युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुर डबलीमा काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत रातारात बनाएको कंक्रिटको संरचना रोकिएको छ।
पुरातत्व विभागले सम्पदा स्थलको संरक्षण र व्यवस्थापनविपरीत यस्तो निर्माण नगर्नू भनेर सचेत गराउँदा गराउँदै महानगरले विश्व सम्पदा क्षेत्रमा पर्ने वसन्तपुर डबलीमा एकतर्फी रूपले राष्ट्रिय झन्डा राख्न कंक्रिट संरचना निर्माण गरेको थियो।
महानगरका उपमेयर हरिप्रभा खड्गी र पुरातत्व विभागका महानिर्देशकसहितको टोलीले मंगलबार स्थलगत निरीक्षण र अनुगमन गर्दै निर्माण कार्य रोक्न लगाएका हुन्।
मेयर विद्यासुन्दर शाक्यको एकलौटी निर्णयले कंक्रिटको संरचना बनेको भन्दै उपमेयर खड्गीले सोमबारबाटै निर्माण कार्य रोकिएको बताइन्।
‘यो महानगरको निर्णय होइन, मेयर सा’बको एकलौटी निर्णय हो। सम्पदा क्षेत्रमा यसरी कंक्रिटको संरचना निर्माण गरिनुहुन्न,’ उनले भनिन्, ‘हामीसँग पनि सल्लाह छैन, प्रवक्तालाई पनि थाहा छैन। मेयर सा’बले विवेक पुर्याउनुभएन।’
उनले यस विषयमा आज आफूले मेयरसँग कुरा राख्ने बताइन्।
‘के के कारण यस्तो निर्माणको कुरा आयो। झन्डाको सवाल ठूलो होइन। हेरिटेज क्षेत्रमा राख्नुको आवश्यकता के छ। काम गर्नुछ भने बोर्डमा आउनुपर्यो। मलाई जानकारी छैन। र के कारण यस्तो आयो। मैले बुझेको छैन। बुझेर थप कदम चाल्नेछु’, उनले भनिन्।
उनले सम्पदा क्षेत्रमा यस्ता खालका संरचना बनाउने बारे मेयर सा’बलाई थाहा हुनुपर्ने बताउँदै आफूले थाहा नभए स्थानीयसँग कम्तिमा सल्लाह गर्नुपर्ने जिकिर गरिन्।