केही साताअगाडि म जुम्ला गएकी थिएँ। जुम्लाका केही भाग नियालूँ भन्ने थियो। स्थानीय कसैको सहयोग भए सहज हुन्थ्यो। सेतोपाटीमा लेख लेखिरहने तातोपानी, लाम्राका स्थानीय बासिन्दा माधव चौलागाईंलाई सम्झेँ।
उनकै सुझावमा खलंगाको होटल स्टारमा बस्ने निधो भयो।
त्यहाँ भेट भए होटल सञ्चालक हरिबहादुर डाँगी।
मुसुक्क हाँस्दै हरिबहादुरले होटलको विशेषता सुनाए, 'मेरो होटलमा वाइफाइ पनि छ है।'
५२ वर्षे हरिबहादुर सामान्य देखिन्छन्। साधारण लुगा लाउँछन्। चप्पल प्याटप्याट गर्दै हिँड्छन्। सहरका होटल सञ्चालकजस्ता चट्ट देखिँदैनन्। तर उनको नम्र व्यवहारले ग्राहक खुसी हुन्छन्।
यही कुरा मैले माधवजीलाई सुनाएँ। उनले मलाई चकित खुवाउँदै हरिबहादुरको अर्को पहिचान सुनाए- जुम्ला तातोपानी-५ लाम्रा, श्रीनगरका वडा अध्यक्ष हुन् हरिबहादुर डाँगी।
उनमा न वडाध्यक्षमा देखिने 'ठाँट' थियो, न 'म वडाध्यक्ष हुँ' भन्दै सुनाउन तम्सिए!
साँझ मार्सीको खाना पाक्दै गर्दा आँगनमा आगो ताप्दै उनीसँग कुराकानी गर्ने समय मिल्यो। सुरूमा दाइ भनेर सम्बोधन गरेकामा अन्यथा नलिन पनि भनेँ।
उनले हाँसेरै भने, 'के भयो त दाइ भनेर! मलाई जे भन्दा हुन्छ। तपाईं मेरो होटलमा ग्राहकका रूपमा आउनुभएको छ, तपाईंलाई स्वागत सत्कार गर्नु मेरो जिम्मेवारी हो।'
२०७४ सालको निर्वाचनमा माओवादीबाट वडाध्यक्ष निर्वाचित हरिबहादुरले आफ्नो जीवनका केही पाटा खोतले।
उनले २०४६ सालमा जुम्लाबाट एसएलसी पास गरे। त्यो बेला आफ्नो वडामै एसएलसी उत्तीर्ण गर्ने उनी पहिलो व्यक्ति थिए। बुवा शिक्षा अधिकृत भएकाले उनलाई पनि अध्ययन र अध्यापनमा रूचि बढ्यो। राजनीतिको बाटो सोचेकै थिएनन्।
एसएलसीपछि उनी आइएल पढ्न काठमाडौं आए। नेपाल ल क्याम्पसमा अध्ययन गर्दा भने उनलाई राजनीतिमा मोह जाग्यो। उनी सम्झिन्छन्, 'त्यति बेला नेमकिपा अत्यन्तै अनुशासित पार्टी लाग्यो। पार्टीको विचारधाराले आकर्षित गर्यो।'
उनले पढाइसँगै राजनीति पनि गर्न थाले। आइएल सकेर २०५२ सालमा गाउँ फर्किँदा राजनीति लिएरै गए। २०५४ सालमा नेमकिपाबाट गाविस अध्यक्ष बने। २०७२ सालमा भने नेमकिपाबाट बाहिरिए र माओवादी प्रवेश गरे। हरिबहादुरका अनुसार माओवादी केन्द्रीय सदस्य गजेन्द्रबहादुर महत 'कार्मा' ले उनलाई पार्टी प्रवेश गराएका थिए।
'नेमकिपाको पार्टीगत विचार कमजोर लाग्न थालेपछि म माओवादीमा गएँ,' उनले भने। उनका माइला दाइ माओवादी थिए, दाइका छोरा दस वर्षका छँदै पार्टीमै होमिए। त्यसैले पनि होला, उनलाई माओवादीको धारणा मन पर्न थाल्यो। अनि राजनीति सुरू गरेको पार्टी नेमकिपा छाडेर माओवादीबाट चुनाव लडे, जिते।
कानुन अध्ययन गरेका उनलाई यसमै आफ्नो भविष्य कोर्न किन मन लागेन?
उनले सोझो जवाफ दिए, 'वकिलको काममा साँचो र झुटो छान्न नपाइने। आफ्नो पक्षलाई बचाउन झुट बोल्नै पर्छ। यो पेसा मेरा लागि होइन भन्ने भयो।'
अनि राजनीतिमा चाहिँ सत्य मात्र हुन्छ?
'राजनीतिमा त कमसेकम आफ्नो धारणा लिएर काम गर्न सकिन्छ। भनेका कुरा पुर्याउन कोशिस त गर्न सकिन्छ।'
तपाईंले कोशिस गर्नुभयो?
'सकेसम्म गरेँ, तर अब पुग्यो,' उनी अब राजनीति नगर्ने विचारमा रहेछन्।
आफ्नै गाउँ विकास गर्नुपर्छ भनेर काठमाडौंबाट फर्केका हरिबहादुर आगामी चुनावमा नलड्ने भएका छन्। राजनीतिक जीवनबाट विश्राम लिन चाहन्छन्। समर्थकहरूले उनलाई फेरि उठ्न पर्छ भनेर उकासे पनि, तर उनी अरूले नै वडा हाँकून् भन्ने चाहन्छन्।
भने, 'अब म राजनीति गर्दिनँ। अरूले गरेको हेर्छु। म यही होटल चलाउँछु, बस्छु।'
आफ्नो गुजारा चलाउन २०६८ सालमा उनले होटल खोलेका हुन्।
'राजनीति गरेर मात्र खान पुग्दैन,' उनले व्यवसायमा लाग्नुको कारण खुलाउँदै भने, 'मैले राजनीति आफ्नो विकासका लागि गरेको होइन, जनताका लागि हो। त्यसैले मैले सरकारबाट केही सुविधा पनि लिएको छुइनँ।'
वडाध्यक्ष भएकाले सरकारले मोटरसाइकल दिएको थियो, त्यो आफूले नलिएको उनी बताउँछन्।
भन्छन्, 'म मोटरसाइकलमा हिँडूला तर मेरो क्षेत्रमा सुत्केरीलाई समयमा अस्पताल पुर्याउने एम्बुलेन्स नहुँदा ज्यान गुमाउनु पर्यो भने मलाई कस्तो हुन्छ?'
त्यसैले आफूले वडाको स्वास्थ्य चौकी विकासमा जोड दिएको उनी बताउँछन्। हरिबहादुरका अनुसार स्वास्थ्य चौकीसम्म पुग्न सहज होस् भनेर उनले २० किलोमिटर बाटो खनाए। खोप केन्द्र बनाए। दुइटा विद्यालय व्यवस्थित बनाउने प्रयास गरे, कृषि र व्यवस्थापन संकाय थप्न लगाए। वडामा बत्ती र पानी व्यवस्था गरे। सिँचाइका लागि कुलो बनाउन पहल गरे।
अब उनी यस्तै र योभन्दा राम्रो काम अरूले गरेको हेर्न चाहन्छन्। आफू भने होटलमा सक्रिय हुने उनले बताए। उनकी ४७ वर्षीय श्रीमती उमाले होटलमा सघाउँछिन्। दुई छोरा काठमाडौंमा पढिरहेका छन्। जेठा आइटी इञ्जिनियरिङ पढ्छन्, कान्छा डाक्टर पढ्ने सोचले अगाडि बढिरहेका छन्।
हरिबहादुरले होटल सञ्चालनबाहेक चार-पाँच हजार बोट स्याउ खेती पनि गरेका छन्। अब उनी यसमा पनि सक्रिय भएर लाग्ने बताउँछन्।
'जहिल्यै राजनीति र काममा व्यस्त भइयो, अब श्रीमती र छोराहरूसँग समय बिताउन मन छ,' हरिबहादुरले हाँस्दै भने।