अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमण सकेर स्वदेश फर्किएका छन्।
रूसले युक्रेनमाथि जारी राखेको आक्रमणबारे युरोपियन युनियन र उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रहरूसँग छलफल गर्न बाइडेन गत साता तीन दिने युरोप भ्रमणमा आएका थिए।
भ्रमणका क्रममा बाइडेन पोल्यान्डको राजधानी वार्सा पनि पुगेका थिए। त्यहाँ उनले युक्रेनी शरणार्थीहरूसँग भेटघाट गरेका थिए।
वार्सामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा बस्न नसक्ने बताएका थिए।
बाइडेनको उक्त अभिव्यक्तिसँगै मस्को र वासिङ्टनमा मात्र होइन अरू युरोपेली मुलुकमा पनि तरंग आएको थियो। केहीले बाइडेनको आलोचना पनि गरेका थिए।
रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले रूसी राष्ट्रपति जनताले चुनावबाट छान्ने भन्दै रूसमा को राष्ट्रपति हुने भन्ने कुरा बाइडेनले निर्णय गर्न नसक्ने बताएको थियो।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीहरूले बाइडेनको भनाइको तात्पर्य पुटिनलाई सत्ताबाट हटाउनु नभई उनले छिमेकीमाथि आक्रमण गर्ने नसक्ने अर्थमा रहेको बताएका थिए।
बेलायत, फ्रान्सजस्ता मुलुकले पनि बाइडेनको भनाइमा समर्थन जनाएका थिएनन्। पोल्यान्डमा दिएको उक्त अभिव्यक्तिबारे बाइडेनले वासिङ्टनमा पनि स्पष्टिकरण दिनु परेको छ।
सोमबार ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै बाइडेनले आफूले उक्त कुरा व्यक्तिगत रूपमा भनेको र रूसको सत्ता पल्टाउने नीति अमेरिकाको नरहेको बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
बाइडेनले पुटिन सत्तामा रहन सक्दैनन् भन्ने आफ्नो अभिव्यक्तिमा आफू अझै पनि दृढ रहेको पनि बताएका छन्।
युक्रेनी शरणार्थीलाई भेटेपछि पुटिनले गरेको कार्यप्रति आफूमा आक्रोश आएकाले उक्त कुरा भनेको उनले बताएका छन्। त्यसको अर्थ पुटिनलाई सत्ताबाट निकाल्नुपर्छ भन्ने नहुने बाइडेनको भनाइ छ।