नेपाली कांग्रेसले आइतबारदेखि 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियान सुरू गरेको छ।
०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन केन्द्रित गरेर कांग्रेसले चैत २९ गतेसम्म चल्ने गरी घरदैलो अभियान थालेको छ।
स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्ने कि नगर्ने भन्नेबारे औपचारिक निर्णय नगरी कांग्रेसले घरदैलो अभियान थालेको हो।
कांग्रेसले स्थानीय तहका अधिकांश सिट जित्ने गरी रणनीतिसाथ अभियान सुरू गरेको दाबी गरेको छ।
टोल र घरघरमा पुगेर जनतासँग संवाद गर्ने र जनताका गुनासा सुन्ने तयारीमा कांग्रेस छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार स्थानीय तहमा धेरैभन्दा धेरै सिट जित्ने तयारीमा पार्टी लागेको छ।
‘स्थानीय तह जित्यौं भने प्रदेश र केन्द्रका चुनाव स्वत: जित्छौं,’ महतले भने, ‘वैशाखमा हुने स्थानीय चुनावमा पार्टीको मत कति आउँछ, हामी कति सिट ल्याउँछौं भन्ने परीक्षण हुँदैछ।’
कांग्रेसले सत्तारूढ गठबन्धनमा रहेका दलहरूसँग तालमेल हुन्छ कि हुन्न भन्नेबारे औपचारिक निर्णय गरेको छैन।
गाउँ-गाउँमा पुगेका केन्द्रीय प्रतिनिधि (केन्द्रीय सदस्य) ले यसबारे रिपोर्ट ल्याउँछन् त्यसपछि मात्रै केन्द्रीय समितिमा छलफल गरेर गठबन्धनबारे निर्णय गर्ने पक्षमा कांग्रेस उभिएको छ।
कांग्रेसले ७७ जिल्लामा ७७ केन्द्रीय सदस्य पठाएको छ भने प्रदेश कार्यसमितिहरूले पनि प्रतिनिधि खटाएका छन्। यी प्रतिनिधिहरू आफू खटिएका जिल्लाका सबै स्थानीय तहमा कम्तिमा एकपटक पुगेर आफ्ना कुरा राख्ने र जनताका कुरा सुन्ने गर्नुपर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसले जिल्ला खटाइएका केन्द्रीय प्रतिनिधि तथा जिल्लास्तरका नेतालाई स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल हुन्छ कि हुन्न भन्नेबारे 'नबोल्न' भनेको छ।
प्रवक्ता महतका अनुसार गठबन्धन गर्ने कि नगर्ने केन्द्रीय समितिबाट नै टुंगो लाग्छ।
‘स्थानीय तहमा गठबन्धन हुन्छ कि के हुन्छ भन्नेबारे तपाईंहरूले चिन्ता नगर्नुस्,’ बनेपामा घरदैलो अभियान उद्घाटन गर्दै प्रवक्ता महतले भने, ‘बढीभन्दा बढी सिट जित्ने हो, हाम्रो लक्ष्य त्यही हो।’
अरू दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने तय कांग्रेसले कति सिट जित्छ भन्नेमा निर्भर रहने महत बताउँछन्।
‘गठबन्धन हुने कि नहुने भन्ने बढीभन्दा बढी सिट के गर्दा जितिन्छ भन्नेमा निर्भर हुन्छ,’ उनले भने, ‘एक्लै लडे जितिन्छ कि मिलेर गए जितिन्छ यसको निर्णय केन्द्रीय समितिले जिल्ला समितिहरूसँग सुझाव लिएर टुंगो लगाउँछ।’
उनले चुनावी तालमेल र उम्मेदवारहरूको चिन्ताभन्दा पनि भोट बढ्ने सुनिश्चितता गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
‘कतै कांग्रेस एक्लै लडे स्वत: जित्ने ठाउँ होलान् त कतै एकै सिट पनि जित्न गाह्रो पर्ने ठाउँ होलान् यसबारे केन्द्रीय समितिले बुझेर निर्णय लिन्छ,’ उनले भने, ‘एक सिट पनि नजित्ने त्यस्ता कुनै ठाउँ रहेछन् भने त्यहाँ गठबन्धन पनि हुन सक्ला। उम्मेदवारबारे धैर्य गर्नुस्, कांग्रेस जिताउने अभियानमा लाग्नुस्।’
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि चुनावी गठबन्धनबारे पछि निर्णय गरिने बताए। कांग्रेसले पहिलो चरणको घरदैलो अभियान सकेर अरू दलसँग गठबन्धन गर्ने कि नगर्ने एजेन्डासहित केन्द्रीय समिति बैठक चलाउने तयारी पनि गरेको छ।
‘अरू दलसँग चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे केन्द्रीय समितिमा व्यापक छलफल गरेर सर्वसम्मत निर्णय गर्छौं,’ खड्का भन्छन्, ‘यसबारे अहिले निर्णय गर्नु अपरिपक्क हुन्छ, गठबन्धनबारे केन्द्रीय समितिले नै निर्णय लिन्छ।’
महामन्त्री गगन थापाले पनि चैत दोस्रो सातापछि मात्रै गठबन्धनबारे पार्टीले निर्णय लिने बताए।
सुर्खेतमा आइतबार पत्रकारहरूसँगको कुराकानीमा थापाले भने, ‘चुनावमा गठबन्धन गर्ने वा एक्लै जाने भन्ने चैत दोस्रो सातापछि मात्रै पार्टीले निर्णय लिन्छ।’
कसरी बाँडिन्छ टिकट?
कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टी विधानले तोकेअनुसार नै उम्मेदवारहरूको तय विभिन्न संरचनाबाट लगाउने तयारी गरेको छ।
यसपालि केन्द्रबाट उम्मेदवार तय गर्ने पक्षमा कांग्रेसका नेताहरू छैनन्।
‘वडाध्यक्षलगायत उम्मेदवार कसलाई बनाउने वडामै छलफल गरेर सर्वसहमतिले टुंग्याउन सकिन्छ,’ महतले भने, ‘सहमतिमा उम्मेदवार छान्ने हो भने किन त्यहाँ त्यो उम्मेदवार छानेको भनेर माथिबाट कसैले केही भन्नेवाला छैन।’
वडाका लागि उम्मेदवार वडाबाटै तय हुन सकेन भने क्षेत्रीय समितिले निर्णय गर्नेछ।
गाउँपालिकाको लागि उम्मेदवार पनि कांग्रेसको गाउँपालिका समितिले नै टुंग्याउने हो। विवाद भएको खण्डमा भने निर्णय गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिइएको छ। संसदीय बोर्डजस्तो सानो समिति बनाएर टिकटबारे निर्णय गर्न सक्ने अधिकार जिल्ला कार्यसमितिलाई छ।
नगरपालिकाको हकमा पनि उम्मेदवार तय गर्ने अधिकार नगर कार्यसमितिलाई नै छ। सहमति भएन भने सम्बन्धित प्रदेश कार्यसमितिबाट टुंगो लगाइने कांग्रेसले जनाएको छ।
उपमहानगर र महानगरका हकमा भने कांग्रेसले केन्द्रबाटै उम्मेदवार तय गर्छ। यद्यपी उपमहानगर र महानगर समितिले उम्मेदवार भने सिफारिस गर्छन्।
‘विवादास्पद निर्णय भयो भने मात्र केन्द्रले हस्तक्षेप गर्छ,’ महतले भने, ‘नत्र विधानअनुसार उम्मेदवारहरू सम्बन्धित पार्टी समितिबाटै हुन्छन्।’
कांग्रेसले चैत २९ पछि उम्मेदवार तय गरेर दोस्रो चरणमा घरदैलो अभियान चलाउने पनि तयारी गरेको छ।
देउवा गठबन्धनकै पक्षमा!
कांग्रेसमा अरू दलहरूसँग चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा फरक-फरक मत छ। शेखर कोइराला पक्ष एक्लै चुनावमा जानुपर्नेमा छ।
तर सभापति शेरबहादुर देउवा भने ०७४ मा एक्लै चुनावमा जाँदा पार्टी धेरै ठाउँमा पराजित भएकोले सत्तागठबन्धनसँग तालमेल गर्ने पक्षमा छन्।
फागुन २६ मा वीरगञ्जमा भएको कार्यक्रममा देउवाले गठबन्धन बनेर नै आफू प्रधानमन्त्री बनेकोले यसलाई चुनावसम्मै लैजानुपर्ने धारणा राखेका थिए।
‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल हुन्छ। सबैको सहयोगमा अगाडि जानुपर्छ। तपाईंहरूलाई थाहा छ, एक्लै चुनावमा जाँदा हाम्रो अवस्था के थियो? धेरै ठाउँ हारिएको थियो। मिलेर चुनाव लगेको अवस्थामा स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म भोलि सरकार बनाउने स्थिति बन्न सक्छ,’ देउवाले भनेका थिए।
साथै देउवाले चुनावी अभियानमा गाउँ जाने केन्द्रीय प्रतिनिधिलाई गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूलाई चित्त दुख्ने अभिव्यक्ति नदिन निर्देशन पनि दिएका थिए। कांग्रेसले भने चुनावी घरदैलोमा पुगेर 'कम्युनिष्ट सरकारले गरेका नराम्रा कामको भण्डाफोर गर्न' निर्देशन दिएको थियो।