पाकिस्तानको संसदले सोमबार नयाँ प्रधानमन्त्री छान्ने भएको छ। आफूले विश्वासको मत नपाएर प्रधानमन्त्रीबाट हट्ने भएपछि इमरान खानले अघिल्लो साता संसद विघटन गरिदिएका थिए।
उनको उक्त निर्णयविरूद्ध विपक्षी दलहरू सर्वोच्च अदालत गए। बिहीबार राति सर्वोच्चले संसद विघटन गर्ने इमरानको निर्णय बदर गरिदियो। संसद पुनर्स्थापना भएर इमरानविरूद्धको अविश्वास प्रस्तावमाथि मतदान हुँदा उनले बहुमत पुर्याउन सकेनन्। संसदमा बहुमत नपुगेपछि इमरान पदमुक्त भएका छन्।
सन् १९४७ मा अंग्रेजहरूले भारत छोडेपछि भएको विभाजनले पाकिस्तानको जन्मिएको थियो। पाकिस्तानको ७५ वर्षको इतिहासमा अहिलेसम्म सबै प्रधानमन्त्रीले नियति इमरान खानको जस्तै थियो अर्थात् उनीहरूमध्ये कसैले पनि पाँच वर्षे पूर्ण कार्याकाल पूरा गर्न पाएनन्। तीमध्ये कतिलाई भ्रष्टाचार आरोपमा अदालतले सत्ताबाट हटायो। कतिले पार्टीको आन्तरिक मामिला मिलाउन नसक्दा प्रधानमन्त्री छोड्नु पर्यो। पटक-पटक पाकिस्तानी सेनाले गरेको कूका कारण पनि केही प्रधानमन्त्रीले सत्ता छोड्नु पर्यो भने एकजना प्रधानमन्त्रीको हत्या भएको थियो।
अहिलेसम्म पाकिस्तानमा एक जना प्रधानमन्त्रीले जम्मा दुई सातामात्रै पदमा बस्न पाएका थिए भने सबैभन्दा बढी प्रधानमन्त्री हुनेले ४ वर्ष दुई महिना सरकार चलाएका थिए। सन् १९९३ मा पाकिस्तानमा एकै वर्ष पाँच जना प्रधानमन्त्री परिवर्तन भएका थिए।
हेर्नुस् सूची:
१.लिक्वत अली खान (१९४७-१९५१, हत्या)
२.खावाजा नजिमुद्दिन (१९५१-१९५३, गभर्नर जनरलले हटाइदिएका)
३. मुहम्मद अलि बोग्रा (१९५३-१९५५, राजीनामा)
४.चौधरी मोहम्मद अलि (१९५५-१९५६, पार्टीको आन्तरिक विवादले सत्ताच्यूत)
५.हुसेन सहीद सुह्रावार्डी (१९५६-१९५७ शक्ति समूहको संघर्षले सत्ताच्यूत)
६.इब्राहिम इस्माइल चुन्द्रिगर (१९५७-१९५७ संसदमा अविश्वास प्रस्ताव आएपछि राजीनामा)
७.मलिक फेरोज खान नुन (१९५७-१९५८, सैनिक कू)
८.नुरूल आमिन (१९७१-१९७१, पाकिस्तानबाट बंगलादेश छुट्टिएपछि राजीनामा)
९.जुल्फीकर अलि भुट्टो ( १९७३- १९७७, सैनिक कू)
१०. मुहम्मद खान जुनेजो (१९८५- १९८८, राष्ट्रपति रहेका सेना प्रमुखबाट बर्खास्त)
११. बेनेजिर भुट्टो (१९८८-१९९०, भ्रष्टाचार आरोपमा बर्खास्त)
१२. नवाज सरिफ (१९९०-१९९३, राष्ट्रपतिबाट बर्खास्त)
१३. बेनेजिर भुट्टो ( १९९३-१९९६, राष्ट्रपतिबाट बर्खास्त)
१४. नवाज सरिफ (१९९७-१९९९, सैनिक कू)
१५. जफरूल्लाह खान जमाली (२००२-२००४, राजीनामा)
१६. युसुफ राजा गिलानी (२००८-२०१२, अदालतको अपमान मुद्दामा अयोग्य ठहर
१७. नवाज सरिफ (२०१३-२०१७, अदालतबाट अयोग्य ठहर)
१८. इमरान खान (२०१८-२०२२, अविश्वासको प्रस्ताव पारित)
(समाचार संस्था रोयटर्सबाट साभार)