गत आर्थिक वर्षको पोषण भत्ताबाट बञ्चित भएका जाजरकोटको भेरी नगरपालिकाका बालबालिकाको भत्ता यो आर्थिक वर्ष निकासा भएको छ।
जाजरकोटको भेरी नगरपालिकाका ९७९ भन्दा बढी बालबालिका गत वर्ष पोषण भत्ता पाउनबाट बञ्चित भएका थिए।
नगरपालिकाले खातामा जम्मा गर्न भनेर एनआइसी एसिया बैंकलाई पठाएको चेक खातामा जम्मा नभएपछि उनीहरूले पाउने पोषण भत्ताबापतको ४७ लाख रुपैयाँ फ्रिज भएको थियो।
नगरपालिका र बैंकको लापरबाहीका कारण नगरपालिकाका ४, ८, ९ र १९ का ९७९ बालबालिका एक वर्षको पोषण भत्ता पाउनबाट बञ्चित भएका थिए।
‘गत वर्ष फ्रिज भएपछि हामीले कारणसहित खुलाएर माग फाराम भरेर कोष तथा लेखा नियन्त्रण कार्यालयबाट प्रमाणित गरायौं, कार्यपालिकाबाट निर्णय गराएर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पठाएका थियौं,’ नगरपालिकाका लेखापाल राजेन्द्र कठायतले भने, ‘उताबाट गत वर्षको बक्यौता भनेर निकासा दिएको हो, अहिले बालबालिकाको खातामा रकम जम्मा गर्न भनेर बैंकलाई पठाइसकेका छौं।’
वडा नम्बर ४ का १३९, वडा नम्बर ८ का २६३, वडा नम्बर ९ का २१०, वडा नम्बर १० का ३०८ जना बालबालिकाले आर्थिक वर्ष २०७७/७८ को पोषण भत्ता पाएका थिएनन्।
बालबालिका सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएपछि बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन, जिल्ला तथा राष्ट्रियस्तरका नागरिक समाज, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल लगायतले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले सम्बन्धित नगरपालिका, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय बालअधिकार परिषदमा यसका लागि ध्यानाकर्षण गराएका थिए।
‘बालबालिका सामाजिक सुरक्षा भत्ता पाउने अधिकारबाट बञ्चित भएपछि हामीले सम्बन्धित नगरपालिकाका साथै मानव अधिकार आयोगदेखि बाल अधिकार परिषदसम्म यथाशक्य रकम उपलब्ध गराउन ध्यानाकर्षण गराएका थियौं,’ सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले भने, ‘लिखित मात्र नभएर हामीले अनौपचारिक रूपमा पनि उहाँहरूलाई घच्घच्याएका हौं, जे होस् अहिले यो सम्बोधन भएको छ।’
यति धेरै बालबालिका पोषण भत्ता पाउनबाट बञ्चित भएपछि यो विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोटले समिति नै बनाएको थियो।
असार २७ गते पञ्जीकरण विभागबाट नगरपालिकाको खातामा आएको पोषण भत्ता नगरपालिकाले २९ गते विभिन्न बैंकहरूलाई खातामा जम्मा गर्न दिएको थियो।
वडा नम्बर ४, ८, ९ र १० का बालवालिकाको पोषण भत्ता जम्मा गर्न जाजरकोटमा रहेको एनआईसी एसिया बैंकलाई दिइएको थियो। बैंकले भने समय नाघिसक्दासमेत उक्त रकम जम्मा गरिसकेको थिएन।
यी पनि:
नगरपालिका र बैंकको लापरबाहीले ९ सय २० बालबालिका पोषण भत्ताबाट बञ्चित
जाजरकोटका बालबालिकाको पोषणभत्ता फ्रिज: नगरपालिका वा बैंकको लापरबाही?