नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको भेला गरेका छन्। बोहराटारस्थित निवासमा शुक्रबार बिहान पौडेलले दुई घन्टा बढी नेताहरूसँग कुराकानी गरेका हुन्।
कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेलले आफूनिकट केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वसभापतिहरूलाई बोहराटारमा बोलाएका हुन्।
गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा अन्तिममा चुनावी प्रक्रियामा सहभागी नभएका पौडेलले त्यसपछि पहिलो पटक आफूनिकट यति धेरै नेताहरूसँग छलफल गरेका हुन्।
१४ औं महाधिवेशनमा दोस्रो चरणको चुनाव हुँदा शेरबहादुर देउवाविरूद्ध शेखर कोइराला सभापति उम्मेदवार बनेका थिए। ४० प्रतिशत मत पाएका शेखर नै देउवाइतर समूहका नेताका रूपमा देखिएका थिए।
पौडेलले भने पछिल्लो समय देउवाइतर समूहको नेताका रूपमा आफूलाई फेरि उभ्याउने जमर्को गरेका छन्।
पौडेलले आजको भेलामा संस्थापनइतरका नेताहरूलाई भेलामा आउन खबर गरेका थिए। पौडेलले बोलाएको भेलामा शेखर कोइरालालगायत नेता गएनन्। पूर्वमहामन्त्री शशांक कोइराला भेलामा पुगेका थिए।
कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, दीपक गिरी, मधु आचार्य, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ भेलामा पुगेका थिए।
भेलामा तनहुँ कांग्रेस सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल, पाल्पा सभापति हिमालदत्त श्रेष्ठ, धादिङका पूर्वजिल्ला सभापति रमेश धमलालगायत नेताहरू सहभागी रहे।
मंसिरमा कांग्रेसको महाधिवेशन हुनुभन्दा पहिले ६१ जिल्ला अधिवेशन सकिएको थियो। त्यो बेलासम्म सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलका तर्फबाट जिल्लाहरूमा प्रतिस्पर्धा भएका थिए।
त्यसबेला पौडेल पक्षले पनि देउवा पक्षकै हाराहारीमा जिल्ला सभापतिहरू जितेका थिए। पौडेल १४ औं महाधिवेशनमा सभापति उम्मेदवार बनेनन्, बरू 'मौन' बसिदिए।
संस्थापनइतर समूहको नेतृत्व गरेका पौडेल नै महाधिवेशन प्रक्रियाभन्दा बाहिर बसेपछि उनकै समूहभित्रका प्रकाशमान सिंह र शेखर सभापतिका उम्मेदवार बनेका थिए। पहिलो चरणमा कसैले पनि सभापति नजिते पछि दोस्रो चरणमा देउवा र शेखरबीच प्रतिस्पर्धा हुँदा देउवाले सभापति जितेका थिए।
महाधिवेशनमा 'मौन' बसेका पौडेल पार्टी राजनीतिमा ओझेल पर्दै गएका थिए। तर प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले उनलाई राजनीतिक समन्वय समितिका प्रमुख बनाएर फेरि भूमिका दिए।
महाधिवेशनपछि बसेको शेखर पक्षको बैठकले पौडेल र शशांकले सभापति देउवालाई नै सघाएको दाबी गरेका थिए। त्यसपछि शेखर पक्षले राखेका भेलामा पौडेल र शशांक देखिएका छैनन्।
पौडेलले आज भेला गरेर आफूले भिन्नै गुट चलाइरहेको सन्देश दिन खोजेका छन्। आजको भेलामा आफू संस्थापनइतरको नेता भएकाले सबैले सहयोग गरेमा अभिभावकको भूमिका खेल्दै नेताहरूको संरक्षण गर्ने प्रतिवद्धतासमेत जनाएका थिए।
‘शेरबहादुरइतर समूहको नेता म हुँ, अभिभावक भएर नेता/कार्यकर्ताको संरक्षण गर्छु,’ बैठकमा सहभागी एक नेताले पौडेलका भनाइ उद्धृत गर्दै भने, ‘गुट बलियो बनाउनेभन्दा पनि कांग्रेस र मुलुक बलियो होस् भन्ने नै चाहना छ।’
पौडेलले वैशाखमा हुने स्थानीय चुनावमा कसरी जाने भन्नेबारे पनि जिल्लाका नेताहरूसँग सोधेका थिए।
‘उहाँले गठबन्धन गरेर जाने कि एक्लै जाने भन्नेमा जिल्लातिर के छ भन्ने बुझ्न खोज्नुभएको रहेछ,’ भेलापछि केन्द्रीय सदस्य दीपक गिरीले भने, ‘एक्लै चुनाव नजित्ने ठाउँ छन् भने तालमेल गर्दा पनि हुन्छ भन्ने र तालमेल गर्न हुन्न भन्ने मिश्रित धारणा नेताहरूबाट आयो।’
पौडेलले भने पाँच दलीय गठबन्धनको सुरूवातकर्ता आफू भएको बताएका थिए। तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन सभापति देउवा अघि सर्नुपर्ने भन्दै पौडेलले दलहरू मिलेर जानुपर्ने भन्दै भूमिका खेलेका थिए।
‘गठबन्धन गर्ने कि के गर्ने? साथीहरूका कुरा सुन्न चाहन्छु र म आज केन्द्रीय समितिमा धारणा राख्छु भनेर उहाँले भन्नुभएको थियो,’ केन्द्रीय सदस्य गिरीले भने।
पौडेलले राखेको भेलामा केही नेताले आफूहरू अब कसरी अघि बढ्ने हो प्रष्ट हुनुपर्ने कुरा राखेका थिए। सभापति देउवा पक्षले तल्ला तहमा पेल्दै गएको, शेखर कोइराला पक्षले पनि संवाद नगरेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे जिल्ला तहका नेताहरूले पौडेलसँग जिज्ञासा राखेका थिए।
‘संस्थापनसँग मिल्ने हो भने त्यहीअनुसार कुरा हुनुपर्छ होइन भने संस्थापनइतर पौडेल-शेखर कोइरालालगायत पक्ष एक भएर जानुपर्यो भन्ने कुरा पनि उठेको थियो,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘पार्टीभित्रको आन्तरिक कुराभन्दा पनि धेरै समय चुनावी तालमेलबारे नै कुराकानी भयो।’
जवाफमा पौडेलले आफू र शशांक नहुँदा बाटो खाली भयो भनेर कोही रमाउँछन् भने रमाउन दिनुपर्ने बताएका थिए।
कांग्रेसले आज दिउँसो २ बजे केन्द्रीय समिति बैठक राखेको छ। उक्त बैठकअघि पौडेलले आफूनिकट नेताहरूसँग कुराकानी गरेका हुन्। पौडेलले यसअघि राष्ट्रिय सभा सदस्य निर्वाचनका बेला पनि सभापति देउवासँग कुरा गरेर आफूनिकट २ जनालाई उम्मेदवार बनाएका थिए।
साथै नेविसंघ र तरूण दलको नेतृत्व चयन गर्दा परामर्श नभएकालगायत विषयमा पनि आज पौडेल पक्षको भेलामा कुरा उठेको थियो।
चुनावी तालमेलबारे विधानअनुसार चार तहका संरचनालाई नै निर्णय गर्ने अधिकार दिइनुपर्ने पक्षमा पौडेल पक्षका नेताहरू छन्। केन्द्रबाट चुनावी तालमेलको निर्णय गर्दा स्थानीय आवश्यकताभन्दा फरक पर्न सक्ने हुँदा पार्टीलाई क्षति पुग्नेतर्फ सचेत हुनुपर्ने उनीहरूको सुझाव थियो।
भेलामा पुगेका बलबहादुरले भने- हाम्रो गुटको नेता त शेखर हो
पौडेलले बोलाएको भेलामा पुगेका केन्द्रीय सदस्य बलबहादुर केसीले १४ औं महाधिवेशनपछि आफूहरूको गुटको नेता शेखर कोइराला भएको बताए।
‘पार्टीभित्रका नेताहरूको हिसावले सहमति भए पनि नभए पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल त हुँदै हो,’ उनले भने, ‘तर टिमको हिसावले १४ औं महाधिवेशनमा हामी शेखर टिमबाट उठेकोले हाम्रो गुट नेता उहाँ नै हो भनेर मैले भनेँ।’
केसीले नेता पौडेललाई आफू संस्थापन कि संस्थापनइतर कतातर्फ हो भन्ने प्रष्ट हुन आग्रह गरेका थिए।
‘तपाईं शेरबहादुरजीको मान्छे हुनुभएको हो कि शेरबहादुरजी तपाईंको हुनुभएको हो?,’ केसीले प्रश्न गरे, ‘को कसको मान्छे हो भन्ने तपाईंका भोलिका कदमले देखिनेछन्।’
उनले चुनावी तालमेलको उद्देश्य स्पष्ट पारेर मात्रै निर्णयमा पुग्नुपर्ने बताएका थिए।
‘आफू सुरक्षित हुन दलहरूले गठबन्धन गर्न लागेको भन्ने देखिन्छ,’ उनले भने, ‘लोकतन्त्र र संविधान तथा पद्धतिलाई दह्रो बनाउन खोजेको हो भने गठबन्धन बनाउन के कुरा भो र! प्रणालीमाथि खतरा छ भने कहाँबाट खतरा छ भन्नुपर्यो, बचाउन लाग्नुपर्यो।’