रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियामा बुधबारदेखि ग्यास आपूर्ति रोक्ने भएको छ।
रूसले मित्रवत् व्यवहार नगर्ने देशहरूले कि, रुबेलमा भुक्तानी गर्नुपर्ने नभए आपूर्ति कटौती गर्ने बताएको थियो। दुवै देशले रूबेलमा भुक्तानी गर्न अस्वीकार गरेसँगै आजबाट आपूर्ति रोकिने भएको हो।
पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबैखाले ग्यास आपूर्ति रोकिने बताइसकेको छ।
यस्तै बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द हुने जानकारी दिइएको छ।
पोल्याण्ड र बुल्गेरिया ग्यास आयातमा मुख्यत रूसी कम्पनी ग्याजप्रोममाथि निर्भर छन्।
पीजीएनआईजीले आपूर्ति रोक्ने कार्यलाई सम्झौताको उल्लंघनका रूपमा लिँदै ग्यास आपूर्तिलाई पुनर्स्थापित गर्न कदम चाल्ने बताएको छ।
९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि ग्याजप्रोममा निर्भर रहेको बुल्गेरियाले वैकल्पिक स्रोतहरू खोज्न थालेको बताएको छ।
युरोपेली संघमा आयात हुने कुल प्राकृतिक ग्यासमध्ये रूसले आपूर्तिको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ।
यद्यपि युक्रेनमाथिको आक्रमणको जवाफमा अधिकांश मुलुकले रूसी ऊर्जा निर्भरताबाट टाढिँदैछन्।
ईयुले रूसी ग्यास आयातलाई दुई तिहाइले घटाउने भएको छ।
बेलायतले यसै वर्षको अन्त्यसम्ममा रूसी तेल आयात बन्द गर्ने र ग्यास आयातलाई पनि सकेसम्म चाँडो रोक्ने बताएको छ।
अमेरिकाले पनि रूसी तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने यसअघिनै घोषणा गरिसकेको छ।
रूसको आक्रमणपछि पोल्याण्डले आफ्नो छिमेकी देश युक्रेनलाई साथ दिएको छ। अमेरिका र अन्य पश्चिमी देशबाट युक्रेन जाने हतियारको ट्रान्जिट पोइन्ट नै पोल्याण्ड हो।
पोल्याण्ड सरकारले पनि यसै साता युक्रेनलाई सैन्य सहयोग पठाएको थियो। यसबाहेक मंगलबार ५० भन्दा बढी रूसी कम्पनीको पोल्याण्डमा कारोबार बन्द गर्ने निर्णयसमेत गरेको थियो।