भारतको आन्ध्र प्रदेशका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्।
२४ जना मन्त्रीहरूले आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीसमक्ष राजीनामा पत्र बुझाएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
बिहीबार अमरावतीस्थित सचिवालयमा बसेको तीन घण्टा लामो बैठकपछि मुख्यमन्त्री रेड्डीसमक्ष उनीहरूले राजीनामा पत्र बुझाएका हुन्।
मुख्यमन्त्री रेड्डी वाइएसआर कंग्रेस पार्टी अध्यक्षसमेत हुन्।
मन्त्रीहरूका राजीनामा पत्र गभर्नर विश्वभूषण हरिचन्दनलाई साँझ पठाइने जनाइएको छ। राजीनामा पत्र पाएलगत्तै स्वीकृत हुनेछ।
राजीनामा बुझाएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सूचना तथा जनसम्पर्क मन्त्री पर्नी भेन्कट्रमैयाले पार्टीका वरिष्ठ नेताहरूलाई जिम्मेवारी दिन सो निर्णय लिएको बताए।
नयाँ मन्त्रिपरिषद् गठन गर्नका लागि उनीहरूले राजीनामा दिएको बुझिएको छ।
मुख्यमन्त्री रेड्डीले नयाँ क्याबिनेट अप्रिल ११ मा गठन गर्ने नागरिक आपूर्ति मन्त्री कोदाली नानीले बताए।
पाँचदेखि छ मन्त्रीहरू अहिलेकै र बाँकी अरू सबै नयाँ अनुहार हुने उनले बताए।