चिनियाँ विदेश मन्त्री वाङ यी अफगानिस्तानको राजधानी काबुल पुगेका छन्।
बिहीबार दिउँसो वाङ पाकिस्तानको इस्लामावादबाट चार्टर्ड जहाजमा काबुल पुगेको तालिबानले पुष्टि गरेको टोलो न्युजले उल्लेख गरेको छ।
गत अगस्टमा तालिबानहरूले काबुलको सत्ता कब्जा गरेपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री काबुल गएका हुन्।
यसअघि पाकिस्तान र कतारका विदेश मन्त्रीमात्रै अफगानिस्तान गएका थिए।
तालिबानसँग चीनको यसअघि नै राम्रो सम्बन्ध थियो। काबुलमा अमेरिका समर्थित असरफ घानीको सरकार भएकै बेला तालिबान प्रतिनिधिहरूले चीन पुगेर विदेश मन्त्री वाङसँग भेट गरेका थिए।
गत सोमबार पाकिस्तान पुगेका वाङ आजै भारतको राजधानी नयाँदिल्ली आइपुग्ने बताइएको छ।
नयाँदिल्लीमा हुँदा उनले भारतीय विदेश मन्त्री एस जयशंकर, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट्ने छन्।
भारतको भ्रमण सकेर चिनियाँ विदेश मन्त्री शुक्रबार साँझ नयाँदिल्लीबाट काठमाडौं आइपुग्नेछन्।
तीन दिने नेपाल भ्रमणका क्रममा उनले द्वीपक्षीय वार्तासँग महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्नेछन्।