नाबालिग बलात्कार आरोप लागेका पोखराका व्यवसायी सुन्दर श्रेष्ठ र यौन दुर्व्यवहार आरोप लागेका बैंकर सुवास सुवेदीलाई कास्की जिल्ला अदालतले सफाइ दिएको छ।
कास्की अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले बुधबार अभियोग दाबी नपुग्ने फैसला गरेर दुबै जनालाई सफाइ दिएको हो।
पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको हैसियतमा रहँदा श्रेष्ठ बलात्कार आरोपमा २०७५ चैतमा पक्राउ परेका थिए।
श्रेष्ठसँग एनआइसी एसिया बैंक पर्स्याङ शाखा प्रमुखकै रूपमा काम गर्दागर्दै सुवेदी बैंकबाटै पक्राउ परेका थिए। अदालतले दुबै जनालाई सफाइ दिने फैसलाको पूर्णपाठ भने आइसकेको छैन।
पोखराको होटल दि कान्तिपुर र रत्नदेवी हाउसका कार्यकारी अध्यक्ष रहेका श्रेष्ठ क्षेत्रीय होटल संघ, पोखरा पर्यटन परिषद्, रोटरी क्लब अफ पोखरा लगायत संस्थाका पूर्वअध्यक्ष समेत हुन्। बलात्कार आरोपमा पक्राउ परेपछि भएको थुनछेक बहसमा श्रेष्ठ ५ लाख र सुवेदी ३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
लेकसाइडमा पहारी परिवारमा बस्दै आएकी १६ वर्षीय नाबालिगले श्रेष्ठलाई बलात्कार आरोप लगाएकी थिइन्। नाबालिग एक दिन अचानक घर छडेर हिँडिन्। साथीलाई भेटेर रूँदै आफू मर्न लागेको बताइन्। उनले साथीलाई श्रेष्ठले पटक/पटक बलात्कार गरेको र सुवेदीले यौन दुर्व्यवहार गरेको बताएकी थिइन्।
प्रहरीसँगको बयानमा पनि नाबालिगले उक्त बयान दिएकी थिइन्। नाबालिगले आश्रय लिएकै घरसँग श्रेष्ठको घर जोडिएको छ।
नाबालिग सुत्ने कोठामा झ्यालबाट छिरेर श्रेष्ठले पटक/पटक बलात्कार गरेको र सुवेदीले संवेदनशील अंग चलाएर यौन दुर्व्यवहार गरेको उनले बयानमा बताएकी थिइन्।
जिल्ला अदालतले उक्त आदेश दिएसँगै पीडित नाबालिग 'होस्टाइल' भएको हुन सक्ने आशंका गरिएको छ। नाबालिगका तर्फबाट बहस गरेका जिल्ला न्यायाधीवक्ता रूद्र सुवेदीले अदालतमा बयान दिँदा नाबालिगले बयान फेरेको बताएका छन्।
‘प्रहरीलाई दिएको बयान नाबालिगले अदालतमा हुबहु दिइनन्, केही फेरिएको थियो,’ सुवेदीले भने, ‘अदालतको यो आदेश हामीलाई चित्त बुझेको छैन, छिट्टै उच्च अदालतमा पुनरावेदन जान्छौं।’