हाम्रा स्थानीय सरकार
सम्पादकीय नोट: राजनीतिक अस्थिरताका कारण लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन थिए। संघीयतामा गएपछि गाउँ/नगरपालिकाको पुनर्संरचना भयो। गाउँ-सहरमा सिंहदरबारको नारा लाग्यो। यी स्थानीय तहले पाँच वर्षको आफ्नो पहिलो कार्यकाल पूरा गर्दैछ। यस अवधिमा अरूले भन्दा राम्रो काम गरेका प्रत्येक प्रदेशका दुईवटा गाउँ/नगरपालिकाबारे सेतोपाटीले स्टोरी गर्ने छ।
कालु लुहार भीमदत्त नगरपालिका–१५, गोवरैयाका बासिन्दा हुन्। उनको जग्गाजमिन छैन। थोरै ऐलानी जग्गामा सानो घर छ। उनको साइकल बिक्री र मर्मत गर्ने पसल छ। धेरै वर्ष भयो पसल चलाएको तर आम्दानी परिवारको खर्च धान्नमै ठिक्क हुन्थ्यो। उनलाई व्यवसाय बढाउने मन नभएको होइन तर लगानी गर्न कहिल्यै पैसा भएन। ऋण माग्न बैंक धाए तर उनीसँग धितो भएन। ऋण पाएनन्।
कालुका छोराछोरी पढ्दैछन्। व्यवसाय बढाउन पाए पढेलेखेका छोराछोरीले पनि आफ्नै काम गर्थे भन्ने लागिरहन्थ्यो।
एक वर्षअघिको कुरा हो। कालु कर तिर्न नगरपालिका कार्यालय पुगेका थिए। कोरोना संक्रमणले व्यवसाय ह्वात्तै घटेको थियो। कर तिर्न लाइनमा उभिएकै बेला उनले नगरपालिकाले आफूजस्ता व्यवसायीलाई धितो समेत नलिई निर्व्याजी ऋण दिन्छ भन्ने सूचना देखे।
नगरपालिकाको सूचनामा उल्लेख भएअनुसार उनले सबै कागजात र प्रस्ताव पेश गरे। त्यही बेला कोरोनाको महामारी आएपछि उनको व्यवसाय थप चपेटामा परेको थियो।
ऋण पाउन फारम भरेर कागजपत्र बुझाएपछि केही आशा त पलायो तर थप जानकारी आएन। आठ महिनापछि कालुको प्रस्ताव स्वीकृत भयो। उनले नगरपालिकाबाट पाँच लाख रुपैयाँ ऋण पाउने भए।
‘म छनोट भएको कुरा नगरपालिकाबाट फोन आएपछि थाहा पाएँ। पसल हेर्न वडाका कर्मचारी आए। बैंकबाट पनि मान्छे आए,’ खुसी हुँदै कालुले भने, ‘एक डेढ महिनापछि एकमुष्ठ पाँच लाख रुपैयाँ खातामा आयो।’
कालुले पसलमा साइकलका पार्टपुर्जा थपे। ऋणको किस्ता मासिक ३० हजार रुपैयाँ बुझाउनु पर्ने भयो। पसलमा लगानी बढेपछि उनको आम्दानी पनि बढेको छ।
वडा नम्बर ९ को रामटोलकी मिनादेवी कार्कीले पनि नगरपालिकामार्फत निर्व्याजी ऋण पाएपछि उनलाई कुखुरा पालनमा सजिलो भएको छ। उनले नगरपालिकाबाट ऋण लिएर गाउँको कर्जा तिरिन् र व्यवसाय बढाइन्। अहिले एक खेप कुखुरा बिक्रीमा ४० हजार रुपैयाँ नाफा हुने गरेको उनले बताइन्।
भीमदत्त नगपालिकाले ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत उद्यमीलाई व्याज अनुदान गरेको हो।
नगरपालिकाको यस कार्यक्रम अन्तर्गत ऋण पाउन पहिलो वर्ष, आर्थिक वर्ष २०७७÷७८ मा २६९ जनाले आवेदन भरेका थिए। मेयर उद्यमशीलता विकास कार्यक्रमकी प्रमुख गोमा अवस्थीका अनुसार तीमध्ये धेरैले अत्यावश्यक विवरण नबुझाएका कारण सबै आवेदक छनोटमा पर्न सकेनन्।
अवस्थीले कार्यक्रम अन्तर्गत व्यवसायी उद्यमीलाई व्याज अनुदानको व्यवस्था रहेको बताइन्। उनका अनुसार यसरी ऋण उपलव्ध गराउन नगरपालिका र नेपाल बैंकबीच सम्झौता भएको छ।
यस्तो ऋण कृषि व्यवसायमा मादण्ड पुर्याउने सबैले पाउँछन्। अन्य व्यवसायमा दलित र महिलाले मात्र पाउँछन्। यो ऋण पाउन उमेर १८ वर्ष पूरा भएको र ५० वर्ष ननाघेको हुनुपर्छ। पहिलो वर्ष निवेदन दिएर छनौटमा नपरेकाहरुलाई चालु आर्थिक वर्षमा विवरण पूरा गरेर सम्पर्क गर्न आह्वान गरिएको अवस्थीले बताइन्।
उक्त ऋण कार्यक्रम चालु आर्थिक वर्षमा नियमित सेवाको रूपमा लागु भएको छ। जुनसुकै दिन आवेदन दिन सकिन्छ।
नगरप्रमुख सुरेन्द्र बिष्टका अनुसार नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने कार्यक्रममध्ये निर्व्याजी ऋण दिने ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ पनि एक हो। व्यवसायबाट उत्पादनमा नागरिकलाई जोड्ने उद्देश्यले भीमदत्त नगरपालिकाले निर्व्याजी ऋण दिने कार्यक्रम लागु गरेको उनले बताए।
नगरपालिकाले रोजगारीको हकसम्बन्धी कानून बनाएर आर्थिक वर्ष २०७७÷७८ मा उक्त कार्यक्रम सुरु गरेको हो। पहिलो वर्ष १४ जना उद्यमीले ऋण पाए।
नगरपालिकाले आफ्नै लगानीमा प्राविधिक धारको बहुप्राविधिक विद्यालय पनि सञ्चालन गरेको छ। ऐन बनाएर सिटिइभिटीबाट अनुमति प्राप्त फार्मेसी र ल्याब टेक्निसियन पढाइ हुने प्राविधिक विद्यालय स्थापना गरेको हो। विद्यालयमा हाल ७० जना विद्यार्थी छन्।
विद्यार्थीहरुका अनुसार उक्त विद्यालयमा निजीको तुलनामा आधा खर्चमा पढाइ हुन्छ। नगरपालिकाले चार कोठा भएका २४ वटा भवन बनाएर विद्यालयलाई हस्तान्तरण गरेको जनाएको छ।
हालसम्म भीमदत्त नगरपालिकाले ७५ वटा भन्दा बढी कानुन बनाएको छ।
नगरपालिकाले नै तलब व्यहोर्ने गरी विद्यालयमा, अस्पतालमा र स्वास्थ्य चौकीमा शिक्षक तथा कर्मचारी नियुक्त भएका छन्। नगर प्रहरीको संरचना पनि छ।
भीमदत्त नगरपालिकाले एक करोड बजेटमा १५ वटा घर बनाएर घर नभएका विपन्न परिवारहरुलाई दिएको छ। नगरप्रमुख बिष्टका अनुसार घर पाउनेमा राउटे, दलित र अन्य केही विपन्न परिवार छन्।
‘त्रिपालमुनि नै जिन्दगी बित्ने भयो भन्ने लागेको थियो,’ धेरै वर्ष त्रिपालमा गुजारेका गोर्भु सुनाहले खुसी हुँदै भने, ‘नगरपालिकाले घर बनाएदिएपछि ओत लाग्ने ठाउँ भएको छ।’
बिष्टका अनुसार भीमदत्त नगरपालिकाले स्थानीय सरकार गठनपछि ८० किलोमिटर सडक कालोपत्रे गरेको छ। ढल निर्माणको काम पनि भइरहेको छ। यस अवधिमा धेरै ठाउँमा बाटो ग्राभेल गरिएको छ र केही ठाउँमा नयाँ बाटो खोल्ने काम भएको छ।
नगरपालिकाले बिजुली नपुगेका वडा नम्बर ९ का तीन वटा गाउँमा बिजुली विस्तार पनि गरेको छ।
नगरपालिकाले कोरोना संक्रमणको समयमा महाकाली अस्पतालसँग समन्वय गरेर ३९ लाख रुपैयाँ खर्चमा पिसिआर परीक्षण उपकरण जडान गरेको थियो। महाकाली अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान गरेको छ, एउटा शववाहन पनि दिएको छ। नगरपालिकाले नै तलबभत्ता व्यहोर्ने गरी महाकाली अस्पताललाई दुई जना चिकित्सक दिएको नगरप्रमुख बिष्टले बताए।
भीमदत्त नगरपालिकामा अहिले २० करोड रुपैयाँको स्रोत छ। नगरपालिकाले पर्यटन प्रवर्धनका लागि हरेक वर्ष शुक्लाफाँटा महोत्सव आयोजना गर्ने गरेको छ। कोरोनाका कारण दुई वटा महोत्वस भएनन्।
भीमदत्त नगरपालिका उत्कृष्ट छनोट भएर दुई पटक पुरस्कृत पनि भएको छ।
लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि नगरपालिकाले बजेट छुट्याएको छ। धार्मिक पर्यटन मार्ग निर्माण काम सुरु भएको छ।
नागरिकको जीवनस्तर बढाउन केही नयाँ कार्यक्रम लागु गर्न सके पनि आफूले घोषणापत्रमा उल्लेख गरेका र जनताले चाहेका केही महत्वपूर्ण काम गर्न नसकेको नगरप्रमुख बिष्टले बताए। कोरोना संक्रमणका कारणले कारणले विकास बजेट कटौती गर्नु पर्दा केही महत्वपूर्ण काम गर्न नसकेको उनको भनाइ छ।
सिटी मल बनाउने, फोरमैला संकलन केन्द्र बनाउने र महेन्द्रनगर बजारलाई पनि स्मार्ट सिटीका रुपमा विकास गर्ने काम गर्न नसकेको उनले बताए।
यस्तै भूमिहीन नागरिकहरुलाई लालपूर्जा वितरणको काम अघि बढाउन नसकेको उनले बताए। बर्खामा महाकालीलेको बाढीले प्रभावित हुने बस्ती जोगाउन तटबन्ध गर्न योजना पनि कार्यान्वयन गर्न नसकेको उनको भनाइ छ।
भीमदत्त नगरपालिकाले युवालाई कृषि कार्य सिकाउन निश्चित संख्यामा, निश्चित समयका लागि कोरिया पठाउने प्रक्रिया अघि बढाएको नगरप्रमुख बिष्टले बताए।
स्थानीयवासी रामबहादुर थाप रोजगारी वृद्धि र सीपमुलक काममा भीमदत्त नगरपालिका नगरपालिकाको नमुनाका रुपमा रहेको बताउँछन्। यस्ता कार्यक्रममा धेरैलाई समेट्न नसक्दा असन्तुष्टि बढेको पनि उनको भनाइ छ।
२०१९ साल पुस २ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्दा कञ्चनपुरको सदरमुकाम बेलौरीमा थियो। चार वर्षपछि २०२३ सालमा जिल्ला सदरमुकाम महेन्द्रनगरमा सारियो।
तत्कालीन भुजेला, सिद्धनाथ र आदर्श गाउँ पञ्चायत पूरै तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भूभाग मिलाएर २०३४ सालमा ‘महेन्द्रनगर नगर पञ्चायत’ गठन भएको थियो। राजा महेन्द्रले परिकल्पना गरेको बजार भएकाले पनि उनको नगरको नाम पनि ‘महेन्द्रनगर’ राखियो। त्यसबेला सम्म हालको बजारको नाम ‘धुसुडी’ थियो।
पञ्चायतकालको अन्त्यपछि ‘महेन्द्रनगर नगरपालिका’ भयो। लोकतन्त्र स्थापनापछि नेपाल सरकारले क्रान्तिकारी किसान नेता भीमदत्त पन्तका नाममा ‘भीमदत्त नागरपालिका’ नामकरण गर्यो।
भीमदत्त नगरपालिकालाई दक्षिणमा जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथि एशियाभरिकै लामो झोलुंगे पुल, परापूर्वकालदेखि भारत जाने र नेपालीको हाट भर्ने ऐतिहासिक ब्रह्मदेव बजार, पूर्णागिरि र सिद्धनाथ मन्दिर, व्यापारिक नाका गड्डाचौकीले चिनाएका छन्।