मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जितेका गाउँ र नगर पालिकामा सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ।
जनकपुरमा सोमबार बसेको सत्तारुढ पाँच दलका प्रदेश स्तरीय नेताहरूको बैठकमा वैशाख ३० गते हुने निर्वाचनमा ती पालिकाहरूमा गठबन्धन गर्ने निर्णय भएको हो।
बैठकमा सहभागी कांग्रेस प्रदेश कोषाध्यक्ष प्रदीप यादवका अनुसार बाँकी पालिकाहरूमा आवश्यकताअनुसार गठबन्धन गर्न सत्तारुढ दलहरू सहमत भएका छन्।
‘प्रदेशभरमा लोसपा र एमाले जितेका ३३/३४ पालिकाहरूमा जसरी पनि गठबन्धन गर्ने र बाँकी पालिकामा आवश्यकता हेरी गठबन्धन गर्न हामी सहमत भएका छौं,’ उनले भने।
अन्य पालिकाहरूमा भने सत्तारुढ दलहरूबीच प्रतिस्पर्धा हुनेछ।
कांग्रेस नेता यादवका अनुसार गठबन्धनमा भागबण्डाबारे पालिकास्तरमै गठबन्धनका नेताहरूले निर्णय लिने छन्।
गठबन्धन कुन पालिकामा आवश्यक रहेकोबारे पाँचवटै दलका जिल्ला सभापतिले सोमबार रिर्पोट बुझाउने र मंगलबार हुने प्रदेशस्तरीय नेताहरूको बैठकले निर्णय गर्ने कार्ययोजना रहेको कांग्रेस कोषाध्यक्ष यादवले बताए।
गठबन्धनको आधार केन्द्रले तोकेको मापदण्ड अनुसार हुनेछ।