दिल्लीपछि पन्जाब प्रान्तमा पनि दुई तिहाइ बढी बहुमत पाएको भारतको आम आदमी पार्टी (आप) ले गोवाको विधान सभामा पनि यसैपालि खाता खोलेको छ।
टाइम्स अफ इन्डियाका अनुसार अन्तिम मतपरिणाममा गोवाका ४० विधान सभा सदस्यमध्ये दुई जना आपका उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमध्ये एक जना पानीजहाजका क्याप्टेन हुन् भने अर्का इन्जिनियर।
४० मध्ये ३९ सिटमा आपले उम्मेदवारी दिएको थियो। यसपालि गोवामा दुई सिट जित्नु पनि आपका लागि उपलब्धी हो किनकी पाँच वर्षअघि भएको चुनावमा आपका लगभग सबै उम्मेदवारको जमानत जफत भएको थियो।
पन्जाबमा पनि आपले पाँच वर्षअघि मात्रै विधान सभामा खाता खोलेको थियो।
२०१७ को चुनावमा ११७ मध्ये २० सिट जितेको आपले यसपालि त्यहाँ ९२ सिट जितेको छ।
गोवामा दुई सिट जितेपछि आपका संस्थापक एवं दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले यो जित गोवामा इमानदारी राजनीतिको सुरूआत भएको बताएका छन्। अब आपको क्रान्ति देशभरि फैलिने केजरीवालको भनाइ छ।
यो पनि: वैकल्पिक राजनीति थालेको १० वर्षमै आम आदमी पार्टीको दोस्रो राज्यमा बहुमतको सरकार
दिल्लीपछि अब पन्जाबमा आम आदमीले बनाउने भयो दुई तिहाइ बढीको सरकार