पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सहबाज सरिफले भारतसँग आफ्नो मुलुकले शान्तिपूर्ण र सहकार्यको सम्बन्ध चाहेको बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार प्रधानमन्त्री बनेका सरिफलाई हिजै ट्विटरमार्फत् शुभकामना दिएका थिए।
आफ्नो शुभकामनामा मोदीले भारत यो क्षेत्रमा शान्ति, स्थिरता र आतंकवादबाट मुक्ति चाहने उल्लेख गरेका छन्। त्यसका लागि जनताका हित र समृद्धिका लागि रहेका विकास चुनौतीमा केन्द्रीत हुन सकिने उनको भनाइ थियो।
मोदीको शुभकामनाको जवाफ सरिफले मंगलबार ट्विटरबाटै दिएका छन्। मोदीको ट्विट रिट्विट गर्दै उनले धन्यवाद दिएका छन्।
‘शुभकामनाका लागि धन्यवाद प्रधानमन्त्री मोदी। पाकिस्तान भारतसँग शान्तिपूर्ण र पारस्परिक सहयोगको सम्बन्ध चाहन्छ। जम्मु कश्मिरसहित टुंग्याउन बाँकी विवादित विषयको शान्तिपूर्ण समाधान गर्नु जरूरी छ। आतंकवादविरूद्ध पाकिस्तानले गरेको त्यागबारे सबैलाई थाहा छ। शान्तिको ग्यारेन्टी गरेर हाम्रा जनताको सामाजिक आर्थिक विकासमा केन्द्रित हौं,’ सरिफले भनेका छन्।
पछिल्लो समय राजनीतिक उथुलपुथल भइरहेको पाकिस्तानमा सरिफ नयाँ प्रधानमन्त्री बनेका छन्। सोमबार नेसनल एसेम्ब्लीमा पाकिस्तान मुस्लिम लिग (नवाज)का सरिफ निर्विरोध प्रधानमन्त्री नियुक्त भएका हुन्। उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन्।
सन् १९४७ मा अंग्रेजहरूले भारत छोडेपछि भएको विभाजनले पाकिस्तानको जन्मिएको थियो। पाकिस्तानको ७५ वर्षको इतिहासमा अहिलेसम्म सबै प्रधानमन्त्रीले नियति इमरान खानको जस्तै थियो अर्थात् उनीहरूमध्ये कसैले पनि पाँच वर्षे पूर्ण कार्याकाल पूरा गर्न पाएनन्। तीमध्ये कतिलाई भ्रष्टाचार आरोपमा अदालतले सत्ताबाट हटायो। कतिले पार्टीको आन्तरिक मामिला मिलाउन नसक्दा प्रधानमन्त्री छोड्नु पर्यो। पटक-पटक पाकिस्तानी सेनाले गरेको कूका कारण पनि केही प्रधानमन्त्रीले सत्ता छोड्नु पर्यो भने एकजना प्रधानमन्त्रीको हत्या भएको थियो।
अहिलेसम्म पाकिस्तानमा एक जना प्रधानमन्त्रीले जम्मा दुई सातामात्रै पदमा बस्न पाएका थिए भने सबैभन्दा बढी प्रधानमन्त्री हुनेले ४ वर्ष दुई महिना सरकार चलाएका थिए। सन् १९९३ मा पाकिस्तानमा एकै वर्ष पाँच जना प्रधानमन्त्री परिवर्तन भएका थिए।
हेर्नुस् सूची:
१.लिक्वत अली खान (१९४७-१९५१, हत्या)
२.खावाजा नजिमुद्दिन (१९५१-१९५३, गभर्नर जनरलले हटाइदिएका)
३. मुहम्मद अलि बोग्रा (१९५३-१९५५, राजीनामा)
४.चौधरी मोहम्मद अलि (१९५५-१९५६, पार्टीको आन्तरिक विवादले सत्ताच्यूत)
५.हुसेन सहीद सुह्रावार्डी (१९५६-१९५७ शक्ति समूहको संघर्षले सत्ताच्यूत)
६.इब्राहिम इस्माइल चुन्द्रिगर (१९५७-१९५७ संसदमा अविश्वास प्रस्ताव आएपछि राजीनामा)
७.मलिक फेरोज खान नुन (१९५७-१९५८, सैनिक कू)
८.नुरूल आमिन (१९७१-१९७१, पाकिस्तानबाट बंगलादेश छुट्टिएपछि राजीनामा)
९.जुल्फीकर अलि भुट्टो ( १९७३- १९७७, सैनिक कू)
१०. मुहम्मद खान जुनेजो (१९८५- १९८८, राष्ट्रपति रहेका सेना प्रमुखबाट बर्खास्त)
११. बेनेजिर भुट्टो (१९८८-१९९०, भ्रष्टाचार आरोपमा बर्खास्त)
१२. नवाज सरिफ (१९९०-१९९३, राष्ट्रपतिबाट बर्खास्त)
१३. बेनेजिर भुट्टो ( १९९३-१९९६, राष्ट्रपतिबाट बर्खास्त)
१४. नवाज सरिफ (१९९७-१९९९, सैनिक कू)
१५. जफरूल्लाह खान जमाली (२००२-२००४, राजीनामा)
१६. युसुफ राजा गिलानी (२००८-२०१२, अदालतको अपमान मुद्दामा अयोग्य ठहर
१७. नवाज सरिफ (२०१३-२०१७, अदालतबाट अयोग्य ठहर)
१८. इमरान खान (२०१८-२०२२, अविश्वासको प्रस्ताव पारित)
(समाचार संस्था रोयटर्सबाट साभार)