धनगढी उपमहानगरपालिका–५ का ५८ वर्षीय लोकबहादुर खड्कालाई टोलमा बाक्लो प्लास्टिकजन्य फोहोर देख्दा असह्य हुन्थ्यो। उनी यो टोलमा बसेको ३५ वर्ष पुग्यो। विगतमा उनको बस्ती सफा र सुन्दर थियो। बिस्तारै बस्तीमा घर, पसल, होटल थपिए।
लोकबहादुर मर्निङ वाकमा जाँदा र बजार डुल्दा टोलका सडक किनार र नालीमा जताततै प्लास्टिकको फोहोर हुन्थ्यो। पसल र होटल अगाडि प्लास्टिकको थुप्रो लागेको हुन्थ्यो। बस्ती बाक्लो भएपछि त्यहीअनुसार फोहोरमैला बढ्दै गयो।
फोहोरमैला बढ्दै गएपछि लोकबहादुरलाई बाहिर निस्कँदा सिकसिक लाग्न थाल्यो। फोहोर बढेअनुसार सफाइ बढेन। बाहिर निस्क्यो कि बेचैनी हुन्थ्यो।
अनि लोकबहादुर कोही न कोही अघि नसरे फोहोरले टोल बसिनसक्नु हुन्छ भन्ने निष्कर्षमा पुगे। साढे दुई वर्षअघि एकदिन उनी एक्लैले भए पनि प्लास्टिकको फोहोर उठाउने निधो गरे।
‘प्लास्टिकको फोहोर बढेको देखेर सफाइमा म अघि सर्नुपर्छ भन्ने भावना आयो,’ उनले भने,‘अनि बिहान साढे तीन बजे नै फोहोर उठाउन थालेँ।’
प्लास्टिक उठाउँदै लोकबहादुर हरेक बिहान तीन किलोमिटरसम्म हिँड्न थाले। केही सफा हुन थालेको जस्तो देखिन ६ महिना लाग्यो। साढे दुई वर्षदेखि हरेक दिन बिहान साढे ३ बजेदेखि साढे ६ बजेसम्म टोलभरिको प्लास्टिक फोहोर उठाउने काम उनले गर्छन्।
उनले २०७६ असोज १५ गते टोलमा प्लास्टिक फोहोर उठाउन थालेका हुन्।
‘अहिले टोलमा पहिलेजस्तो चाउचाउ र बिस्कुटका खोल पाइँदैन। सबैतिर सफा छ। दिउँसोभरिको फोहोर म भोलिपल्ट बिहान टिपिहाल्छु,’ उनी भन्छन्, ‘तीन वर्षअघिको जस्तो फोहोर अहिले छैन।’
लोकबहादुर बिहान भुइँमा उज्यालो नखस्दै एउटा हातमा लाइट बोकेर निस्किन्छन्। अर्को हातमा प्लास्टिक उठाउने सुइरो हुन्छ। साथमा बोरा पनि हुन्छ। सुइरोको सहायताले सबै प्लास्टिक टिप्दै बोरामा जम्मा गर्छन्।
यसरी जम्मा गरेको फोहोर व्यवस्थापनमा भने लोकबहादुरलाई समस्या पर्ने गरेको छ।
सुरूमा करिब ३० बोरा प्लास्टिक नगरपालिकाले जिम्मा लियो। त्यसपछि नगरपालिकाले वास्ता नगरेको उनको भनाइ छ।
‘संकलन सुरू गरेको समयमा नगरपालिकाको गाडीले तीन पटक लग्यो। त्यसपछि लैजान छाड्यो,’ उनी भन्छन्, ‘नगरपालिकाले वास्ता नगरेपछि प्लास्टिक कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परेको छ।’
लोकबहादुरले टोलका तीन ठाउँमा प्लास्टिक थुपार्ने व्यवस्था मिलाएका छन् तर त्यो स्थायी समाधान होइन। नगरपालिकाले यो फोहोर फाल्ने व्यवस्था गरिदिए सजिलो हुन्थ्यो भन्ने लोकबहादुरले सोचेका छन्।
सुरूमा झिसमिसेदेखि नै सडकमा फोहोर उठाएको देखेर छरछिमेकी अचम्ममा परे। कतिपयले त दिमाग खराब भएको पनि ठानेछन्।
टोलका मानिसहरू उनलाई फोहोरमा खेलेको भन्ने ठान्दा रहेछन्। कतिले त उनलाई सामुन्नेमै उपहास पनि गरे।
‘कोही कोही त मेरो घरको फोहोर पनि लिन आउनू है भन्थे,’ लोकबहादुरले भने, ‘मलाई यस्ता कुराले केही पनि असर पारेन। मैले टोल सफा होस् भन्ने उद्देश्यले काम थालेको थिएँ।’
साढे दुई वर्षअघि लोकबहादुरले सुरू गरेको प्रयासले टोल सफा भएको छ। अहिले प्लास्टिकको फोहोर विरलै देखिन्छ। मगज बिग्रेको ठान्नेहरू अहिले छक्क परेका छन्।
उनी भन्छन्, ‘बाटोमा प्लास्टिक फालेर फोहोर पार्नु नहुने रहेछ भन्ने जनचेतना फैलिएको छ। मानिसहरूले सडकमा फोहोर फाल्न धेरै कम गरेका छन्।’
अहिले बालबच्चाले खाएका बिस्कुट, नमकिन, चिजबल, ललीपप, चकलेट र चाउचाउका खोल तथा मेघाश्री तरकारी ल्याएका प्लास्टिकहरू मात्रै सडक भेटिन्छन्।
लोकबहादुरको कामले मानिसमा टोल सफाइको चेतना फैलिएको छ। उनको लगनशीलताले सडकमा फोहोर नफाल्न प्रेरणा मिलेको छ।
अहिले सडकको छेउछाउमा फोहोर देखिन धेरै कम भएको स्थानीय महिला पानसरा बिष्टले बताइन्।
‘उहाँ (लोकबहादुर) ले बिहानै सफा गर्नुहुन्छ, अहिले हाम्रो टोल सफा छ, प्लास्टिकमुक्त बन्दैछ,’ पानसराले भनिन्, ‘हामीले पनि सडकमा फोहोर नफाल्ने बानी बसाउन थालेका छौं।’
लोकबहादुरले आफ्नो टोल र वडा सफा राखेर सिंगै नगरपालिकालाई जगाउन खोजेका छन्।
‘मैले पूरै नगर सफाइको सपना देखेको छु, म एक्लै तीन किलोमिटर घुमेर प्लास्टिक उठाउँछु,’ उनी भन्छन्, ‘नगरपालिकामा त धेरै जना सफाइकर्मी छन्। आधुनिक उपकरण प्रयोग गरेर प्लास्टिक उठाउने हो भने नगर सफा बन्छ। प्लास्टिक जथाभावी फाल्ने प्रवृत्तिले बजारको कुरूप देखिएको छ।’
लोकबहादुरले एक वर्षसम्म आफैंले पञ्जा र अन्य आवश्यक सामग्री किनेर फोहोर उठाए। हाल टोलका केही व्यक्ति र नगरपालिकाले पञ्जा र फोहोर उठाउने सुइरो दिने गरेका छन्।
लोकबहादुर भन्छन्, ‘हातगोडा चलुन्जेल म टोल सफाइको काम गर्छु।’
प्लास्टिक फोहोर उठाउन थालेको एक वर्षपछि टोल समितिले दोसल्ला ओढाएर लोकबहादुरलाई सम्मान गर्यो। गलामा माला लगाइदियो। यस्तो सम्मानले उनमा ऊर्जा थपियो। सानै भए पनि सबैको हित हुने राम्रो काम गर्दा सम्मान पाइँदो रहेछ र ढिलै भए पनि मानिसले कुरा बुझ्दा रहेछन् भन्ने उनले थाहा पाए।
अछाममा जन्मेका लोकबहादुरले कक्षा चार पढेर स्कुल छोडे। दुई घण्टा हिँडेर स्कुल जानुपर्ने दुःखले उनले पढाइ अघि बढाउन सकेनन्। उनी १८ वर्षको उमेरमा धन कमाउन भारत पसे। उताको कमाइले यता उनले तराईमा जग्गाजमिन जोडे। उनको बसाइ धनगढीमा भयो । दैनिक गुजाराका लागि बेला गाउँमा उनले एउटा मिल चलाएका छन्। खेतीबाट अन्न उत्पादन गर्छन्।