कैलालीमा एक सय किलोमिटर दक्षिणी सीमाना भारतसँग जोडिएको छ।
आगामी स्थानीय तहको निर्वाचनको सुरक्षा रणनीति बनाउनबारे छलफल गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा भारतीय समकक्षी सुरक्षा निकाय प्रमुखसँग भेट गर्दैछन्।
यसै साता हुने भेटमा भारतीय पक्षसँग कस्ता सवालमा छलफल गर्ने भन्न विषयमा उनले बुधबार जिल्लाका सरोकारवालासँग सुझाव संकलन गरेका छन्।
स्थानीय, व्यापारी, जनप्रतिनिधि र राजनीतिक दलका पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारी समक्ष यस प्रकारका सवालमा छलफल गर्न सुझाव दिएका थिए।
कैलालीको कैलारी गाउँपालिका–५ का मनपापी चौधरी विगत ९ महिनादेखि भारतीय जेलमा छन्।
गाउँसँगै जोडिएको भारतीय दुधवा राष्ट्रिय निकुञ्जको वनको बाटो हुँदै सीमा पारिको बजारमा किनमेलका लागि जान लाग्दा उनलाई कर्मचारीले समातेका थिए।
वनमा अवैध घुसपिठ गरेको आरोपमा उनलाई पलियाको जेलमा राखिएको वडा अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए।
‘भारतीय बजार जान जुनसुकै बाटो प्रयोग गर्ने चलन छ, वनका कर्मचारीले फेला पारे पासो थापेको, काठ तस्करी गरेको जस्ता मुद्दा लगाइदिन्छन्,’ उनले भने।
कैलारीको यो वडाका मोहना पारिका केही नागरिकले भारतीय वनमा घाँसदाउरा गरेबापत भारतीय वन कार्यालयलाई श्रमदान वा तिरो तिर्नुपर्ने अवस्था छ।
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले सरकारी विकास निर्माणका काममा समेत भारतीय पक्षले विभिन्न बहानामा अवरोध सिर्जना गर्ने गरेको बताए।
‘भारतीय पक्षले नेपालकै भूमिमा बस्ती जोड्न पुल बनाउन दिँदैन, तटबन्ध बनाउन नदिने, नदी कटानले पिल्लर बगाएका ठाउँमा विवाद गर्ने गरेको छ,’ चौधरीले भने।
खुला सीमानाका भएका कारण को आउँछ, को जान्छ थाहा नहुने गरेको उनले बताए।
वारि नेपाल र पारि भारतका केही बस्तीमा आफन्त र इष्टमित्रको बसाइ पनि छ।
यहाँ आउने जाने स्वाभाविक भएकाले चुनावका बेला आपराधिक मान्छेहरू सहजै प्रवेश वा भाग्ने वातावरण हुन नदिन ध्यान दिनुपर्ने उनको भनाइ छ।
भजनी नगरपालिका ३ का वडा बिक्रम चौधरीले सीमावर्ती क्षेत्र लागुऔषधको ट्रान्जिट पोइन्ट बन्न थालेको बताए।
उनले पछिल्लो केही महिनामा आफ्नो वडामा २७ जना लागुऔषधसहित पक्राउ परेको बताए। जसमा ४ जना भारतीय पनि छन्।
भजनीमा स्थापना भएका २ छोटी भन्सार कार्यालय निष्क्रिय भएपछि चोरी निकासी बढेको छ। यहाँका पृथ्वीपुर चर्रा र कुशुमघाट छोटी भन्सार अहिले बन्द छन्। सुरक्षा पोष्ट भएर पनि तस्करी बढेको उनले बताए।
‘भारतबाट यी नाका हुँदै सुन र करेन्सी पनि अवैध आउँछ, आपरधिक ठाउँका रूपमा हामी बदनाम हुनुपरेको छ,’ उनले भने।
सरकारले मलखाद उपलब्ध नगराउँदा भारतबाट किन्नुपर्ने किसानको बाध्यता छ।
‘साइकलमा एक दुई बोरा मल किनेर ल्याउनेलाई नेपालका प्रहरीले समात्ने गरेका छन्,’ उनले भने।
उनका अनुसार मोहना नदीले धार फेरेका कारण त्यहाँ नेपालीहरूको डेढ सय विघा जमिन भारततर्फ गएकोले स्थानीयले प्रयोग गर्न पाएका छैनन्।
धनगढी– उपमहानगरपालिका– २ का अध्यक्ष नरबहादुर बमले आफ्नो वडाबाट घरबाहिर भएका नल्का, मोटर, गाइवस्तु आदि चोरी हुने गरेका बताए।
चोरी गरेर मोहनापारि भारत लैजाने गिरोहले लगातार यस्तो काम गरिरहेको उनको भनाइ छ।
नेकपा एकीकृत समाजवादी पार्टीका नेता दीर्घ जोशीले नेपालीहरूले भारतमा कमाएर फर्किंदा वा सामान किनेर ल्याउँदा नाकामा दुःख पाइने गरेको बताए।
‘सामान पनि किन्नुपर्ने, एसएसबीलाई घुस पनि दिनुपर्ने अवस्था छ,’ उनले भने।
जोशीले लागुऔषधका कारोबारी पारि भएर प्रयोगकर्ता वारि बढेको बताए।
उनीहरूका सुझावलाई नाकासँग जोडिएको विषयमा भेटवार्तामा छलफल गर्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।त्यहाँ गरेका छलफलबारे फेरि सरोकारवालाहरूसँग र सम्बन्धित निकायकहाँ सुनाइने उनले बताए ।