कुनै बेला एमालेको किल्ला मानिने धरानमा २०७६ को उपनिर्वाचन उसका लागि धक्कादायी सावित भएको थियो।
एमाले एक्लै हुँदा पनि प्रमुख र उपप्रमुखसहित बलियो जित हासिल गरेको धरानको उप-निर्वाचनमा माओवादीसहित चुनाव लड्दा पनि कांग्रेसले बाजी मारेको थियो।
वैशाख ३० को स्थानीय निर्वाचनलाई एमालेले ‘वर्चश्व फर्काउने’ अवसर बनाउने बताइरहेको छ। वर्चश्व फर्काउने अभियानको पहिलो कदममै एमाले धरानभित्र भने ठूलै असहमति देखा परेको छ।
जसका कारण धरान उपमहानगरबाट एमालेले प्रमुखमा मात्रै ११ जनाको नाम सिफारिस गरेको छ। उप-प्रमुखमा पनि ६ जनाको नाम सिफारिस गरेको छ।
स्थानीय तहबाट बढीमा तीन जनाको नाम सिफारिस गर्न भनिए पनि धरानमा भने तीन जनाको नाममा सहमति नभएपछि ११ जनाको नाम सिफारिस भएको हो।
आइतबार सम्पन्न उपमहानगर कमिटी बैठकमा सहमति नजुट्दा र आकांक्षीको लर्को लागेपछि सबैको नाम सिफारिस गरिएको एमाले नेताले बताएका छन्।
यसपटक धरानमा कुनै बेलाको वर्चश्व फर्काउने योजनामा एमाले लागेको नेताहरूले बताउँदै आएका छन्। ‘यसपटक एमालेले धरानमा पुरानो वर्चश्व फिर्ता गर्नेछ,’ एमाले सुनसरी जिल्ला कमिटी सदस्य रवि खनालले सेतोपाटीसँग भने, ‘सोही अनुसार पार्टीले नाम सिफारिस गरेको छ।’
यसपटक सिफारिस सूचीमा बहालवाला उप-प्रमुख मञ्जु भण्डारी प्राथमिकताको पहिलो सूचीमा छन्। पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी भण्डारी धरानमा अध्यक्ष केपी ओली समूहकी विश्वासपात्र हुन्।
प्रमुखमा सिफारिस भएका अन्य नेतामा प्रदेश कमिटी सदस्यहरू मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की छन्। कार्की ब्लाष्ट दैनिकका सम्पादक प्रकाशकसमेत हुन् भने मोतिराज सुनुवार पनि सञ्चार उद्यमी हुन्। त्यस्तै जिल्ला सदस्य मीन सुब्बा, नारायण सुबेदी, राजमणि निरौला र पूर्व जिल्ला सदस्य तिर्थ मास्केको नाम पनि प्रमुख पदका लागि सिफारिस गरिएको छ।
उप-प्रमुख पदमा ६ जनाको नाम सिफारिस भएको छ। सुशीला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम उपप्रमुखका लागि सिफारिस भएको छ। पहाडी र जिमी प्रदेश सदस्य हुन् भने पदम इश्वो , इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई जिल्ला कमिटी सदस्य हुन्।
धरानको प्रमुखमा ओली निकट रहेकी बहालवाला उप-प्रमुख मन्जु भण्डारी र उप-प्रमुखमा सिफारिस भएका एक मात्र पुरुष पदम इश्वो लिम्बुले उम्मेद्वारी पाउने सम्भावना बलियो रहेको एमाले सुनसरी स्रोतको भनाइ छ। उपप्रमुखमा सिफारिस भएका लिम्बु १० बुँदे पक्षधरका हुन्। नेता भीम आचार्य, प्रदेशका सभामुख प्रदीप भण्डारीलगायतका १० बुँदे पक्षका नेताहरु भएका कारण सन्तुलन मिलाउँदा यो सम्भावना हुने स्रोतको भनाइ छ।
यद्यपि उप-महानगर कमिटीले जिल्ला कमिटीमा नाम सिफारिस गरेपछि जिल्ला कमिटिबाट प्रदेश कमिटीहुँदै केन्द्रीय कमिटीमा यी नामहरु सिफारिस हुनेछन्। जिल्ला र प्रदेश कमिटीले पनि यी नामहरुमा तलमाथि गर्नसक्ने एमाले नेताहरू बताउँछन्।
कुनै बेला धरान एमालेको बलियो किल्ला मानिन्थ्यो। तर, २०७६ मा भएको उप-निर्वाचनमा नेपाली कांग्रेसले त्यो किल्ला भत्कायो। तत्कालीन नगरप्रमुख तारा सुब्बाको निधन भएपछि भएको उप-निर्वाचनमा कांग्रेसका तिलक राईले बाजी मार्दा तत्कालीन नेकपा (नेकपा) ले ठूलो क्षतिको अनुभव गरेको थियो। संघ, प्रदेश र स्थानीय सरकारमा हुँदाको जोडबल लगाउँदा पनि कांग्रेसले आफ्नो किल्ला भत्काएपछि तत्कालीन नेकपाभित्र ठूलो हलचल पैदा भएको थियो।
एमाले एक्लै हुँदा पनि जितेको उप-महानगरमा माओवादी मिसिँदा पनि हार व्यहोर्नु परेको घटनालाई त्यसबेला एमाले पंक्तिले ‘माओवादीले धोका दिएको’ आरोप लगाएका थिए भने माओवादीहरुले ‘सत्तामा बसेर केही नगरेपछिको परिणाम’ भनेर अर्थ्याएका थिए।
त्यसयता नेकपा एमाले र माओवादीमा पूर्ववतः फर्किसकेका छन्। एमाले विभाजित बनेको छ। र, कांग्रेससहितका सत्तारूढ दलहरु गठबन्धन बनाउन लागेका छन्। दलहरुको यो तयारीले धरानमा सत्ता गठबन्धन भर्सेस एमालेबीच प्रतिष्पर्धा हुने अनुमान छ। यद्यपि सत्ता गठबन्धनले भने अहिलेसम्म उम्मेद्वारबारे मुख खोलिसकेको छैन।