नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीको अडानले चुनावी गठबन्धनमा सहमति नजुटेको दाबी गरेका छन्।
माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यको बैठकमा प्रचण्डले महानगरमा सहमतिको नजिक पुगे पनि उपमहानगरमा मिल्न बाँकी नै रहेको बताएका थिए।
६ महानगरमा ३ कांग्रेसले लिने र ३ अन्य दलले लिनेमा सहमति भएको उनले बताएका थिए।
काठमाडौं, ललितपुर, विराटनगर कांग्रेसलाई, भरतपुर माओवादी, वीरगन्ज जसपाले लिने सहमति भइसकेको प्रचण्डले ब्रिफिङ गरेको माओवादी नेता पेशल खतिवडाले सेतोपाटीलाई बताए। एकीकृत समाजवादीलाई पोखरा दिने सहमति भएको भए पनि तलबाट विरोध आएकोले समस्या भएको प्रचण्डले बताएका थिए। त्यसको लागि प्रयास भइरहेको प्रचण्डको भनाइ थियो।
‘महानगरमा हामी सहमति नजिक पुगेका छौं। तर उपमहानगरमा अझै मिलेको छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै खतिवडाले भने,‘सकेसम्म मिलेर जाने प्रयास हुन्छ। त्यस्तो भएन भने जहाँ मिल्छ त्यहाँ गठबन्धन हुन्छ। नमिलेको ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुन्छ।’
माओवादीले जितपुर, सिमरा र दाङका दुईमध्ये १ उपमहानगर पाउने प्रचण्डले जानकारी गराएका थिए। उपमहानगरमा एकीकृत समाजवादीले धेरै दाबी गरेका कारण सहमति हुन नसकेको प्रचण्डको ब्रिफिङ थियो।
एकीकृत समाजवादीलाई हेटौंडा लिन भनिएको भए पनि उसले धरान र दाङमा समेत दाबी गरेको प्रचण्डले बताएका थिए।
प्रचण्डका अनुसार एमालेले जितेकामध्ये कम्तीमा आधा उपमहानगर आफूलाई चाहिने एकीकृत समाजवादीको दाबी छ।
नगरपालिका र गाउँपालिकाको चुनावी तालमेल गर्ने जिम्मेवारी प्रदेशलाई दिइएको भन्दै प्रचण्डले त्यहाँ समस्या आएमा मात्रै केन्द्रले निर्णय गर्ने बताएका थिए।
नगरपालिका र गाउँपालिकामा आवश्यकताका आधारमा गठबन्धन गर्न तल्ला कमिटीलाई अधिकार दिइनु पर्ने प्रस्ताव नेताहरूले राखेका थिए। तर प्रचण्डले यसलाई स्वीकारेका छैनन्। उनले एमाले र उसँग गठबन्धन गरेका दलसँग चुनावी तालमेल गर्न नसकिने बताएका थिए।
गठबन्धन दलबीच महानगर र उपमहानगरको भागबन्डा गर्न आज पनि बालुवाटारमा बैठक बस्दैछ।