सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा हिमाल आरोही माया गुरूङले अध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेकी छिन्। सन् २००८ मा सात महिलाको टोलीमा रहेर उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी थिइन्। उनी सहितको टोलीले विश्वका सात वटै महादेशका हिमाल चढेर किर्तिमान समेत बनाएका छन्।
हिमाल आरोहणबाट नाम कमाएकी मायाले स्वतन्त्र हैसियतमा गाउँपालिका अध्यक्षमा उम्मेद्वारीको घोषणा गरेकी हुन्।
'धेरै मान्छेले मलाई सगरमाथा चढेपछि धेरै अवसर आउँछ र विदेशिन्छन्। तपाईं अमेरिका गएर किन नबसेको भन्छन्', मायाले भनिन्, 'मलाई मेरो देशमै केही गर्न सक्छु भन्ने लागेकै कारण जरो गाडेर बसें।'
त्यसो त मायाले उम्मेद्वारी घोषणा गर्ने सार्वजनिक गर्नुअघि नै विभिन्न दलहरुले उनलाई रोक्न खोजे।
'तिम्रो बेला भएको छैन। तिमी राजनीति गर्ने मान्छे होइन। तिमी राष्ट्रिय/अन्तर्राष्ट्रिय नाम कमाइसकेको मान्छे यो सानो ठाउँमा राजनीति गर्दा इज्जत जान्छ भनेर डर देखाए', मायाले भनिन्, 'मैले सगरमाथा चढ्दा पनि योजना बनाएर चढेको हुँ। अहिले सातवटै महादेश चढ्दा पनि योजना बनाएर गरें। अहिले पनि म सफलता हासिल गर्छु भन्ने उद्देश्यका साथ आएको हुँ।'
त्यसो त मायालाई केही दलले उपाध्यक्षको उम्मेद्वार बन्न आग्रह नगरेका होइनन्। तर महिलालाई अग्र स्थानमा बस्न नदिने सोच विरुद्ध खडा हुने निधो उनले गरेकी छिन्।
'महिलालाई नेतृत्व दिनुपर्छ भन्ने सोच कुनै पनि दलमा छैन', मायाले भनिन्, 'हुन त दलमा त्यस्तो हैसियत पनि छैन किनभने प्रजातन्त्र ल्याउँदा गणतन्त्र ल्याउँदा र अहिलेको व्यवस्था आउनमा पनि महिलाको उत्तिकै भूमिका छ। तर अहिले पनि झण्डा बोक्ने, नाराबाजी गर्ने, पुरूषहरू अगाडि बस्नुहुन्छ उहाँहरूको पछाडि बस्ने, खादा लगाउने र ताली बजाउने बाहेकको काम लगाउनुहुन्न। त्यो ठाउँमा म जस्तो महिलालाई नेतृत्व दिने हैसियत उहाँहरूले राख्नुहुन्न।'
राजनीतिक दलहरू अहिले पनि गणतन्त्र र राजतन्त्र जस्ता विषयमा रूमल्लिएको उनको आरोप छ।
'जनताको मुख्य समस्या के हो भन्नेमा दलहरू लागेको देखिएन', मायाले भनिन्, 'एक हिसाबले जनतालाई भ्रम बाँड्ने काममा मात्र लागेको देखें।'
गाउँपालिका अध्यक्ष भएको अवस्थामा आफूले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा काम गर्ने मायाको अठोट छ। पाँचपोखरी थाङपाल गाउँपालिकाले काठमाडौंबाट नजिक भएर पनि पर्यटक भित्र्याउन नसकेकोमा उनलाई चित्त बुझेको छैन। त्यसैले काठमाडौंबाट वर्षमा कम्तीमा २/३ लाख पर्यटक भित्र्याएर रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ।
'हाम्रो घर माथि हिमालहरू छन्। पाँच वटा पोखरी ४२ सय मिटरको उचाइमा छन्', मायाले भनिन्, 'त्यस्तो ठाउँ हेर्न विदेशी नेपाली सबै आउँछन्। काठमाडौंमा ४०/५० लाख जनसंख्या छ। दुईदेखि तीन लाख जनसंख्या लैजान सके पर्यटन उद्योग विकास गर्न सकिन्छ।'
त्यसो त आरोही माया काठमाडौंमा दुई वटा पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनी हाँकिरहेकी छिन्। उनको एभरेष्ट विमन ट्रेक एण्ड एक्स्पिडिसन कम्पनीले हिमाल आरोहणको काम गर्छ। त्यस्तै काठमाडौंमा पासाङ ल्हामु वाल क्लाइबिङ सेन्टर पनि उनले सञ्चालन गर्दै आएकी छिन्।
माया सिन्धुपाल्चोकमा भूकम्पपछि सामाजिक कार्यमा समेत संलग्न भएकी थिइन्। उनी संलग्न रहेको संस्था 'विश्व समावेशी साहसी संस्था'ले ४ वटा विद्यालयको भवन निर्माण गरेको छ। संस्थाले विपन्नलाई हिमाल आरोहण तथा पर्यटक गाइडको तालिम समेत दिलाउने काम गरेको मायाले बताइन्। उनकै अगुवाइमा सुरू भएको पाँचपोखरी म्याराथनलाई अहिले गाउँपालिकाले निरन्तरता दिइरहेको छ।