नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाललेझैं ‘बुद्धि नबिगार्न’ एमाले निकट पत्रकारलाई आह्वान गरेका छन्।
‘हामीसँग दुई तिहाइको सरकार थियो, प्रचण्ड र माधव नेपाललाई दशा लाग्यो, हेर्नुस् त,’ उनले भने, ‘कताको जंगे, कताको बुंगे, बुद्धि विग्रिएपछि त्यो हुन्छ, तपाईँहरूले त्यसरी बुद्धि बिगार्न हुँदैन।’
आलोचनात्मक चेतका नाममा एमाले र आफूको विरोध भइरहेको भन्दै ओलीले असन्तुष्टी जनाए। ‘अलिकति आलोचनात्मक चेत भएका भनेपछि एमालेको विरोध गर्ने, परमादेशी जति आलोचनात्मक चेत भएको भए,’ उनले भने, ‘चुच्चे नक्सा निकालेको विरोध गर्नेहरू आलोचनात्मक चेत भएका, रानीपोखरी, धरहरा बनेको देख्न नसक्नेहरू आलोचनात्मक चेत भएका भए।’
सञ्चार माध्यममा केपी ओली र एमालेको विरोध नगरे, परमादेशको आलोचना भएन भने बुद्धिजिवीले एकपक्षीय भयो भन्ने गरेको ओलीको दाबी छ। ‘बौद्धिक विकाउ प्रवृत्तिबाट तपाईँहरू जोगिनुपर्छ,’ उनले भने, ‘आफू भ्रममुक्त भइयो भने अरूलाई भ्रममुक्त पार्न सकिन्छ।’
पत्रकारिता अधिकारसम्पन्न हुनुपर्ने र जिम्मेवार हुनुपर्ने ओलीको तर्क छ। नेपालमा प्रेस स्वतन्त्रताका विषयमा आफूलाई डाभोसमा प्रश्न सोधिएको भन्दै उनले स्वतन्त्र प्रेसको जतिबेला पनि संरक्षण गर्ने बताएको स्मरण गरे। ‘हामी जतिबेला पनि स्वतन्त्र प्रेसको संरक्षण गर्छौ, पित पत्रकारिता, बदमासी पत्रकारिता, झुट, बेइमान, पेड पत्रकारिताको होइन,’ उनले भने।
सञ्चारकर्मीलाई सम्वोधन गर्दै ओलीले सबैको खुशी पार्न नसकिने बताएका छन्। ‘तपाईँले सबैको समर्थन गर्न सक्नुहुन्न, सबैलाई खुशी पार्न सकिँदैन,’ उनले भने, ’हामीले लोकतन्त्र ल्यायौं, त्यसको मजाक उडाएको छ, तपाईँहरूले सत्य धारण गर्न आवश्यक छ।’
उनले सामाजिक सञ्जालमा जथाभावी लेखेर समय नष्ट नगर्नसमेत आग्रह गरे।
‘हामी यसरी फेसबुक स्टाटस लेख्न थालेका छौं, पानी खाउँ कि क्या हो भनेर फेसबुकमा लेख्ने, अनि पानी खाएपछि पानी खाइयो, कस्तो आनन्द आयो भनेर लेख्ने,’ उनले सोधे, ‘यी दुई स्टाटसको के अर्थ छ?’
फेसबुकमा स्टाटस लख्दा खर्च हुने र समयको बर्बाद हुने उनको भनाई छ। पुँजीवादी दुनियाँमा केही पनि निःशुल्क नहुने भन्दै उनले फेसबुकमा स्टाटस लेख्दा पनि खर्च हुने दाबी गरे।
जीवन छोटो भएको भन्दै उनले एउटा पहाडको जति आयु पनि बाँच्न नसकिने बताए। ‘जीवन कति छोटो छ विचार गर्नुस् त, एउटा पहाड र खोलो जति पनि बाँचिदैन,’ ओलीले भने, ‘छोटो जीन्दगीका पलहरु समुचित परिणाम दिने ढंगले पुरा गर्नुपर्छ।’
स्टाटस र टिकटक बनाएर समय बर्बाद पार्न नहुने ओलीको सुझाव छ। उनले भने, ‘हाम्रो समयको सदुपयोग गर्नुपर्यो, बुद्धि र ज्ञानको सदुपयोग गर्नुपर्यो।’