अमेरिकी गुप्तचरहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनकै सल्लाहकारहरूले युक्रेन युद्धबारे साँचो कुरा नभनेको दाबी गरेका छन्।
द न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गुप्तचरको रिपोर्टमा अहिले राष्ट्रपति पुटिन र रूसी रक्षा मन्त्रालयको नेतृत्वबीच पनि खटपट भएको छ।
कुनै बेला पुटिनका निकै विश्वास पात्र मानिएका र पुटिनका उत्तराधिकारी ठानिएका रक्षा मन्त्री सर्जेई के सोइगु र पुटिनबीच तनाव चुलिएको छ।
अमेरिकी अधिकारीहरूले यसरी गुप्तचरको रिपोर्ट सार्वजनिक गर्नु युक्रेन हमलाबारे सुरूदेखि नै दुई मुलुकबीच जारी सूचना युद्धको हिस्सामात्रै हो कि होइन भन्ने खुलिसकेको छैन। अहिलेसम्म भने अमेरिकी गुप्तचरहरूले रूसबारे गरेका विश्लेषण मिलेका छन्।
फेब्रुअरी २४ मा पुटिनले युक्रेनमाथि आक्रमणको निर्देशन दिनुअघि नै अमेरिकी गुप्तचरले आक्रमण हुन सक्ने सूचना दिएका थिए। पुटिन कसरी गलत दिशातिर डोर्याइएका छन् भन्ने बुझाउन गुप्तचरका रिपोर्ट सार्वजनिक गर्नुपरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीहरूले बताएका छन्।
'हामीलाई के लाग्छ भने युक्रेनमा रूसी सैनिकको लडाइँ कति खराब छ र प्रतिबन्धहरूले रूसी अर्थतन्त्र कसरी खस्किरहेको छ भन्नेबारे सल्लाहकारहरूले पुटिनलाई साँचो कुरा भनेका छैनन्,' ह्वाइट हाउसकी सञ्चार निर्देशक केट बेडिङफिल्डले भनिन्।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले पनि पुटिनलाई हजुर, हजुर भन्नेले साँचो कुरा नभन्नु सामान्य भएको बताएका छन्। अल्जेरिया भ्रमणमा रहेका ब्लिन्केनले गुप्तचरको रिपोर्टबारे सोधिएको प्रश्नमा भने- कुनै पनि तानाशाही व्यवस्थाको कमजोरी यही हो कि त्यो व्यवस्थामा सत्तासँग सत्य बोल्ने मान्छे वा सत्य बोल्न सक्ने क्षमता भएका मान्छे हुँदैनन्। त्यही कुरा हामी रूसमा देखिरहेका छौं।
समाचार संस्था रोयटर्ससँग कुरा गर्दै एक जना शीर्ष युरोपेली कूटनीतिज्ञले पनि अमेरिकी गुप्तचरको रिपोर्टजस्तै आफूहरूको निष्कर्ष पनि पुटिनलाई उनका सल्लाहकारले साँचो कुरा नभनेको रहेको बताएका छन्। रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले भने यस विषयमा कुनै प्रतिक्रिया जनाइसकेको छैन।