नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णयमाथि प्रश्न उठेको छ।
चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए।
आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए। विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मी टू’ भनेर चिनिएको थियो।
रश्मिला र उज्जलाले लगाएको आरोपबारे सेतोपाटीले त्यति बेलै समाचार लेखेको थियो। स्थापितले भने आफूमाथि लागेको आरोप झूटो भन्दै कानुनी कारबाहीमा जाने बताएका थिए। तर उनले कुनै कारबाहीको बाटो अपनाएनन्। उनले आरोपबारे गरेको खण्डनका आधारसमेत बाझिएका थिए।
आफूमाथि स्थापितले पटकपटक यौन दुर्व्यवहार गरेको आरोप लगाएकी रश्मिलाले उनैलाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउने एमालेको निर्णय दुःखद भनेकी छन्।
‘बितेका २५ वर्षमा एमालेले काठमाडौंको मेयर बनाउन अरू कुनै नेता-कार्यकर्ता नदेखेर यौन दुराचारीलाई नै भेट्टाएछ। यो खबर सुनेर मलाई निकै दुःख लाग्यो,’ उनले सोमबार सेतोपाटीसँग भनिन्, ‘यौन दुर्व्यवहारको आरोप लागेको व्यक्तिलाई त पार्टीले कारबाही पो गर्नुपर्थ्यो, मेयरको उम्मेदवार बनाएर पुरस्कार पो दियो। यो एमालेले महिलामाथि गरेको अपमान हो।’
एमालेले यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिलाई मेयर उम्मेदवार बनाउँदा पनि पार्टीभित्रका नेताहरू चुप लागेकामा समेत आफूलाई दुःख लागेको उनले बताइन्।
‘एमालेले मेयरका लागि अरू कोही योग्य नदेखेर यौन दुराचारीलाई योग्य देख्यो तर एमालेभित्रै कति महिला–पुरूष नेताहरू हुनुहुन्छ जो महिला अधिकार, बलात्कार र हिंसाविरूद्ध बेलाबेला बोल्नुहुन्छ। यसपालि भने उहाँहरूले आफ्नो पार्टीलाई प्रश्न गरेको देखिएन। यसमा मलाई ज्यादा दुःख लाग्यो,’ उनले भनिन्।
हामीले यसबारे एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी सचिव सुजिता शाक्यलाई प्रश्न गर्दा उनले स्थापितमाथि यौन दुर्व्यवहारको आरोप लागेको आधिकारिक रूपमा थाहा नभएको बताइन्।
'धेरै वर्ष पुरानो कुरा, त्यो पनि अदालतबाट प्रमाणित नभएको विषय भएकाले अहिले केही बोल्न मिल्दैन,' उनले भनिन्, ‘उहाँमाथि यौन दुर्व्यवहारको आरोप लागेको आधिकारिक रूपमा हाम्रो संगठनलाई थाहा छैन। त्यसमाथि वर्षौं पहिला भएको घटना रहेछ जो अदालतबाट प्रमाणित पनि भएको छैन। कारबाहीको प्रक्रियामा भएको र अदालतबाट प्रमाणित भएको भए एउटा कुरा हुन्थ्यो तर कुनै पनि आधारबिना अहिले पार्टी निर्णयमा प्रश्न गर्ने कुरा भएन।’
रश्मिलाले चार वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। स्थापितले राखेको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको घटना उनले लेखेकी थिइन्। त्यसपछि सेतोपाटीले रश्मिलासँग कुराकानी गरेर स्टोरी लेखेको थियो।
पन्ध्र वर्षअघिको उक्त घटना सम्झँदै प्रजापतिले सेतोपाटीसँग भनेकी थिइन्, ‘उनले (स्थापित) घुम्न जाने र ‘क्वालिटी टाइम’ बिताउने प्रस्ताव राखे। मैले अस्वीकार गरेकै कारण जागिरबाट निकालिएँ।’
त्यति बेला रश्मिला करारमा महानगरको शाखा अधिकृत नियुक्त भएकी थिइन्। आफूलाई अर्को कुनै विभागको प्रमुख बनाइदिने लोभ देखाउँदै स्थापितले घुम्न जाने प्रस्ताव राख्ने गरेको प्रजापतिले बताएकी थिइन्।
‘निरन्तर ६ महिनासम्म उनले मलाई हरेक शुक्रबार, शनिबार घुम्न जाऊँ’ भन्ने प्रस्ताव राख्थे। मैले कहिल्यै मानिनँ,’ उनले सेतोपाटीसँग भनेकी थिइन्।
उनी त्यति बेला नगरपालिकाको कामबाट छुट्टी मिलेको दिन (शनिबार) एउटा एफएम रेडियोमा कार्यक्रम चलाउँथिन्। एक शनिबार एफएमका रिसेप्सनिस्टले फोन आएको भन्दै प्रजापतिलाई बोलाइन्।
‘त्यो फोन मेयर स्थापितको थियो,’ रश्मिलाले स्थापितले टेलिफोनमा भनेको कुरा उद्धृत गर्दै भनिन्, ‘नगरकोट आउनू, तपाईंको प्रमोसनबारे कुरा गर्नुछ। मैले गाडी पठाएको छु।’
उनले ‘आउन सक्दिनँ’ भनेर फोन राखेको बताइन्।
‘मैले झ्यालबाट बाहिर हेरेँ। त्यहाँ स्थापितको गाडी थियो,’ उनले भनिन्, ‘आउँदिनँ भन्दा पनि स्थापितको गाडी धेरै बेरसम्म एफएमअगाडि बस्यो। साँझ अबेरसम्म म बाहिर निस्कन सकिनँ। अफिसमै बसेँ। त्यो गाडी त्यहाँबाट गएपछि बल्ल घर गएँ।’
त्यसको भोलिपल्टै रश्मिलाले मेयरको कार्यकक्षमा पुगेर उक्त विषयमा कुरा गरिन्। उनले स्थापितलाई भनिन्, ‘मेयरसाब, तपाईंले मलाई गलत सम्झिनुभो जस्तो छ। म जागिर जोगाउन हाकिमसँग रिसोर्ट जाने मान्छे होइन। आफूलाई बेचेर कुनै प्रमोसन मलाई चाहिन्न। अबदेखि त्यसरी नबोलाउनू।’
प्रत्युत्तरमा स्थापितले उनको ‘प्रमोसन गरिदिन’ चाहेको र ‘क्वालिटी टाइम’ बिताउन चाहेको बताएका थिए। करार कर्मचारीलाई यसरी बढुवा गर्ने प्रस्ताव नै आफूलाई अनौठो लागेको रश्मिलाको भनाइ थियो।
उनले त्यसअघि पनि स्थापितले अप्ठ्यारो हुने गरी हात समाउन र छुन खोज्ने गरेको बताएकी थिइन्।
रश्मिला उक्त घटनाको चार वर्षसम्म हनुमानढोकास्थित पुरातत्व तथा पर्यटकीय विभागमा काम गर्न गइन्। त्यो महानगरपालिकाअन्तर्गत नै पर्थ्यो। चार वर्ष मेयर स्थापित चुपचाप बसे। निर्वाचित मेयरका रूपमा उनको कार्यकाल पनि सकियो। त्यसपछि पूर्वराजा ज्ञानेन्द्रले नगरप्रमुखमा फेरि स्थापितलाई नै नियुक्त गरे। आफ्नो नियुक्तिको पहिलो निर्णयमै उनले रश्मिला प्रजापतिको जागिर खोसे।
‘पहिलो निर्णयमै मलाई हटाए,’ प्रजापतिले भनिन्, ‘मलाई थमाइएको पत्रमा फलानो दिनको निर्णयबाट हटाइएको भन्ने उल्लेख छ। किन हटाइएको जानकारी छैन। रेडियोमा काम गर्थें, त्यसैले नगरपालिकाको जागिर गए पनि म खाली हुन्थिनँ। चुपचाप नगरपालिकाबाट विदा भएँ।’
पत्रिकामा भने भ्रष्टाचार गरेकाले निकालिएको भनेर समाचार आएको प्रजापतिले बताइन्।
‘भ्रष्टाचार गरेको भए मलाई दिएको पत्रमा लेख्नुपर्ने, अरू कारबाही गर्नुपर्ने। धेरैले मलाई अदालत जान सुझाए तर जागिरबाट निकाल्नेले जे पनि गर्न सक्छ भनेर चुपचाप बस्ने निर्णय गरेँ,’ उनले भनिन्, ‘केही समयपछि थाहा भयो, उनले चार वर्षअघिको प्रस्ताव नमानेकाले रिसिइबी साँध्न मलाई निकालेका रहेछन्।’
स्थापितले रश्मिलाको आरोप खण्डन गरेका थिए। उनले रश्मिलाविरूद्ध कानूनी कारबाहीमा जाने तयारीमा लागेको पनि बताएका थिए।
‘उहाँ हनुमानढोकास्थित पुरातत्व तथा पर्यटकीय विभागमा काम गर्नुहुन्थ्यो। त्यहाँ ड्राइभरलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो। नगरपालिकाका १३ सय कर्मचारीले उहाँको विरोध गरेपछि निकालिएको हो,’ स्थापतिले सेतोपाटीसँग भनेका थिए।
नगरकोट जाने प्रस्ताव किन गर्नुभएको भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘त्यो सबै झूटो आरोप हो। मेरो सार्वजनिक बेइज्जत गर्ने काम भएको छ। अहिले म मेरो लिगल टिमसँग त्यहीबारे छलफल गर्न जाँदैछु। प्रहरीसँग पनि कुरा भइरहेको छ। म मुद्दामा जान्छु।’
रश्मिला ‘सानोतिनो शाखा अधिकृत’ भएकाले आफ्नो भेटघाटै नहुने उनले बताएका थिए। एफएममा गाडी पठाएको आरोप पनि झूटो रहेको उनको दाबी थियो।
‘त्यो एफएममा म जम्मा तीनचोटि गएको छु। एकपटक अन्तर्वार्ता दिन, अर्कोपटक एफएमका लागि घर किन्न। मेरो छोरा पनि त्यहीँ काम गर्ने भएकाले तेस्रोचोटि उसलाई लिन गएको छु,’ स्थापितले भनेका थिए।
स्थापितविरुद्ध यौन उत्पीडनको आरोप लगाउने प्रजापति मात्र छैनन्। पूर्वपत्रकार उज्जला महर्जनले पनि ‘आफूलाई असजिलो हुने गरी साथी बन्ने प्रस्ताव राखेको’ सामाजिक सञ्जालमा लेखेकी थिइन्।
उज्जलाका अनुसार उनी अंग्रेजी दैनिक ‘रिपब्लिका’ मा काम गर्दा स्थापितसँग अन्तर्वार्ता लिएकी थिइन्। अन्तर्वार्ता लिएर फर्केको अर्को साँझ स्थापितले आफूलाई फोन गरेर साथी बन्न प्रस्ताव राखे।
‘मलाई त्यति बेलै धेरै असजिलो लाग्यो। त्यही पनि प्रतिवाद गरिनँ। किनभने धेरैले उनी राम्रा मान्छे हुन् भन्थे। मलाई भने पहिलोपटक, त्यो पनि प्रोफेसनल कामका लागि भेटेको मान्छेले साथी बन्नुपर्छ, हामी भेटिराख्नुपर्छ है भन्दा अप्ठ्यारो लागेको थियो,’ उनले सेतोपाटीसँग भनिन्, ‘जब साँझ पर्थ्यो, स्थापितले मलाई फोन गरिरहन थाले। एक–दुईपटक त उठाएँ तर पछि बेवास्ता गरेँ। उनको फोन उठाउन छाडेँ।’
स्थापितले भने उज्जलालाई आफूले चिन्दै नचिनेको र अन्तर्वार्ता पनि नदिएको बताएका थिए।
‘नागरिक, रिपब्लिका खुलेपछि म कुनै पोस्टमा थिइनँ, यसबीच मेरो अन्तर्वार्ता कतै आएको मलाई थाहा छैन। म उहाँलाई चिन्दिनँ,’ उनले भनेका थिए।
उनले यस्तो दाबी गरे पनि उज्जलाले स्थापितलाई भेटेर कुराकानी गरी समाचार लेखेको प्रमाण सेतोपाटीले भेटेको थियो।
सन् २०१२ अप्रिल १३ मा प्रकाशित उक्त समाचार उज्जलाले स्थापितलाई भेटेरै लेखेको तलको अंशबाट पुष्टि हुन्छः ‘सडकको अघिल्लो लहरमा घर हुने धेरै जना विस्थापित हुनेछन्, पछाडि बस्नेहरू जग्गाको भाउ दोब्बर भएर लाभान्वित हुनेछन्,’ कागजमा चित्र कोरेर देखाउँदै स्थापितले भने, ‘यसले रातारात कोही अरबपति हुनेछन् भने कोही भिखारी बन्नेछन्।’
यौन दुर्व्यवहारको आरोप लाग्दा स्थापित प्रदेश ३को सरकारमा भौतिक योजना मन्त्री थिए। यो आरोपको केही समयपछि तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज र दुर्व्यवहार गरेपछि उनलाई बर्खास्त गरिएको थियो।