आजदेखि सुरू सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा चुनावी तालमेलबारे बहस सुरू भएको छ।
शुक्रबार अपरान्ह ३ बजेदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले मिश्रित कुरा राखेका छन्।
केही प्रदेश सभापतिहरूले सकेसम्म गठबन्धन गरेर जान नहुने धारणा राखेका छन्। बागमती र प्रदेश नम्बर १ का सभापतिले आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने बताए।
लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन मगरले चुनावी तालमेलको निर्णय गर्ने अधिकार तल्ला समितिलाई पनि दिइनुपर्ने बताए। केन्द्रबाट मात्रै गठबन्धनको निर्णय गरेर नपुग्ने उनको भनाइ थियो।
‘अधिकांश ठाउँका ०७४ को भन्दा कांग्रेसको माहौल राम्रो छ,’ उनले भने, ‘हामी एक्लै पनि चुनाव जित्न सक्छौं। एक्लै जित्न नसक्ने ठाउँमा स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने अधिकार स्थानीय पार्टी समितिलाई नै दिइनुपर्दछ।’
०७४ मा कांग्रेसले ७५३ स्थानीय तहमध्ये २५३ ठाउँमा मात्रै जितेको थियो।
साथै उनले चुनावी गठबन्धन गर्नुको आवश्यकता, औचित्य र यसका मापदण्ड बनाइनुपर्ने बताए।
‘गठबन्धन गर्दै जाने हो भने भारतीय कांग्रेस आईकै जस्तो हालत हुन्छ,’ उनले भने, ‘अरू चिन्हमा भोट हाल्दाहाल्दा रूखमा भोट हाल्नै बिर्सिन्छन्। आफ्नो कार्यकर्तालाई अरू चिन्हमा भोट हाल्न सिकाएपछि यस्तै हुन्छ।’
उनले गठबन्धन गर्ने हो र आवश्यकता छ भन्ने केन्द्रीय समितिले ठान्ने हो भने धोका नदिने गरी गर्नुपर्नेमा जोड दिए।
‘०७४ मा चितवन महानगरको मेयरका लागि माओवादीलाई भोट हालियो तर प्रदेश र संघीय चुनावमा माओवादीले कांग्रेसलाई धोका दियो,’ पुराना घटनाको समीक्षा गर्नुपर्ने बताउँदै सभापति मगरले भने, ‘राप्रपासँग गठबन्धन गरियो तर झापामा कृष्णप्रसाद सिटौलालाई भोट दिएनन्। अहिले पनि त्यस्तै हुँदैन भन्ने के विश्वास छ?’
कांग्रेसले 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियानअन्तर्गत केन्द्रीय सदस्यहरूलाई जिल्लामा खटाएको थियो। जिल्ला र पालिकास्तरसम्म पुगेर कार्यकर्ता र जनताका कुरा सुनेर आएका प्रतिनिधिले पनि केन्द्रीय समितिमा ब्रिफिङ गर्न थालेका छन्।
आजको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले आफ्ना धारणा राखेका थिए। उनीहरूले जिल्लामा कांग्रेसको पहिलेको अवस्था र अहिलेको प्रगति तथा पालिकाहरूमा एक्लै जित्न सक्ने वा नसक्नेबारे विवरणसमेत पेश गरेका छन्।
कञ्चनपुरमा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धन गरेर भुइँको टिप्न खोज्दा पोल्टाकै पोखिने स्थिति आउन नहुनेतर्फ नेतृत्व सचेत रहनुपर्ने बताए।
‘गठबन्धन गर्नैपरे सरकारमा रहेका दलहरूसँग गर्नुपर्छ। तर यसका लागि स्थानीय आवश्यकताअनुसार मापदण्ड बनाएर जानुपर्छ,’ महरले केन्द्रीय समिति बैठकमा भने, ‘गठबन्धन गर्ने हो भने पहिले पार्टीभित्र नै एकमत बनाउनुपर्छ।’
उनले गाउँ-गाउँमा कांग्रेसप्रति आकर्षण रहेको आफूले पाएको दाबी गरेका थिए।
आज बैठकमा केन्द्रीय प्रतिनिधिहरू प्रदीप पौडेल, रामहरि खतिवडा, सरस्वती अर्याल, गोविन्द पोखरेल, रमा पौडेल, अजयबाबु शिवाकोटी, मोहनबहादुर बस्नेत, शान्ति परियारलगायतले गाउँमा पार्टीका अवस्थाबारे कुरा राखेका थिए।
आज बोल्ने अधिकांशले कम्युनिष्टहरूको फुटले गर्दा पार्टीका पक्षमा माहौल बढेको र संगठन पनि सुदृढ हुँदै गएको ब्रिफिङ गरेका थिए।
अर्का केन्द्रीय सदस्य बलबहादुर केसीले चुनावी गठबन्धन किन गर्ने हो भन्ने उद्देश्य पहिले सार्वजनिक गर्नुपर्ने बताए।
‘गठबन्धन केका लागि बन्ने हो? मोडालिटी के हुने हो? हरेक पार्टीका नेता आफू सुरक्षित हुन गठबन्धन गर्न खोजेको भन्ने छ,’ उनले भने, ‘गठबन्धन गर्दा पछि ती दलहरूले धोका दिँदैनन् भन्ने के छ? विश्वासमाथि संकट देखा पर्न सक्छ। अहिले गठबन्धन गर्ने प्रदेश र संघको चुनावमा धोका हुँदैन भन्ने एकिन गरेर जानुपर्छ।’
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले चुनावी गठबन्धनबारे केन्द्रबाट निर्णय लाद्ने भन्ने कुरा कल्पनासमेत नगरिएको बताए।
‘केन्द्रीय समितिमा बल्ल चुनावी तयारीबारे छलफल हुँदैछ। कुन ठाउँमा हाम्रो अवस्था कस्तो छ भन्ने केन्द्रीय प्रतिनिधिहरूले जानकारी गराउँदै हुनुहुन्छ,’ उनले भने, ‘बढीभन्दा बढी सिट कसरी जित्ने भन्ने हो। एक्लै लडेर जितिन्छ कि अरू दलसँग मिलेर जितिन्छ कि! जे गर्दा जितिन्छ त्यही गर्ने हो।’
उनले अपबादबाहेक नेकपा एमालेसँग चुनावी गठबन्धन नहुने बताए। तर कतिपय नेताहरूले भने एमालेसँग पनि चुनावी तालमेल गर्न पार्टी खुला हुनुपर्ने धारणा राखेका थिए। कर्णालीका अधिकांश जिल्लामा माओवादीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले एमालेसँग मिलेर जाँदा पार्टीलाई फाइदा हुने धारणासमेत आएका छन्।
कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बिहान ११ बजे फेरि बस्ने गरी आजका लागि स्थगित भएको छ।