अमेरिकी राष्ट्रपतिको कार्यालय र निवास रहेको ह्वाइट हाउसमा वर्षौंपछि विवाह भोज हुने भएको छ।
द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति जो बाइडेनले केही महिनापछि ह्वाइट हाउसमा आफ्नी नातिनीको विवाहको भोज दिँदै छन्।
जो बाइडेनका छोरा रोबर्ट हन्टर बाइडेनकी छोरी नाओमी बाइडेनको विवाहपछि आगामी नोभेम्बरमा ह्वाइट हाउसमा भोज हुने जनाइएको छ।
२८ वर्षीया नाओमीले २४ वर्षका केटा साथी पिटर निलसँग विवाह गर्न लागेकी छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो विवाहको भोज ह्वाइट हाउसमा गर्न लागेकोमा हजुरबुवा र हजुरआमालाई धन्यवाद दिएकी छन्। ह्वाइट हाउसको भोजमा क-कसलाई बोलाउने भन्ने टुंगिन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।
अमेरिकी राष्ट्रपति कार्यालयमा राष्ट्रपतिका परिवारको विवाह समारोह बिरलै हुने गरेका छन्। सन् २००८ मा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसकी छोरीको विवाह भोज ह्वाइट हाउसमा भएको थियो।
सन् १९७१ मा राष्ट्रपति रिचार्ड निक्सनकी छोरीको विवाह समारोह ह्वाइट हाउसको रोज गार्डेनमा भएको थियो। अहिलेसम्म अमेरिकी राष्ट्रपतिका ९ जना सन्तानले ह्वाइट हाउसमा हुँदा विवाह गरेका छन् भने एक जना राष्ट्रपतिको नै विवाह ह्वाइटहाउसमा भएको छ।
सन् १८८६ मा राष्ट्रपति ग्रोभर क्लेभल्यान्डले ह्वाइट हाउसमै विवाह गरेका थिए। रेकर्डमा भएअनुसार ह्वाइट हाउस सबैभन्दा पहिला सन् १८१२ मा विवाह समारोह भएको थियो।
त्यतिबेला तत्कालीन प्रथम महिला डली म्याडिसनकी बहिनीले ह्वाइट हाउसबाट विवाह गरेकी थिइन्।