पोखरामा पाँचदलीय गठबन्धन बैठक भइरहँदा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको फोनले तरंग पैदा भएको छ।
पौडेलले कास्की कांग्रेस सभापति किशोरदत्त बराल र नेपालले समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यलाई फोन गरेका थिए।
पौडेलले पोखराको मेयरमा कांग्रेस र समाजवादी दुबै दलले उम्मेदवार उठाउने र वैशाख तेस्रो सातासम्म जसको माहौल राम्रो हुन्छ उसैलाई समर्थन जनाउने प्रस्ताव गरेको कास्की कांग्रेसका सचिव भानु ढकालले बताए।
गठबन्धन बैठक बसेकै बेला समाजवादीका अध्यक्ष नेपालले जिल्ला अध्यक्ष आचार्यलाई पनि फोन गरेर सोही व्यहोरा जानकारी गराएको ढकालले बताए। यसबारे आचार्यले भने टेलिफोन वार्ता नभएको दाबी गरे।
पौडेलले राखेको प्रस्ताव जिल्ला सभापति बरालले समाजवादीका अध्यक्ष आचार्यलाई जानकारी गराउन खोज्दा आक्रोशित हुँदै आचार्यले मेयर नपाए एमालेमा फर्कने धम्की दिएको नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए।
एमालेले पनि आचार्यलाई पार्टीमा फर्किए मेयर पद दिने आश्वासन दिएको एमाले स्रोतले जनाएको छ। यसबारे आचार्यलाई सम्पर्क गर्दा एमालेमा फर्कने कुरै नभएको बताए।
‘कांग्रेसले नचाहिने कुरा गरिरहेको छ,’ उनले सेतोपाटीलाई भने। पोखरा महानगरको मेयरका विषयमा कांग्रेस र एकीकृत समाजवादीको सम्बन्ध विग्रिंदैछ।
समाजवादीले हैसियतभन्दा धेरै भाग मागेको भन्दै कांग्रेसले उक्त दलसँग गठबन्धन हुन नसक्ने बताएको छ। केन्द्रीय गठबन्धनमा तीनवटा महानगर कांग्रेसलाई र बाँकी ३ वटा माओवादी, समाजवादी र जसपालाई दिने सहमति भएको बाहिरिएको छ।
उक्त सहमतिमा पोखरा एकीकृत समाजवादीलाई दिने निर्णय भएको बाहिरिएपछि कास्की कांग्रेसले गठबन्धनबाट उक्त पार्टीलाई निकाल्ने निर्णय गरेको छ।
पोखरा महानगरको मेयर कांग्रेसले नपाए एक्लै चुनाव लड्ने कांग्रेसको बटमलाइन रहेको सचिव ढकालले बताए। कांग्रेस पोखराका वडा कार्यसमितिहरुले समेत उक्त समाजवादीलाई वडा सदस्य समेत दिन नसकिने भन्दै जिल्ला नेतालाई दबाब दिइरहेका छन्।
कांग्रेस कास्की कार्यालयमा गठबन्धन बैठक बस्दै गर्दा मेयर कांग्रेसले पाउनुपर्ने भन्दै कार्यकर्ता भेला भएका थिए। उक्त भेलालाई संवोधन गर्दै ढकालले कुनै हालतमा पोखराको मेयर नछाड्ने र केन्द्रबाट जबरजस्ती निर्णय लादिए अस्वीकार गर्ने बताएका थिए।
कार्यकर्तालाई संवोधन गर्दै ढकालले समाजवादीका अध्यक्ष एवं मेयर उम्मेदवार आचार्यले गठबन्धनबाट टिकट नपाए एमालेमा फर्कने धम्की दिएको दाबी गरेका थिए।