास योजनाबद्ध हुन नसकेको उनको भनाइ छ। भन्छन्, ‘यहाँ अहिले भएका सडक उहिल्यै खुलेका हुन्। आफ्नो मनले बस्ती विकास भयो। सरकारले केही गरेन। यहाँ जनसंख्या बढेको छ, विकासको सम्भावना धेरै छ तर सहरको स्वरूप आएन।’
उनी धनगढी अव्यवस्थित हुनुमा राज्यका निकायहरू नगर विकास समिति र नगरपालिकाको दोष देख्छन्। ‘नाली बनेको छ तर त्यो पानी कता फाल्ने हो, डिजाइन गर्नेलाई नै थाहा छैन। खोलानालामा अतिक्रमण भयो। नगरपालिका नक्सा पास गरिदिन्छ।’
धनगढी सहरको विकासको दीर्घकालीन लक्ष्यका साथ आफू अघि बढेको हमालको भनाइ छ। ‘बीस वर्षपछिको धनगढीको विकासको गन्तव्य के हो? शिक्षा, स्वास्थ्य, सडक कस्तो हुने?’ उनी भन्छन्, ‘म लक्ष्य निर्धारण गरेर अघि बढेको छु। मलाई यहाँको कुलोखोलो सबै थाहा छ।’
धनगढीलाई डुबान मुक्त र पर्यापर्यटन अनुकूल हुने गरी विकास गर्ने आफ्नो लक्ष्य रहेको हमालको भनाइ छ। ‘अहिले धनगढीमा सार्वजनिक शौचालय बनाउने जमिन छैन, स्वास्नीमान्छेलाई गाह्रो छ, लोग्नेमान्छे किनारतिरै लाग्छन्,’ हमाल भन्छन्, भूकम्प वा कुनै विपत्ति आइहाले मानिसहरूलाई राख्ने सार्वजनिक ठाउँ छैन।’
हमाल भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मिहिन ढंगले नियालिरहेका छन्। उनी केजरीवालको ‘दिल्ली मोडल’ झैँ ‘धनगढी मोडल’ अघि सार्ने बताउँछन्।
‘म हचुवाको भरमा काम गर्दिनँ, धनगढी मोडल बनाउँछु,’ हमाल भन्छन्, ‘आवश्यकताको प्राथमिकताका आधारमा विकासका काम गर्न विज्ञसँग बसेर पाँच वर्षे मोडल बनाउँछु।’
उनका अनुसार धनगढी मोडलमा उपभोगका वस्तुको गुणस्तर परीक्षण, भ्रष्टाचारको अन्त्य, सुशासन, अतिक्रमित सरकारी जग्गा फिर्ता, डुबान नियन्त्रण लगायत मुख्य पक्ष रहनेछन्।
आफू नगरप्रमुख निर्वाचित भए सरकारी गाडी, सरकारी हवाई टिकट, भत्ता र तलब नलिने उनको घोषणा छ। उनी भन्छन्, ‘म मेयर भनेको यस्तो हुनुपर्छ भन्ने देखाउन चाहन्छु, मेयरको काम के हो देखाउन चाहन्छु।’ आफू स्वयंसेवक मेयर हुन चाहेको पनि उनको भनाइ छ।
हमाल अहिले घोषणापत्र तयार गर्दैछन्। घोषणापत्रमार्फत आफ्ना मुख्य योजना र कार्यक्रमहरू सार्वजनिक गर्ने तयारीमा छन्।