सूर्य लामा जनप्रतिनिधि हुन्। जनताका लागि खटिनु उनको जिम्मेवारी र कर्तव्य नै भयो।
केही समयअघिसम्म लामा पर्सा, ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षका रूपमा लामा स्थानीय काममै व्यस्त थिए। तर हालै उनले गरेको एउटा कामले अहिले उनलाई चर्चामा ल्याएको छ।
उनको वडा भारतसँग सीमा जोडिएको छ। उनले भारतसँग सीमा जोडिएको क्षेत्रमा काँडेतार लगाएका छन्।
ठोरी, ब्रह्मनगरस्थित उनको घरमा पुग्दा सूर्यले भने, 'यो सामान्य काम होइन रहेछ। ठूलो जोखिम मोलिरहेको छु। तर म जोखिम सामना गर्न तयार छु।'
सीमा समस्या दुई देशबीचको कूटनीतिक विषय हो। यो संघीय सरकारको जिम्मेवारीमा पर्छ। लामा भने स्थानीय जनप्रतिनिधिले पनि यसमा पहल गर्नुपर्ने बताउँछन्।
केही महिनाअघि लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले सीमा मिचेको विषयलाई लिएर सडकदेखि सदनसम्म विरोध भएको थियो। वडाध्यक्ष लामाले त्यो विरोधभन्दा धेरैअघि सीमामा बार लगाएका हुन्। उनको उद्देश्य जंगली जनावरलाई नेपाली बालीनालीमा भित्रिन नदिनु पनि थियो।
लामाले भारतको बिहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिलर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब पाँच किलोमिटर दुरीमा काँडेतार लगाएका छन्।
उनले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरू गरेका हुन्।
ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा सानाठूला पिलर रहेका करिब पाँच किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दसगजा क्षेत्र छाडेर तार लगाएको लामा बताउँछन्।
वडाध्यक्ष लामाकै अगुवाइमा पहिलो कोरोना लकडाउन बेला करिब एक हजार ५ सय मिटर काँडेतार लगाइएको थियो।
सीमा जोडिएको १८ सय मिटर क्षेत्रमा केही समस्या आएपछि दुवै देशका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति पनि भएको छ।
'के गर्ने छिमेकी नै भए पनि आफ्नो सीमा अतिक्रमण गर्दा दुख्दो रहेछ। त्यसैले आफ्नै वडाको सीमा क्षेत्रबाट भए पनि बार्न सुरू गरेँ,' वडाध्यक्ष लामाले भने।
काँडेतारका लागि गाउँपालिकाबाट आएको विकास बजेट कटाएरै काम गरेको उनले जानकारि दिए। २०७४ देखि हालसम्म तारबारका लागि ३५ लाख खर्च भइसकेको छ।
'आफ्नो भूमि सुरक्षाका लागि बजेट छुट्याउँदा सबै वडाबासी सन्तुष्ट हुनुहुन्छ। कसैको असहमति छैन,' उनले भने।
सीमामा काँडेतार लगाएर चर्चामा आएका उनको अर्को अठोट पनि छ- भारतीय भूमि नटेक्ने।
दसगजानजिकै निवास भए पनि भारतीय भूमि टेक्दै नटेक्नुको कारण खुलाउँदै उनले भने, 'भारतीय पक्षसँग धेरै विवाद भयो। पटक–पटक झडप भयो। सीमादेखि कुलो र पुलसम्मका विवादमा अग्रपंक्तिमा भएकाले म उनीहरूको नजरमा बाधक छु। त्यसैले म भारततर्फ जाने वातावरण छैन। जान पनि चाहन्न।'
सबै तस्बिर र भिडिओः नवीनबाबु गुरुङ/सेतोपाटी