दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालको अनुभवले भन्छ– जनप्रतिनिधिले राम्रो काम गरे भने अरूका लागि अनुकरणीय बन्छ। यसो हुन आफ्नो काम, कर्तव्य र अधिकार ठीक ढंगबाट कार्यान्वयन गर्नु पर्छ।
अध्यक्ष दुलालको अनुभव अन्य स्थानीय तहका जनप्रतिनिधिलाई पनि उपयोगी हुन सक्छ किनभने शैलुङ गाउँपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको 'स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन' मा देशभरमा उत्कृष्ट ठहरिएको छ।
'स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७' ले दस वटा विषयक्षेत्रमा स्वमूल्यांकनका सूचक र अंक तोकेको छ। दस वटा विषयक्षेत्र प्रत्येकलाई समग्रस्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थितिमा विभाजन गरेर स्वमूल्यांकन गर्ने व्यवस्था छ। मन्त्रालयले तोकेको ढाँचामा स्थानीय तह आफैंले स्वमूल्यांकन गर्नु पर्छ।
मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा गराएको स्वमूल्यांकनमा शैलुङ सय पूर्णांकमा ८९.५ अंक प्राप्त गरेर उकृष्ट गाउँपालिका भएको हो। गाउँपालिका र नगरपालिका अलगअलग उत्कृष्ट छनोट हुने व्यवस्था छ।
अध्यक्ष दुलालका अनुसार देशभरिका ४६० वटा गाउँपालिकामध्ये शैलुङ उत्कृष्ट ठहर भएको हो। २०७६ सालमा बागमती प्रदेशले पनि शैलुङलाई प्रदेशको उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मान गरेको थियो।
कार्यसम्पादन, महालेखा परीक्षकको कार्यालयको वित्तीय प्रतिवेदन लगायतका आधारमा प्रदेशका १३ वटा जिल्लाका ११९ स्थानीय तहमध्ये शैलुङ उत्कृष्ट भएको थियो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० मा 'मन्त्रालयले स्थानीय तहको आर्थिक कार्य प्रणाली र प्रशासनिक काम कारबाहीमा एकरूपता कायम गर्न तथा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न त्यस्तो क्षेत्रमा प्रयोग गर्नु पर्ने सूचना प्रविधिको ढाँचा तोक्न सक्नेछ' भनिएको छ।
यही दफा कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 'स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७' बनाएको थियो।
'राज्यका नियम र विधि मान्दै जतिसक्दो राम्रो र धेरै काम गरौं भनेर लागिपरेका थियौं,' दुलालले सेतोपाटीसँग भने, 'संघीय सरकारको मूल्यांकनमा उत्कृष्ट हुँदा आनन्द लागेको छ।'
उनले आफूले प्रतिबद्धतामा समेटेका र नसमेटेका समेत गरी स्थानीय आवश्यकताअनुसार काम गरेको बताए। उनले २०७४ जेठ ९ गते पदवहाली गरेका थिए।
'गाउँमा भूकम्पले क्षति पुर्याएको थियो। सबै जनता टहरामै थिए। विद्यार्थीहरू खुला आकाशमुनि बसेर पढिरहेका थिए। सडक, बाटो सबैमा क्षति भएको थियो,' दुलालले भने, 'त्यो बेला कुन काम पहिले गर्ने र कुन पछि गर्ने भन्ने नै अन्योल थियो। आवश्यकताअनुसार काम गर्दै गएपछि बिस्तारै परिवर्तन देखिन थाल्यो।'
भूकम्पले ढलेका घर पुनर्निर्माण प्राथमिकतामा थियो। शैलुङमा हालसम्म सात हजार सात सय घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ। यी लाभग्राहीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अन्तिम किस्ता बुझेका छन्। क्षतिग्रस्त विद्यालय भवनहरू पक्कीमा परिणत भएका छन्।
दुलालका अनुसार हालसम्म गाउँपालिकामा चार सय किलोमिटर कच्ची सडक बनेको छ। दुई वटा सडकखण्ड निर्माणाधीन छन्। एउटा खण्ड कालोपत्रेका लागि ठेक्का प्रक्रियामा छ, अर्को खण्ड कालोपत्रे हुँदैछ।
उनका अनुसार बागमती प्रदेश सरकारको ५० करोड रूपैयाँ लगानीमा मुढेबाट गाउँपालिकाको केन्द्र हुँदै शैलुङ डाँडासम्म पुग्ने सडक निर्माणाधीन छ। यो सडकको आधा काम पूरा भएको छ।
उनी भन्छन्, 'अबको एक वर्षपछि यात्रुहरू पिच सडकबाट शैलुङ डाँडा पुग्न पाउने छन्।'
शैलुङ गाउँपालिकाले आठ वटै वडालाई जोड्ने गरी रिङरोड निर्माणको योजना अघि बढाएको छ। रिङ रोडको डिपिआर अनुसार ट्र्याक खोल्ने काम पूरा भएको उनले बताए। रिङरोड ९३ किलोमिटर लामो हुनेछ।
अध्यक्ष दुलाल भन्छन्, 'सबै वडा जोड्ने पक्की सडक निर्माण गर्न सकियो भने पूर्वाधार राम्रो हुनेछ। यसमा ठूलो बजेट चाहिने भएकाले स्रोत खोजिरहेका छौं।'
उनका अनुसार स्थानीय सरकार बनेपछि गाउँपालिकामा देखिने गरी सकारात्मक परिवर्तन भएको छ। विद्यालयका शिक्षकले सट्टा शिक्षक राख्ने प्रवृत्ति अन्त्य भएको छ। गाउँपालिकाले शिक्षक र विद्यार्थीको अनुपात मिलाएर शिक्षक व्यवस्थापन गरेको छ।
गाउँपालिकाले दुई वटा विद्यालयमा प्राविधिक शिक्षा पढाउने प्रबन्ध गरेको छ। पाँच वर्षमा स्वास्थ्य चौकीको संख्या दोब्बर भएर १२ पुगेको छ। शैलुङ अस्पतालको निर्माण पूरा भएको छ।
गाउँपालिकाका सबै विद्यालयमा इन्टरनेटको सुविधा छ।
'३२ वटा विद्यालय, १२ वटा स्वास्थ्य चौकी र आठ वटा वडा कार्यालयमा अप्टिकल फाइबर सहितको इन्टरनेट सेवा पुर्याएका छौं,' उनले भने, 'यो पनि सानो स्मार्ट योजनाभित्रै पर्छ।'
शैलुङ गाउँपालिका कृषिमा निकै अगाडि छ। कृषिमा आफूले नमूना काम गरेको दुलालको दाबी छ। उनका अनुसार प्रत्येक वडामा कृषिमा एक जना र भेटेरिनरीमा एक जना गरी दुई जना प्राविधिक छन्। प्राविधिकहरूले कृषि र पशुपालनमा काम गरेका छन्।
शैलुङ गाउँपालिका तरकारीको पकेट क्षेत्रका रूपमा रहेको छ। शैलुङबाट वार्षिक ५० करोड रूपैयाँभन्दा बढीको तरकारी बजार पुग्ने गरेको उनले बताए।
स्थानीय तरकारी र फलफूल सुरक्षित गर्न गाउँपालिकामै पाँच सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर तयार भएको छ। गाउँपालिकामा तरकारी र फलफूलको बिउ उत्पादन पनि हुन्छ। गाउँपालिकाले चार वटा संकलन केन्द्र बनाएको छ। उनले कृषिमा थुप्रै साझेदारीका कार्यक्रम रहेको र कृषकलाई अनुदान दिने गरको बताए।
गाउँपालिकाले सिँचाइका लागि कुलो पनि निर्माण गरेको छ। हालसम्म तीनवटा ठूला कुला तयार भएका छन्।
प्रत्येक घरमा खानेपानी पुर्याउन 'एक घर, एक धारा' अभियान चलाएकोमा एक हजार घरधुरीमा पूरा भएको छ। खानेपानी तत्काल पुर्याउन नसकेका ठाउँमा अस्थायी समाधानका लागि ट्यांकीमा पानी भर्ने व्यवस्था गरेको दुलालले बताए।
उनका अनुसार प्रत्येक वडामा कम्तीमा एउटा र सबै विद्यालयमा खेल मैदान छन्।
उनले भने, 'दोलखा जिल्लाकै सबैभन्दा ठूलो खेल मैदान हामीसँग छ। त्यसमा एकै पटक दुई वटा प्रतिस्पर्धा गराउन सकिन्छ। यो हाम्रो प्रस्तावित शैलुङ रंगशाला हो।'
शैलुङ डाँडा दोलखा जिल्लाको पर्यटकीय गन्तव्य पनि हो। पर्यटकीय सम्भावना धेरै भए पनि प्रचारमा नआएको शैलुङ डाँडामा पर्यटन प्रवर्द्धनको काम गरेको उनको भनाइ छ।
वडा नम्बर ९ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ बेसक्याम्प मानिने कालापानीदेखि शैलुङडाँडासम्म मिनी ग्रेटवाल निर्माण भइरहेको छ। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा पाँच सय मिटर लामो मिनी ग्रेटवाल बन्दैछ।
पाँच वर्षको कार्यकालमा गर्छु भनेर प्रतिबद्धता जनाएका मध्ये ९० प्रतिशत सम्पन्न गरेको र बाँकी काम चालु रहेको अध्यक्ष दुलालको दाबी छ।
आगामी ५० वर्षका लागि कस्तो शैलुङ बनाउने भन्ने आधार तय भएको उनको भनाइ छ। उनी फेरि एक पटक अध्यक्ष भएर आफूले गर्न चाहेको काम पूरा गर्ने सोचमा छन्। पार्टीले दोहोर्याएर आफूलाई उम्मेदवार बनाउने उनको अपेक्षा छ।