स्थानीय चुनावमा पाँचदलीय गठबन्धनलाई सँगसँगै लैजाने सहमति गरेको केही दिनमै नेपाली कांग्रेसमा गठबन्धन भित्रैका दलहरूसँग पनि 'मित्रवत प्रतिस्पर्धा' गर्नुपर्ने बहस सुरू भएको छ।
शनिबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बोलेका अधिकांश शीर्ष नेताहरूले छ वटै महानगरमा पार्टीबाट मेयर पदका लागि उम्मेदवार हुनुपर्ने अडान राखेका थिए।
गठबन्धनभित्र पेचिलो बन्दै गएको चितवनको भरतपुर महानगर यसपालि नेकपा माओवादी केन्द्रलाई छोड्न नसकिने कांग्रेसका नेताहरूको भनाइ थियो। ०७४ मा कांग्रेसले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई भोट दिएकोले यसपालि माओवादीले भरतपुर महानगरमा कांग्रेसलाई भोट हाल्ने वातावरण बनाउनुपर्ने नेताहरूको भनाइ थियो।
महामन्त्री विश्वप्रकाश शर्माले व्यक्तिगत रूपमा आफू देशैभर चुनावी गठबन्धनमा नरहेको बताएका थिए। तर पार्टीले स्थानीय आवश्यकता र औचित्यका आधारमा तालमेल गर्न सकिने निर्णय गरेकोले स्थानीयस्तरबाटै चुनावी तालमेल गरिनुपर्ने उनले बताए।
कांग्रेसले छ महानगर र ११ उपमहानगरमा सत्तागठबन्धनबीच छलफल गरेर केन्द्रबाटै उम्मेदवार तय गर्न लागेको छ। विधानअनुसार उपमहानगरको टिकट प्रदेश संसदीय समितिले दिने हो। तर प्रदेशको सिफारिसमा केन्द्रबाट टिकट दिने तयारीमा कांग्रेस छ।
महामन्त्री शर्माले भरतपुरको मेयर पार्टीबाटै हुनुपर्नेमा जोड दिए। माओवादीले यदी सहयोग गर्न नसक्ने हो भने 'मित्रवत प्रतिस्पर्धा' को नयाँ विकल्प खोजिनुपर्नेमा महामन्त्री शर्मा छन्।
चितवनमा कांग्रेस कार्यकर्ताले स्वतन्त्र अभियानका लागि भन्दै कांग्रेसबाट राजीनामासमेत दिन थालेका छन्।
शनिबार भरतपुर-१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामाको घोषणा गरेका थिए। चितवन कांग्रेसले पनि अरू स्थानीय तहमा तालेमल गरे पनि भरतपुरको मेयर छोड्न नसक्ने अडान लिइरहेको छ।
‘योपटक भरतपुरमा कांग्रेसबाट मेयर हुनुपर्छ’, शर्माले भने, ‘मेयरमा माओवादीले यसपटक पनि कांग्रेसले सघाओस् भन्ने चाहन्छ तर हामीले मेयर छोड्नु हुन्न।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको मेयरमा पार्टीबाट दाबी रहने बताएका थिए। तर कांग्रेसका अधिकांश नेताहरू यसपालि भरतपुर छाड्न नहुनेमा छन्।
कांग्रेसका अर्का महामन्त्री गगन थापाले चुनावी तालमेलको अधिकार स्थानीय पार्टी संरचनालाई छोड्नुपर्ने बताइरहेका छन्।
‘स्थानीय तहमा काम गरिरहेका साथीहरूको निर्णय र भावनालाई लत्याएर जान सकिन्न,’ थापाले भने, ‘साथीहरूको निर्णयअनुसार तालमेल गर्ने हो। स्थानीय साथीहरूको इच्छाविपरीत जाँदा पार्टीलाई राम्रो पनि गर्दैन।’
उनले यसपालि नयाँ मतदाता पनि रहेकोले उनीहरूलाई पनि पार्टीमा समेटिनुपर्ने बताएका थिए।
‘अहिले नयाँ मतदाता थपिएका छन्, उनीहरूलाई पार्टीसँग जोड्नुपर्छ भने पुराना मतदातालाई पनि समेट्नुपर्छ,’ थापाले भने, ‘भुइँको टिप्न खोज्दा पोल्टाको पोखिनु हुन्न। पार्टीमा छलफल गर संवाद गरेर अघि बढ्नुपर्छ।’
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि कतिपय ठाउँमा सत्तागठबन्धनभित्रै रहेका दलहरूबीच मित्रवत प्रतिस्पर्धा हुन सक्ने बताएका छन्।
‘कुनै ठाउँमा सत्तागठबन्धनमै रहेका सबै दलको आ-आफ्नो दाबी रह्यो र सहमति हुन सकेन भने त्यस्ता ठाउँमा मित्रवत प्रतिस्पर्धा हुन सक्छ,’ प्रवक्ता महतले भने, ‘एमालेले जित्दैन भन्ने स्थिति आयो भने त्यस्ता ठाउँमा मित्रवत प्रतिस्पर्धा हुन सक्छ। तर एमालेसँग मिलेर स्थानीय चुनावमा जाँदैनौं।’
भिडिओ:
कांग्रेसका एक पदाधिकारीले पार्टी केन्द्रीय समिति निर्णयअनुसार चुनावमा गइने बताए।
‘हामीले गठबन्धन गर्ने भनेको छैन, अवस्था हेरेर तालमेल गर्ने हो,’ ती नेताले भने, ‘काठमाडौं, ललितपुर, भरतपुरलगायत छ वटै महानगर कांग्रेसले छाड्न हुन्न भन्ने छ। अरू दलसँग चुनावी तालमेल भने पनि उम्मेदवारी दर्ता गर्ने दिनसम्म निर्णय गर्न जटिल हुने देखिन्छ।’
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धनसँग गरिएका सहमति कार्यान्वयनमा पार्टीले सहयोग गर्नुपर्ने बताएका छन्।
उनले कार्यसम्पादन समिति बैठकमा नेताहरूका भनाइ फरक-फरक आउन थालेपछि गठबन्धनमा गरिएका सहमतिअनुसार कार्यान्वयन गर्न कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका थिए।
‘गठबन्धनकै बलमा म प्रधानमन्त्री बनेको हुँ, चुनावको मुखमा धोका दिन मिल्दैन। गठबन्धनभित्र एकखाले सहमति भइसकेको छ, त्यसैअनुसार पार्टी अगाडि जानुपर्दछ,’ सभापति देउवाले भने।
उनले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चालाई साथसाथै लिएर चुनावमा जानुपर्ने बताएका थिए।
कांग्रेस नेताहरूले बैठकमा प्रस्ताव गरेजस्तै मित्रवत प्रतिस्पर्धा भने पर्सामा हुने देखिएको छ। वीरगञ्ज महानगरपालिकासहित पर्साका सबै स्थानीय तहमा कांग्रेस र जसपाबीच मित्रवत प्रतिस्पर्धा हुने भएको हो।
कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा अध्यक्ष रामनरेश यादवबीच जिल्लाका १४ वटै पालिकामा मित्रवत प्रतिस्पर्धामा जाने सहमतिमा हस्ताक्षर भएको छ। स्थानीय नेता र कार्यकर्ताको मनोभावनाको कदर गर्दै प्रतिस्पर्धा गर्ने निर्णय भएको सहमति पत्रमा उल्लेख छ।
पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज, ती वटा नगरपालिका र १० वटा गाउँपालिका छन्। जसपा र कांग्रेस दुबैले वीरगन्ज महानगरपालिकामा मेयर पाउनुपर्ने अडान लिएपछि गठबन्धन गर्न सकस भएको थियो।
'वर्षौंदेखि पार्टीमा नेता/कार्यकर्ताले लगानी गरेका थिए। तर गठबन्धन गर्दा चुनाव लड्ने बेला उनीहरुले टिकटै नपाउने देखियो। कांग्रेस बलियो भएकाले एक्लै चुनाव लडनुपर्ने कार्यकर्ताको भावना थियो। गठबन्धन गर्दा फाइदा नभएर झन् घाटा हुने अवस्था भएकाले छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका हौं,' कांग्रेस पर्सा सभापति क्षेत्रीले भने।
यस्तो छ सहमति पत्र: