अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहन नसक्ने बताएका छन्।
रूसले एक महिनादेखि छिमेकी युक्रेनमा जारी राखेको आक्रमणबारे छलफल गर्न युरोप भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले शनिबार पोल्यान्डको वार्सामा आयोजित कार्यक्रममा पुटिन सत्तामा रहन नसक्ने बताएका हुन्।
पछिल्लो समय पुटिनप्रति निकै आक्रोशित रूपमा प्रस्तुत हुँदै आएका बाइडेनले पुटिन सत्तामा नरहने बताएपछि रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले पनि कडा प्रतिक्रिया जनाएको छ।
समाचार संस्था रोयटर्ससँग कुरा गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन सत्तामा रहने कि नरहने भन्ने कुरा बाइडेनले नभई रूसी जनाले निर्णय गर्ने बताए।
'त्यो कुराको निर्णय बाइडेनले गर्ने होइन, रूसी जनताले राष्ट्रपति निर्वाचित गर्छन्,' उनले भनेका छन्।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीहरूले भने बाइडेनको भनाइको अर्थ रूसमा सत्ता परिवर्तन गर्नुपर्छ भन्ने नभएको बताएका छन्।
बाइडेनले छिमेकी मुलुकमा पुटिनले शक्तिको प्रदर्शन गर्न सक्ने छैनन् भन्ने अर्थ उक्त अभिव्यक्ति दिएको ती अधिकारीको भनाइ छ।