पोखरा महानगरको मेयर टिकट पाउन प्रदेश मन्त्रीदेखि व्यवसायीसम्म दौडधुपमा छन्। पार्टीका स्थानीय कमिटीदेखि शीर्ष नेतासम्म उनीहरूले लबिङ बढाइरहेका छन्।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री बिन्दुकुमार थापा मेयरको टिकट माग्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब बढाइरहेका छन्। उनीनिकट कार्यकर्ताका अनुसार सत्तारूढ गठबन्धनबाट मेयरको टिकट पाए मन्त्री र सांसदको हैसियतबाट राजीनामा दिने थापाको तयारी छ।
उनले पनि पार्टीले मेयरको टिकट दिए मन्त्री र सांसद पद छाड्न तयार रहेको बताएका छन्।
सरकारले वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया चलिरहेको छ। वडा तहदेखि उम्मेदवार छान्न बैठकहरू चलिरहेको सत्ता गठबन्धन र विपक्षी एमालेले जनाएको छ।
कांग्रेसबाट मेयरका नजिकिँदै जाँदा नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसी, पोखराका अग्रज व्यवसायी गणेशबहादुर भट्टराई, उद्यमी विश्वशंकर पालिखे, पूर्वसचिव बाबुराम आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगर सभापति वीरेन्द्रनारायण बिजुक्छे, गत निर्वाचनमा उपमेयरमा पराजित सरस्वती गुरुङ, उद्यमी सिरोजविजय कोइराला लगायतले पनि मेयरको टिकट दाबी गरेका छन्।
यीमध्ये विश्वशंकर पालिखे प्रजातन्त्र सेनानी परिवारको सदस्य तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य पनि हुन्।
नेपाल चीन जनमैत्री संघका अध्यक्षसमेत रहेका उनले उज्यालो पोखरा अभियानअन्तर्गत पोखरामा सोलार बत्ती जडानलगायतका काम गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बौद्धिक व्यक्तित्वको रूपमा परिचित छन्।
प्रजातन्त्र सेनानी परिवारका सदस्य र कांग्रेसको थिङ्क ट्यांकको रूपमा परिचित उनको योजना निर्माण र आर्थिक मामिलामा विशेष दख्खल छ।
उता, कांग्रेसको १४ औं महाधिवेशनमा कुनै पद नलिएका कृष्ण केसी सबभन्दा बलियो दाबेदारको रूपमा खडा छन्।
गत चुनावमा उपमेयरमा पराजित सरस्वती स्वतः मेयरको दाबेदार हुन्। कांग्रेस केन्द्रीय नेताहरूसँग सोझो पहुँच उनको मुख्य विशेषता रहेको कार्यकर्ताहरू बताउँछन्।
लामो समय स्वतन्त्र बसेका पोखरा महानगरका पूर्वमेयर गणेशबहादुर भट्टराई पनि मेयरका बलियो दाबेदार हुन्। स्वच्छ छवि तथा सामाजिक व्यक्तित्व उनको परिचय हो।
उनको अगुवाइमै पोखराका व्यवसायिक र खेलकुदका संस्थाहरू जन्मिएका थिए भने लेकसाइडमा अंग्रेजी नयाँ वर्षमा हुने सडक महोत्सव उनले नै सुरू गरेका थिए।
मेयरका लागि रस्साकस्सी चलिरहँदा उपमेयरको चर्चा भने कम देखिन्छ। महानगरको उपमेयर बन्न कांग्रेसभित्र कोपिला रानाभाट, लक्ष्मी पाण्डे, माया बराल लगायतले आकांक्षा देखाएका छन्।
उपमेयर आकांक्षी कोपिला कांग्रेस गण्डकीकी सहमहामन्त्री हुन्। कांग्रेसले मेयरको उम्मेदवार केन्द्रबाटै तय हुने बताएको छ। अतः हाल मैदानमा आउन तयार भएकाहरूले आ-आफ्नो पक्षमा केन्द्रसम्मै लबिङ थालेका छन्।
माओवादी केन्द्रबाट मेयरमा विश्वप्रकाश लामिछाने, हरिनारायण गिरी ‘विज्ञान’, बखानसिंह गुरूङ लगायतले दाबी गरेका छन्।
माओवादी अध्यक्ष प्रचण्ड पोखरा आएर एक्लै चुनाव लड्न तयार रहन निर्देशन दिएपछि माओवादीले पनि उम्मेदवारको आकांक्षीबीच छलफल थालेको हो।
पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष समेत रहेका विश्वप्रकाशको सम्भावना बढी रहेको माओवादी कास्कीले जनाएको छ।
सत्ता गठबन्धनकै नेकपा एकीकृत समाजवादीले पनि पोखराको मेयर दाबी गरिरहेको छ।
देशभरका ६ वटा महानगरमध्ये समाजवादीले पोखरालाई पहिलो दाबी पेस गरेको जनाएको छ। एक्लै चुनावमा जानेबारे तयारी नभए पनि गठबन्धनबाटै पोखरा महानगरको मेयर पाउनुपर्ने समाजवादीको दाबी छ।
समाजवादीका तर्फबाट केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इञ्चार्ज धनराज आचार्यको चर्चा छ। यस्तै, गण्डकी उपाध्यक्ष श्रीनाथ बराल पनि मेयर बन्ने दौडमा लागेका छन्।
एमालेको जनाधार बलियो भएकाले सोही पार्टीबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका नेताले मेयर टिकट पाउँदा एमालेको मतदाता बाँडिने उनीहरूको तर्क छ।
कास्कीमा ५ हजार संगठित सदस्य बनाएको दाबी गरेको समाजवादीले पोखराबाट एमालेलाई हराउन आफूलाई मेयर टिकट दिनुपर्ने जनाएको छ।
पोखरामा सबैभन्दा धेरै मेयर आकांक्षी कांग्रेसका छन्। गठबन्धन गरेर चुनावमा जान कास्की कांग्रेस तयार देखिएको छ। जिल्ला सभापति किशोरदत्त बरालले मेयर उम्मेदवार भने कांग्रेसकै तर्फबाट हुनुपर्ने जिकिर गरिरहेका छन्।
‘हामी गठबन्धन गरेर चुनावमा जान तयार छौं,’ बरालले भने, ‘पोखरामा अबको मेयर कांग्रेसबाटै हुन्छ, हामीले शीर्ष नेतालाई पनि यसबारे जानकारी गराइसकेका छौं।’
पोखरा महानगरको वर्तमान जनप्रतिनिधिमा मेयर, उपमेयरसहित दुई तिहाइ जनप्रतिनिधि एमालेको छ। पोखरामा बलियो संगठन बनाएको एमालेका मतदाता पनि अन्य पार्टीको भन्दा धेरै रहेको गत निर्वाचनले देखाएको छ।
पोखरा महानगरमा २०७४ मा भएको निर्वाचनमा वर्तमान मेयर मानबहादुर जिसीले निकटतम प्रत्यासी कांग्रेस उम्मेदवार रामजी कुँवरलाई १३ हजार ७०२ को भारी मतान्तरले पराजित गरेका थिए। उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङले १२ हजार ३१० मतले कांग्रेसकी सरस्वती गुरूङलाई पछि पारिन्। कुल मतदाता १ लाख ६८ हजार ६८ कुल मतदाता रहेकोमा सो निर्वाचनमा १ लाख २५ हजार ८५३ अर्थात् ७४.८३ प्रतिशत मत खसेको थियो। जसमध्ये मेयरका प्रत्यासी मानबहादुरले ६० हजार ११८, नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६, संघीय समाजवादी फोरमका हुमबहादुर गुरूङले ३ हजार १७० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी गीता गुरूङले २ हजार २७२ मत पाएका थिए।
उपप्रमुख निर्वाचित एमालेकी मञ्जुदेवी गुरूङले ५६ हजार ४४८ मत पाएकी थिइन् भने उनका प्रत्यासी कांग्रेसकी सरस्वतीले ४४ हजार ३३८, नेकपा माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७९६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेशबहादुर खत्रीले २ हजार ८४० र स्वतन्त्र उम्मेदवार सिरोजविजय कोइरालाले २ हजार १९९ मत ल्याएका थिए।
सो चुनावमा ३३ मध्ये २२ वटा वडामा एमालेको तर्फबाट वडाध्यक्ष विजयी बनेका थिए भने बाँकी ११ वडामा कांग्रेस उम्मेदवारले जितेका थिए।
निर्वाचन कार्यालयका अनुसार पोखरा महानगरमा गत निर्वाचनमा भन्दा ३९ हजार ६३८ जना मतदाता बढेका छन्। अहिले कुल मतदाता २ लाख ७ हजार ७०६ पुगेको छ।
गएको निर्वाचनमा फराकिलो अन्तरले विजयी एमाले यसपटक पनि नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ। तत्कालीन नेकपामा ओली समूहको सबभन्दा बढी प्रभाव क्षेत्र मानिएको पोखरा जितेर एमालेले गठबन्धन परास्त गरेको सन्देश दिन चाहन्छ। तर गत निर्वाचनमा जस्तो सजिलो यसपालि एमालेलाई छैन।
पोखराको मेयर बन्न एमालेका तर्फबाट पार्टी केन्द्रीय सदस्य एवं प्रदेश सांसद कृष्ण थापा, जिल्ला अध्यक्ष एवं सांसद मनबहादुर गुरूङ, केन्द्रीय सदस्य मिना गुरूङ, उपमेयर मञ्जुदेवी गुरूङ, व्यवसायी पुष्पराज ढुंगाना, प्रदेश सांसद राजिव पहारी, केन्द्रीय सदस्य भीम कार्की, रश्मी आचार्य, जिल्ला उपसचिव दर्शन लामा, भरत पहारी, पूर्व प्रदेश अध्यक्ष दीपक पौडेल, व्यवसायी पुष्पज्वती ढुङ्गाना लगायतले दाबी गरेका छन्।
२०५४ सालमा पोखराका मेयर बनेका कृष्ण प्रदेश सांसदबाट राजीनामा दिएर मेयर बन्न चाहेको उनी निकटहरू बताउँछन्।
यस्तै, उपमेयर गुरूङ राष्ट्रपति विद्यादेवी भण्डारीका मितिनी हुन्। उनलाई मेयर बनाएर एमाले पोखरका अध्यक्ष दीलिप न्यौपाने आफू उपमेयर बन्न चाहेको बताइएको छ। न्यौपाने कास्कीका एमाले नेता खगराज अधिकारीनिकट हुन्।
वर्तमान मेयर मानबहादुर जिसी मस्तिष्कघात भएपछि उनले दाबी गर्ने अवस्था छैन।
एमाले कास्की अध्यक्ष तथा प्रदेश सांसद मनबहादुर पनि सांसद पद त्यागेर मेयर बन्ने दौडमा छन्। २०५४ को स्थानीय निर्वाचनमा सिक्लेस गाविस अध्यक्ष भएका उनी पार्टीका नेताहरूसँग आफूले टिकट पाए पोखरामा मेयर जित्ने दाबी गरिरहेका छन्।
एमालेबाट मेयर दाबी गरेका रूपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले अध्यक्ष केपी ओलीलाई आफ्नो होटलमा राखेर टिकट मागेका थिए।
ओली पोखरा आएका बेला आफ्नो होटल लगेर पुष्पराजले पोखराको विकास योजना प्रस्तुत गरेका थिए।
पोखरामा ११ तले भवन बनाएर होटल चलाएका अर्का व्यवसायी भरत पनि मेयर बन्न दौडधुप गरिरहेका छन्।
पोखराको भवन मापदण्डविपरीत होटल बनाएर भरतलाई पोखरा महानगरले भवन मापदण्ड परिमार्जन समितिको संयोजक बनाएर मापदण्डविपरीतका कामलाई वैधता दिने काम गरेका थिए।
उनले बनाएको स्विस इन्टरनेसनल होटल उद्घाटन गर्न पुगेका तत्कालीन प्रधानमन्त्री केपी ओली होटल पुगेका थिए। जनस्तरबाट मापदण्डविपरीतका होटल उद्घाटन गर्न लागेको भन्दै विरोध भएपछि ओली उद्घाटन नगरी फर्केका थिए। उनै भरत अहिले एमाले अनुशासन विभागका सदस्य छन्।
२०७४ सालको चुनावलाई आधार मान्ने हो भने, आउँदो चुनावमा पनि एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने निश्चित छ।
अघिल्लो चुनावमा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो भने कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो।
भरतपुरमा माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेनु दाहाललाई मेयर छाडेर पोखरामा माओवादीले कांग्रेसका मेयर उम्मेदवारलाई समर्थन जनाएको थियो।
भरतपुरका मेयर उम्मेदवार रेनुलाई मत माग्न प्रचण्डले कांग्रेस सभापति देउवालाई वडा तसहम्मै लगेको थियो। कास्कीमा भने कांग्रेस उम्मेदवारलाई मत माग्न प्रचण्ड र देउवा दुबैले ध्यान दिएनन्। माओवादी कार्यकर्ताले पनि कांग्रेस उम्मेदवारलाई मत माग्न कुनै अभियान चलाएन।
यसको सिधा फाइदा एमालेलाई हुन पुगेको गठबन्धनका जिल्ला नेताहरु बताउँछन्।
यसपटकको निर्वाचनमा पनि २०७४ को गल्ती दोहोर्याउने हो भने कांग्रेसलाई घाटा र फेरी एमालेलाई फाइदा हुनेतर्फ सजग हुनुपर्ने कांग्रेस कार्यकर्ताहरू बताउँछन्।