कोइराला परिवारको बलियो विरासत भएको विराटनगर महानगर नेपाली कांग्रेसको परम्परागत गढ पनि मानिन्छ। स्थानीय चुनाव लागेपछि महानगरको मेयरमा नेताहरुले आफ्ना आफ्ना दाबी पेश गर्न थालेका छन्।
नेकपा विभाजित भएको, त्यसपछि एमाले पनि सग्लो नरहेको, जसपा विभाजनको फाइदा आफैलाई पुगेको आंकलन गरिरहेको कांग्रेसलाई आसन्न स्थानीय निर्वाचनमा विराटनगर महानगरका लागि आकांक्षी व्यवस्थापन पेचिलो हुने देखिएको छ।
राप्रपाको सुनिल थापा समूह र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमै समाहित भएको र त्यसमाथि सत्ता गठबन्धनले तालमेल गर्ने भनेपछि कांग्रेस आफ्नो जित सुनिश्चित हुने आत्मविश्वासमा छ।
सभापति शेरबहादुर देउवालाई पार्टीभित्र बलियो चुनौती पेश गर्दै आएका नेता डा. शेखर कोइरालाको गृहनगरमा कोइराला पक्ष र देउवा पक्षका ‘हेभिवेट’ नेताहरु महानगर प्रमुख बन्ने दौडमा लामबद्ध छन्। उनीहरू बीच टिकटका लागि तीव्र प्रतिष्पर्धा छ। पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला तहमा बलियो सांगठनिक पकड भएका आकांक्षीहरु टिकटको दौडमा रहेकाले पनि कांग्रेसभित्रको प्रतिष्पर्धा रोचक देखिन्छ।
संस्थापन पक्ष र कोइराला, दुवै पक्षले महानगर प्रमुखको टिकटलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्। यसकारण पनि कांग्रेसलाई आकांक्षीहरूको व्यवस्थापन सजिलो छैन।
‘अहिले पनि महानगरको नेतृत्व गरिरहेको दल, पुरानो पकडस्थल र अहिले पार्टीको बढेको शक्तिका कारण भावी मेयर बन्ने सपना बुनेर सक्रिय हुनेको संख्या काँग्रेसमा धेरै छ,’ आफै पनि प्रमुख बन्ने दौडमा सामेल मोरङ कांग्रेसका उपसभापति नागेश कोइराला भन्छन् ‘यसलाई हामी सबैले स्वाभाविक रुपमा लिएका छौं। तर, आकांक्षी व्यवस्थापन नै असहज हुने अवस्था आउँदैन। कांग्रेस अहिले एकढिक्का छ ।’
उनले ‘पार्टी एकढिक्का रहेको’ दाबी गर्दै संस्थापन र इतर समूहबीच कुनै समस्या नरहेको जिकिर गरे पनि विराटनगरमा यी दुई समूहबीचमा तिक्तता उच्च छ।
अझ बैशाख ३० को तिथि नजिकै आउँदै गर्दा आकांक्षीहरु एकअर्काविरुद्ध मोर्चाबन्दीमै जुटिसकेका छन्।
विराटनगरको मेयरका सदाबहार दाबेदार हुन्, केन्द्रीय सदस्य अमृत अर्याल। कुनैबेला कोइराला परिवारका विश्वासपात्र अर्याल अहिले सभापति देउवाका प्रियपात्र हुन्। कोइराला परिवारको दबदबा रहेको मोरङमा देउवा पक्षलाई जोगाइराख्ने नेता अर्याल नै हुन्। यसपटक पनि अर्याल महानगर प्रमुखको दाबीमै छन्। तर, उनले सार्वजनिक रुपमा मुख खोलेका भने छैनन्।
‘मैले अहिलेसम्म मेयरमा दाबी पेश गरिसकेको छैन,’ सेतोपाटीसँगको कुराकानीमा नेता अर्यालले भने ‘तर, नेताहरुले र कार्यकर्ता साथीहरुको दबाब भने ठूलो छ। म अहिले काठमाडौं छु। जिल्ला फर्केपछि छलफल गरेर टुंगोमा पुग्नेछु।’
नेता अर्याल २०५४ मा नगर प्रमुखमा एमालेका रमेशचन्द्र पौडेलसँग पराजित भएका थिए। संविधानसभा सदस्य भइसकेका उनले यसपटक सभापति देउवासँगको निकटता उपयोग गरेर महानगर प्रमुखको टिकट हात पार्ने दाउमा रहेको कांग्रेस स्रोतको भनाइ छ।
त्यसो त २०७४ मा पनि अर्याल दाबेदार नै थिए। महानगरमा कांग्रेस उम्मेद्वार उनी नै बन्ने आकलन थियो। तर, डा. शेखर कोइराला ‘फ्याक्टर’ निर्णायक बनेपछि उनले टिकट पाएनन्।
‘उहाँ यसपटक खुल्नु भएको छैन, तर उहाँको तयारी भने मेयरको टिकट लिनेमै छ,’ कांग्रेस महानगरका एक पदाधिकारीले भने ‘त्यसका लागि कोइराला पक्षसँग पनि संवाद अघि बढाउने तयारीमा हुनुहुन्छ।’
संस्थापन पक्षबाटै मेयरमा दाबी गर्ने अर्की केन्द्रीय नेता हुन् डिला संग्रौला। केही दिनअघिसम्म दाबेदारीबारे नखुलेकी प्रतिनिधिसभा सदस्य संग्रौला अहिले खुल्न थालेकी छन्।
‘महानगर प्रमुखमा मेरो दाबेदारी रहनेछ,’ उनले भनिन् ‘संसद्मा कानुन बनाउने कामहरूमा बढी केन्द्रीत भइयो। अब आफूले देखेको विकासका सपना पूरा गर्न महानगरमा दाबी गरिरहेकी छु।’
मुलुकमा ‘भिजनरी’ र ‘महिला नेतृत्व’ को खोजी उच्च भएको बताउँदै संग्रौलाले थपिन् ‘यी दुवै कुरामा म योग्य छु। त्यही भएर मेयर बन्ने अभियानमा लागेको हुँ।’
२०७४ मा डा. कोइरालाको एकल पहलमा टिकट पाएका थिए हालका महानगर प्रमुख भीम पराजुलीले। सभापति देउवा आफ्ना विश्वासपात्र अमृत अर्याललाई उम्मेद्वार बनाउन चाहेपनि कांग्रेसभित्र उदाउँदो वैकल्पिक नेताको छवि बनाउँदै गरेका कोइरालाले त्यसबेला पराजुलीको पक्षमा अड्डी कसे। कृष्णप्रसाद सिटौलाले पनि कोइरालालाई साथ दिए। पराजुली सिटौलाका विश्वासपात्र हुन्।
कोइराला परिवारको पुरानो विरासत रहेको महानगरमा अन्ततः कोइरालाहरूले रुचाएकै व्यक्ति पराजुली उम्मेद्वार बने र जिते। यसपटक पनि प्रमुखमा दाबेदारी पेश गरिरहेका पराजुली अहिले भने संस्थापन पक्षमा पुगेका छन्। महाधिवेशनको मुखैमा क्याम्प परिवर्तन गरेर उनी केन्द्रीय सदस्यसमेत बनिसकेका छन्। कृष्णप्रसाद सिटौला देउवा समूहमा पुगेपछि पराजुलीले पनि त्यही समूह रोजे। पहिलो प्रयासमै केन्द्रीय सदस्य बन्नलाई समूह परिवर्तनको फाइदा पराजुलीलाई भयो पनि। तर, फेरि मेयर दोहोर्याउने उनको इच्छामा यो कति फलदायी हुने हो टुंगो छैन।
‘विराटनगरमा धेरै कामको थालनी मैले गरेको छु, जनताका बीचमा सबैभन्दा धेरै भिजेको छु,’ मेयर पराजुली भन्छन्, ‘महानगरमा जित्ने उम्मेद्वार नै म हुँ।’
करिब दुई साताअघि त सञ्चारमाध्यमहरुलाई अन्तरवार्ता दिने क्रममा पराजुलीले घोषणै गरिदिए ‘महानगरमा म बाहेक अरु कसैले जित्न सक्ने छैन।’
त्यसलाई कांग्रेसकै नेताहरूले पनि रुचाएका छैनन्।
‘हिजो उहाँले शेखरको बलमा टिकट पाउनुभएको हो,’ काँग्रेस महानगरका एक नेता भन्छन् ‘कोइरालाले अडान नलिएको भए उहाँले टिकट पाउने सम्भावना हुन्थेन। जितेपछि उहाँले धोका दिनुभयो।’
यसपटक पहिले जसरी पराजुलीको पक्षमा लडिदिने मान्छे कोही नभएको ती नेता बताउँछन्।
‘देउवा समूहमा उहाँभन्दा सिनियर नेताहरू दुई जना हुनुहुन्छ, उहाँहरू आफै दाबेदार हुनुहुन्छ,’ ती नेताको भनाइ छ ‘अनि आफूलाई दिएको धोकाबारे कोइरालाहरू पनि सजग नै हुनुहुन्छ भने उहाँलाई गाह्रो देखिन्छ ।’
संस्थापन पक्षबाट मेयरमा देखिएको आकांक्षीहरूको लर्कोका बीच कोइराला पक्षबाट पनि मुख्यतः दुई जना टिकटको दौडमा छन्। जिल्ला उपसभापति नागेश कोइराला र हालकी उपप्रमुख इन्दिरा कार्की प्रमुखमा दाबी गरिरहेका छन्।
यी दुवै आकांक्षीहरु कोइरालाको गृहनगरमा आफ्नै पक्षले टिकट पाउने कुरामा आशावादी छन्। तर, यो कुरा उनीहरू खोल्दैनन्।
‘हाम्रो सभापति पनि देउवा नै हो, चुनावी प्रतिष्पर्धा हुन्जेल हामी इतर भयौं होला,’ नागेश कोइराला भन्छन् ‘उहाँ हाम्रो पनि अभिभावक हो। त्यसैले जनताले रूचाएको, चुनाव जित्ने उम्मेद्वार अघि सार्ने कुरामा उहाँले महाधिवेशनको चुनावी कुरा सम्झिनुहुने छैन।’
प्रमुख पदकै दाबेदार उपप्रमुख इन्दिरा कार्की पार्टीको बलियो अवस्था र महिला नेता अघि सार्नुपर्ने सशक्त आवाजका कारण आफ्नो सम्भावना बलियो रहेको बताउँछिन्।
‘अघिल्लो पटक मलाई नेताहरूले उपप्रमुखमा बस्न आग्रह गर्नुभयो मैले मानेँ,’ उनले भनिन् ‘अब अनुभव हासिल गरेको छु। त्यसैले आशावादी छु।’
उनीहरूबाहेक नगर सभापति दिपक चापागाइँ, पार्टी संस्थापक परिवारका अरूण गुप्ता,महानगरमा यसअघि कार्यकारी प्रमुखका रुपमा काम गरिसकेका पूर्व कर्मचारी गोपाल रेग्मी पनि महानगर प्रमुख बन्ने दौडमा सामेल छन्। यद्यपि बलियो राजनीतिक धरातल भएका नेताहरूबीचमै टिकटका लागि बलियो प्रतिष्पर्धा हुने कांग्रेस नेताहरुको भनाइ छ।
२०७४ को निर्वाचनमा विराटनगरको गणितले नै कांग्रेसलाई बलियो सावत गरेको थियो। त्रिपक्षीय प्रतिपर्धा भएको त्यो चुनावमा काँग्रेस एक्लै मैदानमा थियो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र फरम गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा थिए । एमालेले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)लाई उपमेयर दिएर तालमेल गरेको थियो भने माओवादीले संघीय समाजवादी फोरमसँग तालमेल गरेको थियो। तर, ती दुवै गठबन्धनविरुद्ध काँग्रेस एक्लै भारी सावित भयो।
प्रमुखमा भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजेता बन्दा निकटतम प्रतिष्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए। माओवादीसँग गठबन्धन गरेको संघीय समाजवादी फोरम नेपालका उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हाद साहले ५ हजार ५ सय २४ मत ल्याएका थिए।