आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने-नगर्नेबारे केन्द्रमा छलफल जारी रहेकै बेला जिल्ला तहमा भने सत्ता गठबन्धनका दलहरूले धमाधम गठबन्धनको घोषणा थालेका छन्।
प्रदेश १ का दुईटा पहाडी जिल्लामा सत्तारूढ गठबन्धनका जिल्लास्थित समितिले एमालेविरूद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन्। एक साताअघि धनकुटा जिल्लामा वडा तहसम्मै तालमेल गर्ने निर्णय गरेका गठबन्धनका दलहरुले मंगलबार तेह्रथुम जिल्लामा पनि त्यस्तै निर्णय गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी र मञ्चसम्बद्ध लिम्बुवान पार्टी नेपालले जिल्ला तहमा तालमेल गर्ने निर्णय गरेर सामूहिक घोषणा गरेका हुन्। लिम्बुवान पार्टी धनकुटामा भने गठबन्धनमा सामेल छैन। तर, तेह्रथुममा उसले सत्ता गठबन्धनलाई सघाउने घोषणा गरेको हो।
२०७४ को स्थानीय तह निर्वाचनमा धनकुटा एमालेले ‘क्लिन स्वीप’ गरेको जिल्ला हो भने तेह्रथुममा पनि एउटाबाहेक अरू सबै स्थानीय तहमा एमाले विजयी भएको थियो। एमालेइतरका दलहरूले एमाले बलियो रहेका ठाउँमा वडासम्मै तालमेल गर्ने निर्णय गरेका हुन्। यसका लागि उनीहरूले पार्टीको माथिल्लो तहको निर्देशन र निर्णय कुरेनन्।
‘एमाले नेतृत्वको सरकारले विगतमा संविधानमाथि र व्यवस्थामाथि निरन्तर प्रहार गर्दा हामी एकै ठाउँ उभिएर प्रतिगमन परास्त गरेका थियौं,’ नेपाली कांग्रेस तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फेले भने, ‘यो व्यवस्थाको रक्षा र सुरक्षाका लागि हामीले जिल्लामा हिजोका सहयात्री दलहरूसँग तालमेल गर्ने निर्णय गरेका हौं।’
तेह्रथुममा दुई नगरपालिका र चार गाउँपालिकासहित ६ वटा स्थानीय तह छन्। त्यसमध्ये लालीगुराँस नगरपालिकामा २०७४ को निर्वाचन कांग्रेसले जितेको थियो। म्याङलुङ नगरपालिकासहित आठराई गाउँपालिका, छथर, फेदाप र मेन्छ्यायेम गाउँपालिका एमालेले जितेको थियो। यी सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय भएको दलहरुले मंगलबार जनाएका छन्।
तेह्रथुममा तालमेल गर्ने निर्णयमा कांग्रेस जिल्ला सभापति तुम्बाहाम्फेसहित माओवादी केन्द्रका संयोजक इन्द्रबहादुर इम्सङ, एकीकृत समाजवादीका अध्यक्ष कृष्ण चोङबाङ, जसपाका अध्यक्ष भगवान रिजाल र लिम्बुवानका विजय निलेकुले संयुक्त हस्ताक्षर गरेका छन्। स्थानीय आवश्यकता बुझेर यस्तो निर्णय भएका कारण पार्टीको माथिल्लो कमिटीले यसमा हस्तक्षेप नगर्ने दलहरूले जनाएका छन्।
प्रदेश १ मा यसअघि नै धनकुटामा तालमेल गर्ने निर्णय भइसकेको थियो। अघिल्लो सोमबार उनीहरूले स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका हुन्। कांग्रेसका धनकुटा सभापति दिनेश राई, नेकपा माओवादी केन्द्र धनकुटा संयोजक डिल्लीराम राई, नेकपा एकीकृत समाजवादी धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टी धनकुटा अध्यक्ष बलबहादुर राईले संयुक्त हस्ताक्षर गरेर जिल्लाका वडा तहसम्मै तालमेल गर्ने घोषणा गरेका थिए।
स्थानीय तहका आवश्यकताको आधारमा गठबन्धन गरेर अघि बढ्ने सहमति भएको बताउँदै कांग्रेस धनकुटा सभापति दिनेश राईले जिल्लामा संयुक्त रूपमा कार्यक्रम अघि बढाउने तयारी पूरा भइसकेको जानकारी दिए।
पछिल्लो स्थानीय निर्वाचनमा धनकुटाका ७ वटा स्थानीय तहको प्रमुख उपप्रमुख सहित एमालेले ४३ वडामा एमाले एक्लैले जितेको थियो। कांग्रेसले ९ वटा, माओवादी केन्द्रले ५ वटा वडा र जनता समाजवादी पार्टीले ३ वटा वडा जितेका थिए।
धनकुटा, पाख्रीबास र महालक्ष्मी गरी तीन वटा नगरपालिका भएको धनकुटामा खाल्सा छिन्ताङ सहिदभूमि, चौबीसे, छथर जोरपाटी र साँघुरीगढी गरेर चार वटा गाउँपालिका छन्।
माओवादी, दुबै समाजवादी लगायतका दलहरू तालमेल हुनुपर्ने पक्षमा केन्द्रदेखि नै पहल गरिरहेका छन्। तर, कांग्रेसमा तालमेल गर्ने र नगर्ने समूहबीच बहस जारी छ। केन्द्रीय समितिले यसबारे निर्णय लिने तयारी गरिरहेको छ। त्यसअघि नै जिल्लाहरूमा धमाधम तालमेल घोषणा भइरहेको छ।
जिल्ला तहको निर्णयलाई पार्टीको उपल्लो समितिले स्वीकार गर्ने कांग्रेस प्रदेश १ सभापति उद्धव थापा बताउँछन्।
‘स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने भन्ने लाइनमै केन्द्रले पनि निर्णय लिने लगभग निश्चित छ,’ थापाले भने, ‘जिल्लाका साथीहरूले आवश्यकतामै आधारित भएर गर्नुभएको घोषणालाई हामीले नमान्ने कुरा हुँदैन।’
उनले गठबन्धन देशैभरि हुने बताए।