पोखरा महानगरको मेयरका विषयमा सत्तारूढ पाँच दलीय गठबन्धनमा भागबन्डा मिलेको छैन।
पोखरा महानगरको मेयर नेकपा (एकीकृत समाजवादी) लाई दिन शीर्ष नेताहरूमा लगभग सहमति भएको भनिए पनि कास्की कांग्रेसले मानेको छैन।
नेकपा एमालेको बलियो संगठन भएको पोखराको मेयर कांग्रेसले नपाए जित्न नसकिने कांग्रेसको ठहर छ। समाजवादीलाई मेयर दिए जिल्लाको गठबन्धनबाट उक्त दललाई निकाल्ने सम्मको धम्की कांग्रेसले दिएको छ।
पोखरामा रहेका दलहरूका पार्टी सदस्य कांग्रेसको धेरै देखिए पनि गत निर्वाचनको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ। पोखरामा दलहरूको संगठनात्मक आधार हेर्दा सबैभन्दा कमजोर एकीकृत समाजवादी देखिएको छ।
नेकपा एमाले महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपानेले पोखरामा मात्र आफूहरूको १२ हजार ६ सय जना पार्टी सदस्य रहेको बताए। उनका अनुसार ५ सय जनाले पार्टी सदस्यताका लागि दिएको आवेदन विचाराधीन छ।
वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा १३ हजारदेखि १५ हजार मत अन्तरले सत्ता गठबन्धनलाई हराउने न्यौपानेले बताए।
‘कांग्रेस एक्लै निर्वाचनमा आयो भने १३ हजार मतान्तरले हराउँछौं,’ न्यौपानेले भने, ‘गठबन्धन गरेर आयो भने १५ हजार मतले हराउँछौं।’
एमाले फुटेर बनेको एकीकृत समाजवादीले एमालेलाई कुनै असर नपार्ने न्यौपानेको दाबी छ।
‘एमालेबाट समाजवादी भन्ने दलमा जम्मा १५० जना मात्र जानुभएको छ, उहाँहरू पनि फर्कने सुरमा हुनुहुन्छ,’ उनले भने, ‘अरू दलबाट हाम्रो पार्टीमा यसबीच हजार बढी प्रवेश गरिसक्नुभएको छ, त्यसकारण उक्त दलले हामीलाई घाटा पुर्याउन सक्दैन।’
एकीकृत समाजवादी पोखराका अध्यक्ष मुक्ति पौडेलले पोखरामा पार्टी सदस्य ६ देखि ८ हजारको हाराहारीमा रहेको बताए। केही दिनअघि समाजवादी अध्यक्ष माधवकुमार नेपालले पोखरामा ८ हजार पार्टी सदस्य र जनवर्गीय संगठनमा गरी १२ हजार कार्यकर्ता रहेको दाबी गरेका थिए।
‘गठबन्धनमा अन्तर्घात भएन भने हामी चुनाव जित्छौं,’ पौडेलले भने, ‘कांग्रेसमा आफ्नै साथीहरूलाई पनि अन्तर्घात हुने भएकाले यसै भन्न सकिँदैन।’
नेपाली कांग्रेस महानगर कार्यसमितिका अनुसार पोखरामा करिब १५ हजार क्रियाशील सदस्य छन्। कांग्रेसले आफ्ना मतदाता करिब ७० हजार रहेको अनुमान गरेको महानगर समिति सचिव गणेशबहादुर थापाले बताए।
‘कांग्रेसको मेयर हुने हो भने यसपालि पोखरा सजिलै जित्न सक्छौं,’ थापाले भने, ‘गठबन्धनका अरू दलका उम्मेदवार भयो भने साधारण मतदाताले गठबन्धनलाई भोट नदिन सक्छन्।’
नेकपा माओवादी केन्द्रले पोखरामा ११ हजार पार्टी सदस्य रहेको बताएको छ। जिल्ला संयोजक बखानसिंह गुरूङले पोखराको संगठनमा तेस्रो स्थानमा आफूहरूको रहेको बताए। पोखरामा गठबन्धन गर्दा माओवादी बाधक नभएको उनको भनाइ छ।
सत्ता गठबन्धनकै जनता समाजवादी पार्टीले पनि पोखराको उपमेयरसहित सम्मानजनक सिट पाउनुपर्ने माग गरेको छ। जसपा केन्द्रीय सदस्य किरण थापा ‘आमोद’ले पोखराको उपमेयरसहित चारवटा गाउँपालिकामध्ये एउटामा प्रमुख पद दाबी गरेका छन्।
थापाका अनुसार पोखरामा जसपाको २२ सय सदस्य छन्। पोखराको संगठनात्मक आधार एकीकृत समाजवादीको भन्दा जसपा बलियो भएको उनको दाबी छ।
‘हामीले गठबन्धनमा सम्मानजनक रूपमा प्याकेजमा सहमति होस् भनेका छौं,’ थापाले भने ‘नभए हामी एक्लै चुनावमा होमिन्छौं।’
तत्काल गठबन्धनको विकल्प नसोचेको बताउँदै थापाले सहमति नभए एमालेसँग सहकार्य गर्ने सम्भावना जिवितै रहेको बताए।
उनले भने, ‘राजनीति सम्भावनाको खेल हो, गठबन्धनमा सहमति नभए अरू विकल्प असम्भव हुँदैन।’
पोखरा महानगरमा २०७४ मा भएको निर्वाचनमा वर्तमान मेयर मानबहादुर जिसीले निकटतम् प्रत्यासी कांग्रेस उम्मेदवार रामजी कुँवरलाई १३ हजार ७०२ को भारी मतान्तरले पराजित गरेका थिए। उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङले १२ हजार ३१० मतले कांग्रेसकी सरस्वती गुरूङलाई पछि पारिन्।
कुल मतदाता १ लाख ६८ हजार ६८ कुल मतदाता रहेकोमा सो निर्वाचनमा १ लाख २५ हजार ८५३ अर्थात् ७४.८३ प्रतिशत मत खसेको थियो। जसमध्ये मेयरका प्रत्यासी मानबहादुरले ६० हजार ११८, नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६, संघीय समाजवादी फोरमका हुमबहादुर गुरूङले ३ हजार १७० र राष्ट्रिय प्रजातन्त्र पार्टीकी गीता गुरूङले २ हजार २७२ मत पाएका थिए।
गत निर्वाचनमा भरतपुरको मेयर माओवादीलाई र पोखराको मेयर कांग्रेसलाई सघाउने गरी दुई दलबीच तालमेल भएको थियो। पोखराका माओवादी कार्यकर्ताले कांग्रेसलाई मत नदिई एमाले उम्मेदवारलाई मत दिएको कांग्रेस कार्यकर्ताहरू बताउँछन्।
एमाले अध्यक्ष केपी ओलीको प्रभाव क्षेत्र पोखरामा गठबन्धनका सबैभन्दा कमजोर दललाई मेयर उम्मेदवार बनाउँदा एमालेलाई जित्न सजिलो हुने कांग्रेस कार्यकर्ताको आंकलन छ।
‘कांग्रेसबाहेक अरू दल मेयर उम्मेदवार भयो भने एमालेलाई त्यसै छाडिदिए जस्तो हुन्छ,’ कास्की कांग्रेसका एक नेताले भने, ‘एमालेलाई हराउने नै हो भने वस्तुस्थिति शीर्ष नेताहरूले पनि बुझ्नुपर्छ ।