बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
बिहीबार गुजरातबाट भारत भ्रमण सुरू गरेका बोरिसले आज नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेका हुन्।
नयाँ दिल्लीको हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच द्वीपक्षीय छलफल भएको थियो। उक्त छलफलमा दुवै देशका प्रतिनिधिमण्डलको सहभागिता थियो। छलफलमा रक्षा क्षेत्र, व्यापार, जलवायु र ऊर्जा लगायतका विषयमा छलफल भएको जनाइएको छ।
भारतले स्वतन्त्रताको अमृत महोत्सव मनाइरहेको बेला बोरिसको भ्रमण हुनु ऐतिहासिक पल भएको मोदीले बताए।
प्रधानमन्त्री मोदीले जोनसनलाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा स्वागत गरेका हुन्। मोदीसँगको भेटअघि बोरिसलाई दिल्लीमा गार्ड अफ अर्नर प्रदान गरिएको थियो।
त्यसैगरी भारतीय विदेश मन्त्री एस जयशंकर र बोरिसबीच पनि भेटवार्ता भएको थियो। बोरिसले हिजो (बिहीबार) अहमदावाद पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण समेत गरेका थिए।
बोरिस दुई दिने भारत भ्रमणमा छन्।