स्थानीय तहको निर्वाचन आउन अब एक महिना बाँकी छ। स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरुमध्ये कतिपयले उम्मेदवारको टुंगो लगाउँदैछन्। कर्णाली प्रदेशको सन्दर्भमा नेकपा एमाले उम्मेदवार छान्ने दौडमा निरन्तर लागिपरेको छ।
नेकपा एमालेले कर्णाली प्रदेशका ७० वटा वडाका उम्मेदवार छानिसकेको छ। एमालेले रफ्तारमा उम्मेदवार छान्दै गर्दा नेपाली कांग्रेससहितको गठबन्धनभित्र भने यो क्रियाकलाप औपचारिक रुपमा सुरु भईसकेको छैन।
नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार जाजरकोटका ७७ मध्ये ४० वडामा अध्यक्षका उम्मेदवार सर्वसम्मत रुपमा छनोट गरिएको छ। यस्तै डोल्पाका दुईवटा वडामा अध्यक्षका उम्मेदवार चयन गरिएको छ।
यस्तै अरू जिल्लाका २८ वडाहरुमा अध्यक्षका उम्मेदवार टुंगो लागेको अध्यक्ष शाहले जानकारी दिए।
‘केही वडाहरुमा उम्मेदवार टुंग्याईसकिएको छ, धेरैजसो वडाहरुमा छलफल भईरहेको छ,’ एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष शाहले भने, ‘गाउँपालिका र नगरपालिकाका उम्मेदवार टुंग्याउने काम पनि जारी छ।’
उनका अनुसार प्रदेशका ९ वटा गाउँ/नगरपालिकामा पनि प्रमुख उम्मेदवारको टुंगो लागेको छ। जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्षमा बीरबहादुर गिरी र भेरी नगरपालिकाको मेयरमा सिपी घर्ती सर्वसम्मत् उम्मेदवार चयन भएका छन्। घर्ती अहिले मेयर छन्।
कालीकोटको नरहरीनाथ गाउँपालिकामा टेकबहादुर बुढा सर्वसम्मत अध्यक्षको उम्मेदवार चयन भएका छन्।
यस्तै दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा सूर्यबहादुर शाही मेयरको उम्मेदवार बनेका छन्। पार्टीको अधिवेशनमा जिल्ला अध्यक्षमा पराजित भएका शाही सर्वसम्म चामुण्डाविन्द्रासैनीको मेयरका उम्मेदवार बनेका हुन्।
दैलेखका दुई वटा स्थानीय तहमा पार्टीभित्रै प्रतिस्पर्धा भई उम्मेदवार चयन भएका छन्। प्रदेश कमिटी अध्यक्ष शाहका अनुसार दुल्लु नगरपालिका र आठविस नगरपालिकामा निर्वाचनमार्फत उम्मेदवार टुंगो लगाईएको हो।
दुल्लु नगरपालिकामा पाँच जना मेयरका आकांक्षी थिए। उनीहरुमध्ये रुद्रबहादुर शाही निर्वाचनमार्फत मेयरको उम्मेदवार चयन भएका छन्। उनले ५५ मत पाएका थिए। उनीसँगैका आकांक्षी हर्कबहादुर खड्काले ३३ र तिलक रिजाल १९ मत ल्याए। दुल्लु नगरपालिकामा एमालेबाट गंगाराम दाहाल पनि मेयरका आकांक्षी थिए।
यस्तै दुल्लु नगरपालिकाका उपमेयरमा रेणु भट्टराई उम्मेदवार चयन भएकी छन्। उनीसँगैका आकांक्षी विष्णु थापा र विना कार्कीले मत कम ल्याए।
यस्तै आठविस नगरपालिकाको मेयर पदका लागि एमालेका दुईजनाको नाम सिफरिस भएको छ। ‘अरु पनि आकांक्षी हुनुहुन्थ्यो, उहाँहरुबीच चुनाव भएपछि तर्क बडुवाल र खड्गराज उपाध्यायको नाम जिल्ला कमिटीमा सिफारिस भएको छ,’ अध्यक्ष शाहले भने, ‘अब जिल्लाले प्रदेशलाई सिफारिस गरेपछि निर्णय हुन्छ।’ उम्मेदवार सिफारिस भएका उपाध्याय अहिले मेयर छन्।
आठविसको उपमेयरमा कल्पना कार्की उम्मेदवार बनेकी छिन्। उनी पनि निर्वाचन प्रक्रियाबाट उम्मेदवार बनेको शाहले जानकारी दिए।
यस्तै एमालेबाट जुम्लाका तीनवटा स्थानीय तहमा प्रमुखको उम्मेदवार छनोट भएका छन्। कनकासुन्दरी गाउँपालिकामा मानबहादुर रोकाया सर्वसम्मत् अध्यक्षको उम्मेदवार बनेका छन्।
हिमा गाउँपालिकामा जयबहादुर खत्री अध्यक्ष र भागीरथि शाही उपाध्यक्षको उम्मेदवार सर्वसम्मत् चयन भएका छन्। पातारासी गाउँपालिकामा पनि सुकराम रावत र खम्मेनी महतारा सर्वसम्मत् अध्यक्ष र उपाध्यक्षको उम्मेदवार सिफारिस भएको शाहले जानकारी दिए।
कर्णाली प्रदेशमा गठबन्धन दलहरुले भने उम्मेदवारहरुको टुंगो अझै लगाउन सकेका छैनन्। नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले सामान्य रुपमा छलफल सुरु भएपनि निर्णय नभएको बताए।
‘छलफल त दलबीच भईरहेको छ, अहिले नै को उम्मेदवार भन्ने टुंगो भने लागेको छैन,’ सभापति शाहीले भने, ‘गठबन्धनभित्र उम्मेदवार छान्न कति सकस् हुने हो भन्ने कुरा पनि अहिले ठ्याक्कै भन्न सकिँदैन।’
कर्णाली प्रदेशमा २५ नगरपालिका ५४ वटा गाउँपालिका गरि ७९ स्थानीय तह छन्। प्रदेशमा ७१८ वटा वडा छन्।