कर्णाली प्रदेश अस्पताल परिसरमा सामुदायिक कुकुरले शिशुको शव लिएर डुलाएको विषय कर्णाली प्रदेश सभामा पनि उठेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कर्णाली प्रदेश सभा दल नेता यामलाल कँडेलले सोमबार बसेको नवौं अधिवेशनको १७ औं बैठकमा यो विषय उठान गरेका हुन्।
संसद सुरू हुनेबित्तिकै सभामुखसँग समय माग गरी सांसद कँडेलले यो विषय उठाएका थिए।
त्यस क्रममा उनले भने,‘प्रदेश अस्पतलाको परिसरभित्र सबैको ध्यान आकर्षित गर्नेगरी एउटा तस्वीर आयो, यो अहिले सामाजिक सञ्जालमा प्रचारित भएको अवस्था छ। यसले हामी सबैलाई आफ्नो ठाउँमा जिम्मेवारीपूर्वक हेक्का राख्नुपर्ने अवस्था सिर्जना गरेको छ।’
सांसद कँडेलले यही विषयलाई लिएर कर्णाली प्रदेश सभामा अस्पतालको आलोचनासमेत गरेका छन्। उनले अस्पतालको आन्तरिक सेवा गुणस्तरीय नबनेको त्यही दृश्यले देखाएको टिप्पणी गरे।
‘प्रदेश अस्पताल बाहिर हेर्दा साह्रै राम्रो छ, विगतको भन्दा सबैले ध्यान दिएर भौतिक पूर्वाधारको विकास भएको अवस्था छ। सामाजिक सञ्जालमा फोटो खिच्न लायक दृश्यका रूपमा पनि प्रचार भएको छ,’ कँडेलले भने, ‘तर त्यसको आन्तरिक अवस्था विचारणीय अवस्थामा पुगेको छ, त्यसमध्ये पनि एउटा बच्चा र कुकुरको चित्र परिसरभित्र देखापर्ने जुन परिस्थिति हो यसमा सबैको ध्यान गएको होला जस्तो लाग्छ। यो भनिरहनुपर्ने कुरा होइन। तस्वीर नै काफी छ।’
यो घटनाले समाजलाई जस्तो जति प्रभाव पारे पनि अस्पताल प्रशासनले भने त्यति गम्भीरतापूर्वक नलिएको उनले टिप्पणी गरे।
शनिबार कर्णाली प्रदेश अस्पतालमा एउटा सामुदायिक कुकुरले टाउको नभएको शिशुको शव ल्याएर अस्पताल परिसरमा हिँडेको थियो। त्यही भएका कसैले त्यो भिडिओ र तस्विर खिचेका थिए।
उक्त तस्विर र भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रदेश अस्पताललाई आलोचित बनाउने उक्त दृश्य देखिएपछि अस्पतालले प्रहरीलाई यसको अनुसन्धान गरी सहयोग गर्न आग्रह गरेको थियो।
शनिबारदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा कुकुरले डुलाएको उक्त मृत शिशु दैलेखको आठविस नगरपालिका–९ का गोपाल विक र पवित्रा विकको भएको पत्ता लागेको छ।
चैत १४ गते पवित्राबाट मृत शिशु जन्मिएपछि अस्पतालले उनको परिवारलाई जिम्मा लगाएको थियो। परिवारले भने अस्पताल परिसरकै जंगल क्षेत्रमा गाडेर शिशुको दाहसंस्कार गरेको थियो। सोही ठाउँबाट शनिबार ककुरले शव निकालेर ल्याएको पाइएको छ।
शिशुको पहिचानपछि प्रहरीले परिवारलाई नै पुनः दाहसंस्कारका लागि जिम्मा लगाएको छ।
सांसद कँडेलले यही घटनाको बहानामा प्रदेश अस्पतालको बारेमा अरू टिप्पणी गर्न पनि भ्याए।
‘दक्ष चिकित्सक उल्लेखनीय रूपमा उत्पादन भएका छन्, विडम्बनाको कुरा अस्पतालमा उल्लेखनीय योगदान गरेका चिकित्सक टिक्न सकेनन्,’ उनले भने, ‘देशमा लोकतन्त्र आएको छ, तर प्रदेश अस्पतलमा आफूलाई लागेका पेशागत कुरा उठाउँदा चिकित्सकहरूले जोखिम मोल्नुपर्ने परिस्थिति छ।’
यो विषयमा कँडेलले कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराए। यसलाई एउटा एजेण्डा नै बनाएर छलफल गर्नुपर्ने वातावरण नबनाउने उनले अस्पताल र सरकारलाई ध्यानाकर्षण गराए।