मधेश प्रदेशको राजधानी सहरसमा अवस्थित जानकी मन्दिरको पछाडिपट्टि केही खाली जग्गा छ। वरिपरि घरहरू छन्। मन्दिरबाट सडक छिचोल्दै दशरथ तलाउ जाने बाटो फोहोले ढाकेको छ। फोहोरमा मृत कुकुर–बिरालोको गन्धले बाटो दुर्गन्धित हुने गरेको छ।
स्थानीयबासीहरूका अनुसार खाली जमिन परिपरिको मोहल्लाबाट उत्पादन हुने सबै फोहोर त्यहीँ फालिन्छ। वर्षौंदेखि यही क्रम चलेको छ। टोलमा फोहोर उठाउने गाडी पनि विरलै पुग्छ। फोहोरको दुर्गन्धले टोलका बासिन्दा दिक्दार छन्। उनीहरू गुनासो गर्दागर्दा थाकिसके तर समस्या ज्युँका त्युँ छ।
पीडित टोलबासीहरूले मेयर लालकिशोर साह र अन्य जनप्रतिनिधिहरूलाई धेरै पटक गुहारे। अनुनयविनय गरे तर समस्या समाधान त परै जाओस् सामान्य सुनुवाइ समेत भएन।
‘दुई वर्षअघि हामी पाँच–सात जना लगातर दुई महिनासम्म नगरपालिका धायौँ। मेयर, उपमेयर, हाकिम सबैलाई भन्यौँ तर वास्तै गरेनन्,’ फोहोर थुप्रिएको चौरअगाडि किराना पसल चलाएर बसेका एक व्यवसायीले भने, ‘हामी गएको गयै गरेपछि उहाँहरूले भेट्नै छोड्नुभयो। यहाँ कसले राज गरिरहेको छ भन्ने थाहै भएन।’
जानकी मन्दिरनजिकै राजदेवी मन्दिर छ। फोहोर फाल्न मन्दिरअगाडि दुई वटा ढ्वाङ राखिएका छन् तर ती खाली छन्। मन्दिरको गेटअगाडि बाटामा फोहोरको थुप्रो लागेको छ। त्यहाँको फोहोर उठाउन नगरपालिकाको गाडी हप्तामा एक दिन आउँछ।
मानिसहरूले थुपारेको फोहोर र छाडा गाईको गोबरले मन्दिर क्षेत्र दुर्गन्धित छ। श्रद्धालु भक्तजनहरू नाक खुम्च्याउँदै मन्दिर छिर्नुपर्छ। फोहोरले नाली जाम भएकोले पानी सडकमै जम्छ।
जनकपुरको रंगभूमि मैदान (बाह्रबिघा) मा पनि यस्तै फोहोर छ। दुई साताअघि परिक्रमा यात्री बस्दा भएको फोहोर अझै उठाइएको छैन। मैदानको पूर्वपट्टिको भाग सधैँ दुर्गन्धित भइरहन्छ।
प्रादेशिक अस्पताल, जनकपुरको पश्चिमपट्टिको बाटो फोहोरकै कारणले बन्द छ। अस्पतालले र टोलबासीले फालेको फोहोरले बाटो जाम भएको हो। बीच सहरमै रहेको जनकपुरधाम उपमहानगरपालिकाको गेस्ट हाउस पनि डम्पिङ साइटमा परिणत भएको छ।
यो गेस्ट हाउसमा सरकारी पाहुना बस्ने गर्थे। अहिले भवनको एकातर्फ गाडी पार्क गरिएको छ, अर्कोतर्फ फोहोरको डङ्गुर छ। ‘बीच सहरमै गेस्ट हाउसलाई डम्पिङ साइट बनाइएको छ। यसबाट जनकपुर कुरूप भएको छ,’ वडाध्यक्ष सुदर्शन सिंह भन्छन्, ‘हामीले बारम्बार यहाँ फोहोर नफाल्न आग्रह ग¥यौँ तर हाम्रो कुराले केही काम गरेको छैन।’
स्थानीय बासिन्दाहरू फोहोरको दुर्गन्धले आफूहरू बिरामी पर्न थालेको बताउँछन्। दशरथ नगरका राजेन्द्र साह भन्छन्, ‘फोहोरले एलर्जी भएर मलाई हप्तैपिच्छे रुघाखोकी लाग्छ। मेयर साबलाई कतिपटक भनिसकेँ, कुनै सुनुवाइ भएन।’
जनकपुरका हरेक चोक र गल्लीमा फोहोरको डंगुर छ। सहरी क्षेत्रको फोहरले ग्रामीण बस्तीसमेत कुरूप हुन थालेका छन्। कतिपय ठाउँको सहरी फोहोर नजिकका ग्रामीण क्षेत्रमा पु¥याउने गरिएको छ।
राजेन्द्र पसल चलाउँछन्। उनको पसलअगाडिबाट मन्दिर दर्शनका लागि आएका भक्तजनहरू हिँड्छन्। उनीहरू फोहरले हैरान हुन्छन् र जनप्रतिनिधिलाई गाली गर्छन्।
‘धर्मशाला र होटेलबाट निस्केका मानिसहरू नगरपालिकालाई गाली गर्दै हिँड्छन्,’ राजेन्द्र भन्छन्, ‘यसरी त जानकी मन्दिर र जनकपुरको के इज्जत रहन्छ र!’
दशरथका अनुसार जनप्रतिनिधिहरू पीडितका कुरा सुन्दैनन्। फोहोर व्यवस्थापन गर्न माग गर्दै वडाका जनप्रतिनिधिहरू समेत बेलाबेला आन्दोलन गर्छन्। एक पटक वडाध्यक्षहरूले मेयर साहको घरअगाडि फोहोर फालेर विरोध जनाएका थिए। त्यसले पनि मेयरलाई नछोएको वडाध्यक्ष सुदर्शन सिंहको भनाइ छ।
‘टेक्निोलजीले हरेक चिज सम्भव छ। फोहोर व्यवस्थापनका लागि ७ कठा जग्गा र ६ करोड रुपैँया काफी छ। फोहोरबाटै छ–सात वटा वटा बाइप्रोडक्ट बनाएर बेच्न सकिन्छ,’ सिंह भन्छन्, ‘उहाँ (मेयर) मा नगर सफाइको इच्छाशक्ति नै देखिएन।’
नम्बर ७ का अध्यक्ष जानकी राम साह मेयरले पाँच वर्षे कार्यकालमा फोहोर व्यवस्थापनका लागि कुनै काम नगरेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘हामीले धेरैपटक कार्यपालिका बैठकमा ठोस योजना ल्याउन माग ग¥यौँ तर हाम्रो कुरै सुनिए। त्यहाँबाट सुनुवाइ नभएपछि आन्दोलन पनि ग¥यौँ तर समस्या ज्युँका त्युँ छ।’
फोहोरकै कारण वर्षाको पानी ढलमा छिर्न नपाउँदा साधारण वर्षामा पनि सडकमा पानी जम्छ। रामानन्द चोकका बासिन्दा वासुदेव यादव भन्छन्, ‘सडकमा फोहोर जमेर पानी ढलमा छिर्नै पाउँदैन। धेरै वर्षा नभए पनि पानी निकास नहुँदा मेरो पसल डुब्छ।’
जनकपुरमा फोहोर व्यवस्थापनका लागि एकीकृत सहरी विकास परियोजना अन्तर्गत ल्यान्ड फिल साइट निर्माण गर्न एसियाली विकास बैंक (एडीबी) ले ४८ करोड रुपैयाँ ऋण सहयोग गरेको थियो। मुख्य सरोकारवाला जनकपुर उपमहानगरपालिका कार्यालयले चासो नदिँदा ऋण रकम फिर्ता गयो।
ल्यान्डफिल साइट निर्माणका लागि उपमहानगरले गुठी संस्थानसँग वडा नम्बर १८, भोइलमा १२ बिघा १० कठ्ठा १६ धुर जग्गा ३० वर्षका लागि लिजमा लिएको थियो। यस विषयमा २०७३ फागुन २० मा ३० गुठी संस्थान र उपमहानगरबीच सम्झौता भएको थियो।
उपमहानगरकी उपमेयर रिता झाका अनुसार स्थानीयबासीको अवरोधका कारण उक्त जमिनमा ल्यान्डफिल साइट बन्न सकेन। ‘स्थानीयले कुनै पनि हालतमा फोहोर फाल्न नदिने अडान लिए। आन्दोलन सुरु गरे,’ उनले भनिन्, ‘सर्वदलीय छलफल गरेर कुनै निर्णय गर्नुपथ्र्यो। त्यसमा हाम्रो कमजोरी रह्यो।’
उपमेयर झाका अनुसार गैरसरकारी संस्थाको सहकार्यमा जनकपुरकै बिन्धीमा १० कठा जग्गा लिजमा लिएर रिसाइकल प्लान्ट राख्ने तयारी हुँदैछ। तीन महिनाअघि वडा नम्बर २० मा ५ कठा जग्गा भाडामा लिएर फोहोर फाल्ने काम भइरहेको उपमहानगरका सरसफाइ शाखा प्रमुख श्याम ठाकुरले बताए।
उनका अनुसार २५ वटै वडामा सरसफाइका लागि उपमहानगरले छ वटा ट्याक्टर भाडामा लिएको छ। चार वटा टिपर, एउटा जेसिबी, एउटा बु्रमर र केही साना गाडी पनि प्रयोगमा छन्। सफाइ कर्मचारी १०६ जना छन्। यसो भए पनि नगरभित्र फोहोर घटेको छैन।
सफाइका लागि उपमहानगरले हरसम्भव काम गरेको र वडाध्यक्षहरूको मागअनुसार सबै वडामा गाडी पठाउने गरेको ठाकुरको भनाइ छ। गएको दशैँमा कतै ठाउँ नपाएपछि गेस्ट हाउस परिसरमा फाल्न बाध्य भएको उनले बताए।
उनका अनुसार ल्यान्डफिल साइट नहुनु नै जनकपुर उपमहानगरको सबैभन्दा ठूलो समस्या हो।