लागुऔषध हेरोइन तस्करी गरेको भन्दै १३ वर्षदेखि जेलमा रहेका एक मलेसियन नागरिकलाई सिंगापुरले मृत्युदण्ड दिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार ३४ वर्षका नागेनथ्रन धर्मलिंगमलाई आज बिहानै मृत्युदण्ड दिइएको हो। उनका भाइ नवीन कुमारका अनुसार धर्मलिंगमको शव मलेसिया पठाउन लागिएको छ।
धर्मलिंगम सन् २००९ मा पक्राउ परेका थिए। साढे एक औंस अर्थात् ४२ ग्रामभन्दा बढी हेरोइन तिघ्रामा बाँधेर मलेसियाबाट सिंगापुर प्रवेश गर्न खोजेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो। धर्मलिंगमका वकिलहरूले उनको बौद्धिक क्षमता कमजोर भएको भन्दै मृत्युदण्ड नदिन दर्जनौं निवेदन दिएका थिए।
धर्मलिंगमलाई मृत्युदण्ड नदिन संसारभरिबाट हस्ताक्षर संकलन गरिएको थियो। मृत्युदण्ड नदिन उनकी आमाले दिएको निवेदन सिंगापुरको अदालतले खारेज गरिदिएपछि धर्मलिंगमलाई मृत्युदण्ड दिइएको हो।
करिब ६० लाख जनसंख्या भएको सिंगापुर प्रतिव्यक्ति आम्दानीका आधारमा दक्षिणपूर्वी एसियाकै सबभन्दा धनी देश हो। कुनै पनि अपराधमा मृत्युदण्ड दिने कि नदिने भन्नेबारे सिंगापुरमा बहस जारी छ।
त्यहाँको कानुनअनुसार हुलदंगा गर्ने र लागुपदार्थ ओसारपसार गर्नेलाई मृत्युदण्ड दिइन्छ। लागुपदार्थको मामिलामा सिंगापुरको कानुन एकदमै कडा छ। थोरैभन्दा थोरै परिमाणको लागुपदार्थ फेला परे पनि कुनै सहानुभूति राखिँदैन।
कानुनअनुसार मृत्युदण्ड दिइन्छ। सिंगापुरले पछिल्लोचोटि सन् २०१९ मा मृत्युदण्ड दिएको थियो। त्यति बेला चार जनाले फाँसीको सजाय पाएका थिए। धर्मलिंगमलाई हेरोइनसहित सिंगापुर प्रवेश गर्न खोज्दा सीमा सुरक्षाकर्मीले पक्राउ गरेको थियो।
उनीसँग बरामद भएको ४२ ग्रामभन्दा बढी हेरोइन ५१० जना प्रयोगकर्तालाई करिब एक साता आपूर्ति गर्न पुग्ने प्रहरीले जनाएको छ। सन् २०१० देखि चलिरहेको सुनुवाइ क्रममा धर्मलिंगमले सुरूमा आफूलाई लागुपदार्थ ओसार्न बाध्य पारिएको बयान दिएका थिए। पछि उनले आफूलाई पैसाको खाँचो परेकाले स्वेच्छाले लागुपदार्थ ओसारेको बयान दिए।
त्यसपछि सिंगापुर अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। उनले सन् २०१५ मा मृत्युदण्ड सजायलाई आजीवन कारावासमा बदल्न अदालतसमक्ष अपिल गरेका थिए। धर्मलिंगमको बौद्धिक क्षमता स्तर औसतभन्दा कम भएकाले यस्ता व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनअनुसार मृत्युदण्ड दिन नमिल्ने वकिलहरूको तर्क छ। बौद्धिक क्षमता परीक्षण गर्दा धर्मलिंगमको सामान्य ज्ञान स्तर ६९ पाइएको थियो।
अन्तर्राष्ट्रिय रूपमा सामान्य ज्ञानको स्तर ७० हुनुपर्ने मान्यता छ। त्योभन्दा कम सामान्य ज्ञान भएको मान्छे आफूले गरेका काम सही हो कि गलत भनी छुट्टयाउन असमर्थ हुने वकिलहरूको भनाइ छ। यही आधारमा धर्मलिंगमलाई हेरोइन बोकेर सिंगापुर प्रवेश गर्नु गैरकानुनी हो भन्ने थाहा नभएको वकिलहरूले जिकिर गरेका थिए।
सिंगापुर अदालतले भने वकिलहरूको तर्क स्वीकार गरेन। उनको अपिल २०१७ मा अदालतले खारेज गरिदियो। सामान्य ज्ञान जति भए धर्मलिंगमलाई आफूले गरेको काम गैरकानुनी हो भन्ने राम्ररी थाहा भएको र उनी आफैंले पैसा खाँचो परेर लागुपदार्थ ओसारेको बयान दिएकाले उनी सही–गलत छुट्टयाउन समर्थ रहेको अदालतले भनेको थियो।