यसअघि विवादित बनेर स्थगित भएको एमाले दैलेखको अधिवेशन फेरि भएको छ। बुधबार जिल्लाको अधिवेशन सकिएको छ।
यसअघि पुस २३ गते भएको अधिवेशनमा कार्य समिति चयनका लागि भएको निर्वाचनका क्रममा फर्जी मत भेटिएपछि विवाद बढेको थियो।
गत पुस २४ गते बसेको एमालेको दैलेख जिल्ला कमिटीको १८ औं बैठकले पुस २३ गते भएका सबै प्रक्रिया खारेज गर्दै चैत १ र २ गते पुनः अधिवेशन गर्ने निर्णय गरेको थियो।
यो पटकको अधिवेशन अन्तर्गत आज मतदान पनि सकिएको छ।
‘मतदान सकिएको छ, अब गणना पनि सुरू भयो,’ एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले भने, ‘अहिले पनि लगभग पुरानै उम्मेदवारहरू हुनुहुन्छ।’
अध्यक्ष शाहका अनुसार यो पटक पनि सूर्यबहादुर शाही र रवीन्द्रराज शर्मा जिल्ला अध्यक्षमा उम्मेदवार छन्।
उपाध्यक्ष प्रेमबहादुर बुढा र टोपबहादुर बिसी, सचिवमा रूद्रबहादुर शही र तिलक रिजाल उम्मेदवार छन्। उपसचिवमा आठ जना उम्मेदवार छन्।
उनका अनुसार दलिततर्फका महिला र खुला १५/१५ जना सदस्यहरू निर्विरोध भएका छन्। भूगोलतर्फको महिला र खुला सदस्यहरूको लागि पनि निर्वाचन भएको उनले बताए।
यो पटकको निर्वाचनमा ७२३ जना मतदातामध्ये ६८४ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएका छन्।
यसअघि विवादित बनेर खारेज भएको निर्वाचन प्रक्रियामा निर्वाचनमा ७२३ मतदातामध्ये ७१७ जना मतदानमा सहभागी भएका थिए। तर मतपेटिकामा भने ७४८ मत भेटिएका थिए।
यसअघिको अधिवेशनमा उपाध्यक्षसहित जिल्लाका पाँच वटा पालिकाका भूगोलतर्फका सदस्यहरू, दलित र महिलातर्फका सदस्यहरु निर्विरोध चयन भएका थिए। उनीहरू सबैको पद खारेज भइसकेको छ।