ताइवानको सेनाले युद्ध भए कसरी बाँच्ने भन्ने तरिका समेटेर हातेपुस्तिका प्रकाशित गरेको छ।
समाचार संस्था एएफपीका अनुसार मंगलबार ताइवानको सेनाले २८ पृष्ठ लामो हाते पुस्तिका प्रकाशित गरेको हो।
उक्त हाते पुस्तिकामा युद्धका बेला भीषण गोलाबारी हुँदा, घरहरू भत्किँदा, हवाई आक्रमण हुँदा, बिजुली काटिँदालगायत संकटकालीन अवस्थामा के गर्ने भन्ने उल्लेख छ। मोबाइल एपको सहायताले सेल्टरहरू कसरी पत्ता लगाउने, खानाको भण्डारण कसरी गर्ने विषय पनि हातेपुस्तिकामा समेटिएको छ।
सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीले चीनको शासन सत्ता आफ्नो हातमा लिएपछि ताइवान स्वतन्त्र मुलुकको अस्तित्वमा आएको हो। यो टापु राष्ट्रलाई चीनले अहिलेसम्म मान्यता दिएको छैन।
ताइवान चीनको अभिन्न अंग भएको भन्दै चीनले आवश्यक परे बल प्रयोग गरेर पनि ताइवानलाई चीनमा गाभ्ने नीति लिएको छ। पछिल्लो समय सी चिनफिङ राष्ट्रपति बनेपछि ताइवान एकीकरण गर्ने प्रक्रियाले गति पाएको छ।
गत फेब्रुअरीमा रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि ताइवानमा चीनले पनि यसरी नै ताइवानमाथि आक्रमण गर्न सक्ने चर्चा चलेको थियो।
यही सन्दर्भमा ताइवानको सेनाले पहिलो पटक युद्धमा नागरिक कसरी बाँच्ने भन्ने हाते पुस्तिका प्रकाशन गरेको हो। नागरिकहरू अहिलेदेखि तयारी अवस्था रहून् भनेर हाते पुस्तिका सार्वजनिक गरिएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।
ताइवानमा अहिले हरेक सक्षम पुरूषले चार महिने सैनिक तालिम अनिवार्य गर्नुपर्छ। ताइवानका अधिकारीहरूले तालिमको अवधि १२ महिना पुर्याउनेबारे पनि छलफल गरिरहेका छन्।