विराटनगर महानगरमा त्रिपक्षीय भीडन्तको सम्भावना बढेपछि नेकपा एमालेमा आकांक्षीको संख्या बढेको छ। त्रिपक्षीय भीडन्तले विराटनगरमा चुनावी होड खुला बनाएको ठहरमा एमाले पंक्ति पुगेको छ।
कांग्रेसको पकडस्थल मानिने महानगरमा कांग्रेस एक्लै अघि बढ्ने तयारीमा छ। सत्ता गठबन्धनका अन्य दलहरू जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरु ‘मिनी गठबन्धन’ को तयारीमा छन्।
यसरी सत्ता गठबन्धनमै दुई प्यानल हुने सम्भावना बढेपछि एमालेमा आकांक्षीको संख्या पनि ह्वात्तै बढेको छ।
‘सत्ता गठबन्धनले तालमेल गर्ने अवस्था कायम रहँदासम्म हाम्रोमा आकांक्षीहरु कम थिए,’ एमाले मोरङ जिल्ला कमिटीका एक सदस्यले सेतोपाटीसँग भने ‘तर, गठबन्धनमै दुईटा प्यानल हुनेभएपछि आकांक्षीहरुको संख्या बढेको छ। यसले चुनावी होड खुला बनाएको निष्कर्षमा हामी छौं।’
स्थानीय चुनावको मिति घोषणा भएपछि एमालेबाट महानगरमा दाबी गर्नेको संख्या धेरै थियो। पूर्वमन्त्रीहरु लालबाबु पण्डित, जीवन घिमिरेसहितका नेताहरु मेयरको टिकटका लागि दौडमा रहेका थिए। तर, कांग्रेसले तालमेल गर्ने भएपछि पूर्वमन्त्रीहरु पछि हटे। महानगर तहका नेताहरु नै दाबीको सूचीमा थिए। तर, सत्ता गठबन्धन नहुने सम्भावना बढेपछि एमालेमा उत्साह देखिएको नेताहरुको भनाइ छ।
सत्ता गठबन्धनमा खटपट हुने सम्भावना बढेपछि एमालेमा फेरि आकांक्षी संख्या बढेको छ। यही क्रममा एमाले विराटनगरले प्रमुखमा पाँच जना र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको छ। सत्ता गठबन्धनमा खटपट हुँदा एमाले राप्रपासँग तालमेलको तयारीमा छ। यसले पनि एमालेलाई उत्साही बनाएको छ।
शनिबार एमालेले सिफारिस गरेकाहरुमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्की, महानगर अध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको छ।
यस्तै उपप्रमुखमा पार्टी महानगर उपाध्यक्ष शिल्पा कार्की, प्रदेश सदस्य बिमला घिमिरे दाहाल, जिल्ला सदस्य अन्जु उपाध्याय शिलाको नाम सिफारिस गरेको एमाले विराटनगर महानगर अध्यक्ष सागर थापाले जानकारी दिए।
‘महानगरमा एक जनाको मात्र नाम सिफारिस गर्ने प्रयास सफल भएन,’ एमाले स्रोतले भन्यो, ‘सहमती जुट्न नसकेपछि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम नै जिल्ला कमिटीमा पठाइएका हौ।’
एमालेमा महानगरको उम्मेदवारीको विषयमा केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउने तयारी छ।
२०७४ को निर्वाचनमा विराटनगरमा कांग्रेस बलियो देखिएको थियो। त्रिपक्षीय प्रतिपर्धा भएको त्यो चुनावमा कांग्रेस एक्लै मैदानमा थियो भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र फरक गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा थिए।
एमालेले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई उपप्रमुख दिएर तालमेल गरेको थियो भने माओवादीले संघीय समाजवादी फोरमसँग तालमेल गरेको थियो। तर, ती दुवै गठबन्धनविरुद्ध काँग्रेस एक्लै भारी सावित भयो।
प्रमुखमा भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजेता बन्दा निकटतम प्रतिष्पर्धी एमालेका विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए।
माओवादीसँग गठबन्धन गरेको संघीय समाजवादी फोरम नेपालका उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हाद साहले ५ हजार ५ सय २४ मत ल्याएका थिए।