आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति गोटवाया राजापाक्षेको घरअगाडि प्रदर्शन गरेका छन्।
बिहीबार राति हजारौं मानिसहरू राजापाक्षेको घरअगाडि प्रदर्शनमा आएका थिए।
प्रहरीले उनीहरूलाई हटाउन खोज्दा झडप भएर केही प्रहरीसहित दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीका फोहोरा हानेको थियो। प्रदर्शनकारीले प्रहरीका र बस, जीप र मोटरसाइकल आगो लगाइदिएका थिए।
समाचार संस्था रोयटर्सले स्थितिलाई सामान्य बनाउन कोलोम्बोका विभिन्न क्षेत्रमा कर्फ्यू घोषणा गरिएको जनाएको छ। श्रीलंकामा अहिले दैनिक १३ घन्टासम्म लोडसेडिङ हुन्छ भने पेट्रोलियम पदार्थको हाहाकार छ।
श्रीलंकाली मुद्राको अवमूल्यन भएकाले मूल्यवृद्धि भएको छ। बिजुली जोगाउन सडक बत्तीहरू पनि बाल्न छोडिएको छ भने बिजुली अभावमा सेयर बजार कारोबार पनि प्रभावित भएको छ।
यो पनि: किन आर्थिक संकटमा फस्यो श्रीलंका?
प्रदर्शनकारीहरूले राजापाक्षे परिवारको हालिमुहाली भएको सरकारले अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै राष्ट्रपति गोटवायाको राजीनामा मागिरहेका छन्।
सरकारले भने अतिवादीहरूले राष्ट्रपतिको घरअगाडि प्रदर्शन गरेको जनाएको छ।