नरेन्द्र मोदी नेतृत्वको सरकारले जातीयता र साम्प्रदायिकता फैलाएको भन्दै सुरूदेखि आलोचना गर्दै आएकी भारतीय पत्रकार राना अय्युबलाई विदेश जानबाट रोकिएको छ।
उनले बुधबार ट्विटरमार्फत् आफूलाई विदेश जानबाट रोकिएको बताएकी हुन्।
लन्डन जाँदै गरेका बेला मुम्बई विमानस्थलमा भारतीय अध्यागमनले आफूलाई रोकेको उनले बताएकी छन्।
‘म लन्डनस्थित एक कार्यक्रममा बोल्न जाँदै थिएँ। त्यसलगत्तै इटालीमा पुगेर जर्नलिस्ट फेस्टमा भारतीय लोकतन्त्रबारे बोल्न जाने कार्यक्रम थियो,’ उनले भनेकी छन्, ‘तर मलाई भारतीय अध्यागमनले रोक्यो।’
उनले आफ्ना कार्यक्रमहरू पहिले नै तय भएको र सामाजिक सञ्जालमा हप्तौंदेखि सार्वजनिक भएको बताइन्। तर अध्यागमनमा रोकेपछि मात्रै इन्फोर्समेन्ट डाइरेक्ट्रेटले आफूलाई इमेल पठाएको उनले उल्लेख गरेकी छन्। अय्युबमाथि मनी लाउन्डरिङ गरेको आरोप लगाइएको छ।
राना अय्युबलाई भारतमा मोदी सरकारका प्रखर आलोचकका रूपमा चिनिन्छ। मोदी सरकार र उनको सत्तारूढ भारतीय जनता पार्टीले साम्प्रदायिकता फैलाएको भन्दै उनले आफ्ना लेख-रचनामार्फत् आवाज उठाउँदै आएकी छन्।
गुजरातमा भएको जातीय दंगाबारे 'गुजरात फाइल्स' भन्ने किताब लेखेपछि राना अय्युब चर्चामा आएकी हुन्।
गुजरात दंगा हुँदा राना 'तहल्का' पत्रिकामा काम गर्थिन्। त्यही पत्रिका निम्ति गुजरात दंगाबारे अनुसन्धनात्मक रिपोर्टिङ गर्न उनी गुजरात पुगिन्। त्यहाँको लामो बसाइ क्रममा दंगा कसरी फैलियो र त्यो दंगा फैलाउन भारतीय जनता पार्टीकै राज्य सरकारको कति ठूलो भूमिका रह्यो भन्नेबारे उनले आफ्नो किताबमा विस्तारमा वर्णन गरेकी छन्।
किताब प्रकाशनपछि भारतीय जनता पार्टी लगायत हिन्दुवादी संघ-संगठनहरूको निशानामा पर्दै आएकी अय्युबलाई सामाजिक सञ्जालमा थुप्रै धम्की आउने गरेका छन्।
पछिल्लो समय उनले सहनुपरेका धम्कीका कारण अमेरिकी अखबार 'द वासिङ्टन पोस्ट' ले भारतको प्रेस स्वतन्त्रता खतरामा परेको भन्दै एक पृष्ठको सामग्री प्रकाशन गरेको थियो। राना वासिङ्टन पोस्टका लागि रिपोर्टिङ गर्छिन्।
राना अय्युबले केही समययता मोदी सरकारले प्रचारबाजी गरिरहेको 'द कश्मीर फाइल्स' फिल्मले मुस्लिम समुदायलाई लाञ्छित गरेको भन्दै कडा आलोचना गरेकी छन्।
वासिङ्टनको इन्टरनेसनल सेन्टर फर जर्नलिस्टले पत्रकार अय्युबलाई अनलाइनमा महिला पत्रकारहरूमाथि दुर्व्यवहार शीर्षकमा बोल्न बोलाएको थियो। अनलाइनमा आफूमाथि हुने दुर्व्यवहारबारे उनले ट्विट गर्ने गरेकी छन् जसमा उनलाई मार्ने समेतको धम्की आउने गरेको छ।
डाइरेक्ट्रेटले अय्युबलाई अप्रिल १ मा सोधपुछ गर्न बोलाएको छ। उनीविरूद्ध गत सेप्टेम्बरमा उत्तर प्रदेशको गाजियाबाद प्रहरीमा मनी लाउन्डरिङ गरेको भन्दै रिट दायर भएको थियो।
हिन्दु आइटी सेलका संस्थापक विकास संकृतियनले उनीविरूद्ध रिट दायर गरेका थिए।
सन् २०२० र २०२१ मा अय्युबले दुई करोड ६९ लाख भारू किट्टो नामक अनलाइन प्लेटफर्मबाट पैसा उठाएको भन्ने आरोप डाइरेक्ट्रेटले लगाएको छ। उक्त पैसा दान दिने उद्देश्यले उठाएको एनडिटिभीले जनाएको छ।
अय्युबले भने उठाएको रकम कतै पनि दुरूपयोग नभएको बताउँदै आएकी छन्।