निर्माण व्यवसायी बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्।
रमण कन्स्ट्रक्सनका सञ्चालक रहेका महतोले शनिबार पत्रकार सम्मेलन गरी मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
जनकपुरधामको मेयरका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने महतो पहिलो व्यक्ति हुन्।
राजनीतिक दलबाट चुनाव जितेका प्रतिनिधिले स्थानीय तहलाई विकासभन्दा राजीनितिक अखडाको रूपमा प्रयोग गरेकाले ‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौं’ नाराका साथ उनले उम्मेदवारी घोषणा गरे।
जनकपुरधामको ऐतिहासक छविलाई कायम राखी देशको नमूना सहरको रूपमा स्थापित गर्ने उनले आफ्नो लक्ष्य सुनाए।
‘पूर्वाधार विकाससँग समबन्धित लामो पेशागत अनुभव, प्रशासनिक कार्यको अनुभव, स्थानीय नगरबासीको समर्थन, साथ, सहयोग, सुझाव र आशीर्वादबाट सबैको मन जितेर प्रदुषित नागरीको उपमनामबाट चर्चामा रहेको यस पवित्र नगरीलाई स्वच्छ, सफा, हराभरा, ऐतिहासिक एवम् धार्मिक पर्यटकीय जनकपुरधाम नगरीको रूपमा परिणत गर्नु मेरो एक मात्र लक्ष्य हो,’ महतोले भने।
उम्मेदवारी घोषणासँगै निर्माण व्यवसाय आफूले सन्यास लिएको समेत उनले दाबी गरे।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालनिकट रहेका उनले मेयरका लागि कुनै प्रमुख दलबाट टिकट पाउने नभएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।
माओवादी, एकीकृत समाजवादी र नेपाली कांग्रेस लगातका दलले आफूलाई प्रदेश र केन्द्रमा चुनाव लड्न प्रस्ताव गरे पनि आफूले नमानेको उनले बताए।
रमण कन्स्ट्रक्सन र महतोमाथि राजश्व अनुसन्धान विभागले झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा मुद्दा चलाएको छ।
एक वर्षअघि विभागले उक्त प्रालि तथा त्यसका सञ्चालकलाई २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।
धनुषा, रघुनाथपुर-४ को उक्त कम्पनीलाई देशभर ठेक्का लिएर काम अलपत्र पारेको अभियोगमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो।
रमण कन्स्ट्रक्सनका मुख्य सञ्चालक महतो, उनका छोरा पवन र रमण हुन्।
उक्त कम्पतीले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली बिजक लिएर राजश्व चुहावट गरेको कसुर स्थापित भएपछि अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
यो कम्पनीले मूल्य अभिवृद्धि कर ७ करोड ५४ लाख ७०९, आयकर १२ करोड ११ लाख ३६ हजार ९९८ र लाभांश कर १ करोड ७५ लाख ७२ हजार ९२१ रुपैयाँ चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको थियो।
राजश्व छलीसम्बन्धीको मुद्दाबारे सेतोपाटीले राखेको जिज्ञासामा महतोले भने, ‘त्यो मुद्दा अदालतमा विचाराधीन भए पनि मैले कम्पनी छोडिसकें, अब स्वतन्त्र छु। कम्पनीले मुद्दा झेलिरहेको छ।’
महतोमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान थालेको थियो। तर, सम्पत्ति शुद्धीकरणको मुद्दाको अनुसन्धानबाट भने आफूले सफाइ पाएको महतोले बताए।
महतो केही समयअघि राजश्व अनुसन्धान विभागमा आफ्नो मुद्दा ‘मिलाइदिनु परो’ भन्दै पुगेका थिए। उनले विभागका उच्च अधिकारीलाई भेटेर ‘के गर्नुपर्छ मिलाउँछु’ पनि भनेका थिए।