समीक्षा बास्कोटा विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार हुन्। उनी यसअघि काठमाडौं क्षेत्र नम्बर १ बाट प्रदेशसभा निर्वाचनमा उठेकी थिइन्।
अघिल्लो स्थानीय तह निर्वाचनमा विवेकशील पार्टीबाट रञ्जु दर्शना र साझा पार्टीबाट किशोर थापा मेयर उम्मेदवार थिए।
वैकल्पिक राजनीति गर्ने दाबी गर्दै आएको विवेकशील साझा पार्टीमा पछिल्लोपटक आन्तरिक कलहसँगै एकअर्कालाई कारबाहीको श्रृंखला चलेको थियो। यसले वैकल्पिक राजनीतिक शक्तिमाथि 'वितृष्णा' समेत बढाएको थियो। समीक्षा भने त्यसलाई 'वितृष्णा' मान्न तयार छैनन्।
आफ्नो राजनीतिक दलप्रति जनताको विश्वास रहेकै कारण धेरैको चासो बढेको उनको तर्क छ।
'एमाले फुट्यो, माओवादी फुट्यो, राप्रपा पनि फुट्यो,' समीक्षाले भनिन्, 'तर सानो पार्टीभित्रको विचारको विमतिलाई यति धेरै मान्छेले हेरिरहनुभएको छ। किनभने उहाँहरूले हामीमा आशा गर्नुभएको छ।'
समीक्षा आफूले मेयर पदमा जित हात पारे काठमाडौंमा सार्वजनिक शौचालय निर्माण गर्ने दाबी गर्छिन्।
'महानगरपालिकामा विद्युतीय गाडी चलाउन सकिन्छ। खुला क्षेत्र विस्तार र प्रवर्द्धन गर्न सकिन्छ। नदीनाला र खोला राम्रो बनाउन सकिन्छ,' समीक्षाले भनिन्, 'काठमाडौंवासीले सपना देख्न छाडिसक्नुभयो। किनभने दशकौंदेखि अव्यवस्थित महानगर र साँघुरो सडक देख्नुभयो। हामी सांस्कृतिक रूपमा धनी छौं तर त्यो सम्पदालाई एक तह माथि लैजान सकिरहेका छैनौं।'
काठमाडौं महानगरपालिकामा प्रमुख राजनीतिक दलहरूले जनसांख्यिकीय बनोटका आधारमा नेवार समुदायबाट उम्मेदवार खडा गर्दै आएका छन्। विवेकशील साझा पार्टीले भने खस आर्य समुदायबाट महिलालाई मेयर उम्मेदवार बनाएको छ।
समीक्षा भने काठमाडौंबाट जित हात पार्न नेवार समुदायकै प्रतिनिधित्व जरूरी नभएको तर्क गर्छिन्।
'नेवार समुदायको मेयर भए पनि रानीपोखरी बचाउन उहाँहरू नै संगठित भएर जानुपर्यो कि परेन?' समीक्षाको प्रश्न छ, 'खुला क्षेत्र राख्न उहाँहरूले नै लडाइँ गर्नुपर्यो कि परेन? गुठी विधेयकका लागि संघर्ष गर्नुपर्यो कि परेन? नेवार समुदायले के सोचिदिनुपर्यो भने त्यो ठाउँमा (मेयर) नेवार मात्र आउँदा काठमाडौंवासीले के पाउनुभयो त?'
समीक्षा नेवार समुदायको कला नेपालको कला संस्कृति भएकाले त्यसलाई आफूले प्रतिनिधित्व गर्ने बताउँछिन्।
हेर्नुहोस् भिडिओ