२०४६ सालको जनआन्दोलनपछि पुनः प्राप्त भएको प्रजातन्त्रले जनताबाट चुनिएका प्रतिनिधिबाट स्थानीय निकाय सञ्चालनको व्यवस्था गरेकै थियो।
२०४९ सालमा धनगढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका किशोर वम र उपमेयरमा उजागर रानाले जितेका थिए।
२०५४ मा भएको चुनावमा फेरि मेयरमा दोहोरिन उम्मेदवारी दिएका किशोर वमले हारे। उनीसँगै सोही पाटीका उपमेयर उम्मेदवार मनिराम देवल पनि पराजित भए।
यसबेला कांग्रेसलाई हराउँदै एमालेका खेमराज पाण्डेले मेयरमा र उपमेयरमा नारदमुनि रानाले जितेका थिए।
मुलुकमा त्यसपछिका २० वर्ष स्थानीय तहको चुनाव हुन सकेन। २०७३ सालमा धनगढी उपमहानगरपालिका बन्यो।
संघीयतापछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले फेरि मेयर र उपमेयर दुबै पदमा जित्यो।
कांग्रेसका नृपबहादुर वडले १४ हजार ३ सय २४ मत ल्याएर जितेका थिए। उनका निकतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए।
उपमेयरमा कांग्रेसकै सुशीला मिश्र भट्टले १७ हजार ४ सय ८ मत ल्याएर जितेकी थिइन् भने उनकी निकतम् प्रतिद्वन्द्वी रुकमणि देवकोटाले १२ हजार ७ सय ७३ मत ल्याएकी थिइन्।
धनगढीका १९ मध्ये कांग्रेसले १२ वडामा अध्यक्ष पदमा जितेको थियो। आगामी स्थानीय तहको चुनावमा १६ वडामा जित्ने दाबी कांग्रेसको छ। अहिले कांग्रेसका क्रियाशील सदस्य कैलालीमा १८ हजार र धनगढीमा मात्रै ५ हजार जति छन्।
अघिल्लो चुनावमा बलियो टक्कर दिएका गोपाल हमालले यसपटक पनि धनगढीको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी केही महिना अघिदेखि नै भोट माग्न घरदैलो गरिरहेका छन्।
यता, नेपाली कांग्रेसमा भने केन्द्रको गठबन्धन गर्ने निर्णयले उम्मेदवारको टुंगो लगाउने काम रोकिएको छ।
कांग्रेस कैलाली जिल्ला कार्यसमितिका सभापति नारायण भट्टले केन्द्रको निर्देशन अनुसार अहिलेलाई नगर कमिटीबाटै उम्मेदवार टुंगो भएर नआएको बताए।
कांग्रेसबाट धनगढीको मेयरमा नृपबहादुर वड फेरि दोहोरिन चाहन्छन्। उनीसँगै वर्तमान उपमेयर सुशीला मिश्र भट्ट पनि मेयरको आकांक्षी हुन्।
अघिल्लो चुनावमा पनि मेयरमा टिकट पाउन अन्तिम दुईसम्म पुगेका कृष्ण महरा यसपटक आफूले अवसर पाउनुपर्ने अडानमा छन्। यस्तै, नेतृ जागृति बोगटीले त मेयरमा कांग्रेसबाट आफ्नो उम्मेदवारी घोषणा नै गरेकी छन्।
उपमेयरमा पनि कांग्रेसका आकांक्षी धेरै छन्। रक्षा महरा, पुष्पा भट्ट, सुनिता राना, नारायण सत्याल, निपा चोखाल लगायतका नेताहरू कांग्रेसबाट धनगढीको उपमेयरका आकांक्षी हुन्।
२५ वर्षपछि एमाले धनगढीको नेतृत्व लिने दाउमा नेकपा एमाले छ। एमालेबाट जीवन बम, दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, कमलसिंह राना लगायतका मेयर पदमा आकांक्षी छन्।
धनगढी नगर कमिटी अध्यक्ष रामचन्द्र जोशीले मेयरमा अहिले २०५४ कै जस्तो जितको संघारमा एमाले रहेको दाबी गरे। यस्तै, १९ मध्ये ८ वटामा जित निश्चित रहेको उनको भनाइ छ।
‘दलहरूले गरे पनि जनताले गठबन्धन गर्दैनन्, कामका आधारमा मत दिने हुन्, एमालेले सारेका योजना र कामको आधारमा मत एमालेलाई नै दिन्छन्,’ उनले भने।
एमालेबाट उपमेयर पदका लागि कन्दकला राना, जानकी चौधरी, कृति शाही लगायतकाले आकांक्षा राखेका छन्।
माओवादी केन्द्रबाट धनगढीको मेयरमा निर्मल शाह, शान्ति अधिकारी, पुष्कर प्रसाद चौधरी, सुरज खाती, रमेश भट्टराई, राधाकृष्ण अधिकारी लगायतका नेताहरू आकांक्षी छन्।
उपमेयरमा पनि मन्तोरा राना, राधा मिश्र लगायतका आकांक्षी रहेको धनगढी नगर कमिटिका सचिव रमेश प्रसाद भट्टराईले बताए।
नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार आकांक्षी पार्टीबाहिर खुलेका छैनन्।
एकीकृत समाजवादीका धनगढी नगर इञ्चार्ज विमल जोशीले वडा तहबाट उम्मेदवारको सिफारिस दिन वैशाख २ र पालिका तहका उम्मेदवार सिफारिस वैशाख ४ गतेसम्म टुंगो लगाइने बताए।
‘आकांक्षी बाहिर देखिएका छैनन्, पार्टीभित्रै छलफल भइरहेको छ, आफ्नो नाम सिफारिस गर्नुपर्यो भन्ने त धेरै छन्, हामी बढीमा तीन जनाको नाम टुंगो लगाएर सिफारिस गर्नेछौं,’ उनले भने।
यस्तै, राप्रपाले पनि छिट्टै उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ।
धनगढीको मेयरमा राप्रपाबाट आफ्नै उम्मेदवार उठाउने वा अन्य पार्टीसँग तालमेल गर्ने भन्नेबार छलफल भइरहेको राप्रपाका जिल्ला अध्यक्ष छत्र शाहले बताए ।
यीबाहेक अन्य दलहरू पनि धनगढीमा मेयर, उपमेयरमा उम्मेदवारी दिने पूर्व तयारी गरिरहेका छन्।